बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु

बिहीबार, १८ असार २०८३, १३ : ११
बिहीबार, १८ असार २०८३

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नहुने देखिएको छ। ठेक्का सम्झौताको म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको करिब ४८ देखि ५० प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ।

भरतपुर महानगरपालिकाले २०८१ असारमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी हिमालयन कालिञ्चोक–बीबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार रङ्गशाला २०८३ पुस २२ गतेभित्र निर्माण सम्पन्न हुनुपर्नेछ।

हालसम्म रङ्गशालामा एकवटा दर्शक टावर निर्माण सम्पन्न भएको छ भने अर्को टावरको दोस्रो तलाको ढलान सकिएको छ। चारमध्ये एकवटा प्यारापिट निर्माण पूरा भएको छ भने दुईवटाको ढलान सकिएको र अर्को प्यारापिटको निर्माण जारी छ।

मैदान निर्माणको काम पनि सुरु भइसकेको छ। मैदानमा पाँचवटा क्रिकेट पिच निर्माण गर्ने तयारी भइरहेको छ। साथै, मैदानसम्म पुग्ने पहुँचमार्ग, भूमिगत विद्युत् केबल, प्लम्बिङ तथा अन्य आवश्यक पूर्वाधार निर्माणका काम पनि सँगसँगै अघि बढिरहेका छन्।

निर्माण कार्यलाई निरन्तरता दिन भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रङ्गशाला निर्माणमा १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। नगरसभाको १९औँ अधिवेशनमार्फत बाँकी निर्माण सम्पन्न गर्न संघीय सरकार र बागमती प्रदेश सरकारसँगको सहकार्यलाई निरन्तरता दिने नीति पनि अघि सारिएको छ।

यद्यपि, बागमती प्रदेश सरकारले बजेट विनियोजन गरे पनि चालु आर्थिक वर्षमा संघीय सरकारले भने यस आयोजनाका लागि बजेट छुट्याएको छैन। महानगरपालिकाले महानगर क्रिकेट कप र फुटबल लिगलगायत खेलकुद कार्यक्रम सञ्चालनका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण सुरुमा धुर्मुस–सुन्तली फाउन्डेसनले थालेको थियो। आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण निर्माण कार्य रोकिएपछि आयोजना भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। त्यसपछि महानगरपालिकाले बागमती प्रदेश सरकार तथा संघीय सरकारको सहकार्यमा निर्माण कार्यलाई पुनः अघि बढाएको हो।

Gautam Buddha_international  Cricket stadium_Nepal Photo Library1Gautam Buddha_international  Cricket stadium_Nepal Photo Library2Gautam Buddha_international  Cricket stadium_Nepal Photo Library3Gautam Buddha_international  Cricket stadium_Nepal Photo Library4Gautam Buddha_international  Cricket stadium_Nepal Photo Library5Gautam Buddha_international  Cricket stadium_Nepal Photo Library6Gautam Buddha_international  Cricket stadium_Nepal Photo Library7Gautam Buddha_international  Cricket stadium_Nepal Photo Library8Gautam Buddha_international  Cricket stadium_Nepal Photo Library9Gautam Buddha_international  Cricket stadium_Nepal Photo Library10Gautam Buddha_international  Cricket stadium_Nepal Photo Library11Gautam Buddha_international  Cricket stadium_Nepal Photo Library12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप