शिक्षक सङ्कल्प
चल्दै छ स्वार्थको हुरी
जोगाउनु छ स्वाभिमानको दियो
छोपेर आफ्नै इमानको पछ्यौरीले ।
पन्छाउँदै चाप्लुसीको वनमारा
रोप्नु छ आदर्शको बिरुवा
सोहोरेर लालचको रछ्यान
सुकिलो राख्नु छ नैतिकता ।
किस्तीमा सजिएर
टेबुलमै आइपुग्छ ‘प्रतिष्ठाको पद’
खाऊँ कि त भन्छु,
ह्वास्सै गन्हाउँछ सडेको सङ्गठन ।
खुराफाती रुमालले छोपिएर
चाकडीको ढकियाभरि आउँछ
भत्ता र सुविधाको मालपुवा
चाखौँ कि त भन्छु
देख्दै दिगमिग दिगमिग हुन्छ
फ्यात्त कुहेको दलको ढुसी ।
ल, ‘मिसेज’लाई खास्साको जागिर
नियुक्तिपत्र टक्र्याउन आउँछ समाजसेवी
साइडमा बोकेर पार्टीको ‘साइडब्याग’
झुकाउन मेरो स्वाभिमान ।
‘ल, बाबुको शुल्क मिनाहा,
मेगा स्कुलमा आवासीय सुविधा’
लोभी ललिपप देखाउँदै आउँछ व्यापारी
निचोरेर गरिबको रगत, पसिना
चढेर दलालीको टल्किने गाडी
भत्काउन मेरो आत्मविश्वास ।
पाहुना बनेर आउँछ साथी
आपत आइलाग्छ पैसाको
चिया, चिनीको जोहो कसरी गर्नू
पाहुना बनाउन आउँछ साथी
सङ्कट आइलाग्छ पैसाको
कोसेली के लिएर जानू ।
परारैदेखि हो बिर्सेका आफन्तहरूले
देखेर शून्य सञ्चितिको बैंक खाता
पोहोरैदेखि हो तर्किन थालेका हितैषीहरू
बुझेर सदाबहार रित्तो खल्ती
ब्याजको स्याज जोडेर
लिलामीको सूचना छाप्दै
उठीबास लाउन
तम्तयार छ बैंक ब्वाँसो ।
अचेल,
कालो सिसावाल गाडीमा
कालै चस्मा लाएर
निस्कन्छ घरबाट छिमेकी लाहुरे
कतै, अशुभ नहोस् उसको शुभसाइत
देखेर मेरो दरिद्र अनुहार ।
पाइला पाइलामा टेक्दै
छिचोल्नु छ अभावका काँडा
पल पलमा पिउनु छ
अपमानको ‘हेमलक’ ।
तैपनि,
जोगाउनु छ स्वाभिमानको दियो
छोपेर आफ्नै इमानको पछ्यौरीले ।
किनकि,
म शिक्षक हुँ
आफू जलेर प्रकाश छर्ने
मैनबत्तीको शिखा हुँ
यो देशका नानीहरूको
भविष्य मेरै हातमा छ
यो देशको जिम्मेवारी
मेरै काँधमा छ ।
देशमै बसेर देशकै लागि
देश चिनाउने सङकल्प गर्दछु
किनकि म शिक्षक हुँ ।
तुलसीपुर–१७, मानपुर, दाङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो
-
पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
-
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण