बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
संसद अवरुद्ध

सभामुख घिमिरे भन्छन्– ‘संसद अवरोध हुँदा जनताका आवाज रोकिए’

सोमबार, २२ साउन २०८०, १७ : ३८
सोमबार, २२ साउन २०८०

काठमाडौँ । प्रतिनिधिसभाका देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अवरोध हुँदा जनताका आवाज रोकिएको बताएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको दलका प्रमुख नेताहरुको बैठकपछि सभामुख घिमिरेले संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गरेपनि सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न नसकेको बताएका छन् ।

उनले आजको बैठकमा सहमति नभएपनि भोलि बस्ने बैठकमा सहमति जुट्ने आशा व्यक्त गरेका छन् । सभामुख घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार सभामुखको भनाई थियो– ‘सदनको अवरोध खुलाउन पहल गरेकोमा प्रधानमन्त्रीले धन्यवाद दिनुभयो । मैले पनि नेताहरु उपस्थित भएर छलफलमा सहभागी हुनुभएकोमा धन्यवाद दिएँ । भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ । आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ ।’

उनले सहमतिको विकल्प नभएको बताउँदै संसदमा अवरोध हुँदा जनताका आवाज रोकिएको बताए । आफूले अधिकतम लचिलो भएर सकारात्मक दवाव दिइरहेको उनको भनाई थियो ।  सभामुख घिमिरेले भने– ‘संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन । माननीयहरुले प्राकृतिक विपत लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु ।’

उनले आफू दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको बताउँदै सोही अनुरुप सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको बताए । उनले आफू सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा नभएको बताउँदै भोलिदेखि सदनको नियमित कारबाहीमा जाने आशा व्यक्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप