बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दुई लाख युवालाई रोजगारी दिने योजना छ : मुख्यमन्त्री चौधरी

शनिबार, २७ साउन २०८०, २० : ५१
शनिबार, २७ साउन २०८०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले युवा परिवर्तनका संवाहक भएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषदले  रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले दुई लाख युवालाई रोजगारीमा जोड्ने लक्ष्य लिएको समेत बताए । उनले युवालाई रोजगारी सिर्जना गर्ने काममा सरकारले सहयोग गर्ने र त्यसको लागि प्रस्ताव पत्र बनाएर ल्याउन आग्रह गरे।

युवालाई उद्यमशिलता र उत्पादनलाई कसरी ब्राण्डिङ गर्ने भन्ने विषयमा चिन्तन गर्न आग्रह गर्दै यसले रोजगारीका लागि पलायन भइरहेको युवा जनशक्तिलाई रोक्न सकिने बताए । 

नेपालको उत्पादन विश्वबजारमा पुर्याउन सकिने बताउँदै चौधरीले उत्पादनलाई ब्राण्डिङ र मार्केटिङ गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए । सरकारले नीतिगत रुपमा उत्पादन क्षेत्रलाई प्रोत्हासन गर्ने वातावरण तयार पार्ने समेत उनले बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री वसिउद्धिन खाँणले प्रदेशमा समग्र जनसंख्याको ५० प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको बताउँदै युवाको भविष्य अघि बढाउन नीतिगत रुपमा सहयोग गनुपर्नेमा जोड दिए ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गोविन्दबहादुर खत्रीले युवालाई उद्यमशिलतामा जोड्नुपर्ने र नेपाली उत्पादनलाई ब्राण्डिङ गर्नुपर्ने बताए । युवा उद्यमीलाई परिषदको साथ रहने र सरकारको तर्फबाट पनि पूर्ण सहयोग रहनुपर्ने उनको भनाइ थियो ।

‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ, नवप्रवर्तन र उद्यमशिलतामा हरित सीप विकास’ भन्ने नारा सहित मनाइएको अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रममा  युवा उद्यमशिलता विकासमा योगदान गरेका प्रदेशका १५ जना उद्यमी तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप