बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री प्रचण्ड

सोमबार, २९ साउन २०८०, २० : ५१
सोमबार, २९ साउन २०८०

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताएका छन् । 

सोमबार दिउँसो सिंहदरबारमा आयोजित विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले भने,'अर्थतन्त्रमा क्रमशः सुधार आएको छ । रेमिटान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजश्व संकलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायीमा आत्मविश्वास पैदा हुने गरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन । यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र दुवै पक्षले गहन अध्ययन गरौँ र जे-जे गर्नुपर्छ गरेर अर्थतन्त्र चलायमान बनाऊँ।'

निजी क्षेत्रलाई विश्वासमा नलिएर  र सहकार्य नगरी अर्थतन्त्रमा सुधार ल्याउन नसकिने उनले बताए । 

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र चलायमान गराउन प्रधानमन्त्री अत्यन्तै गम्भीर भएको आफूले पाएको बताए । उनले सरकारका सबै अंगले सरकारलाई साथ दिनुपर्ने बताए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन सरकारले खेलेको भूमिका सकारात्मक रहेको र समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउँदै खुकुलो मौद्रिक नीति, लगानीमैत्री वातावरण र देशमा सकारात्मक सन्देश प्रवाहका निम्ति केही ठोस निर्णयहरू लिन सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीले आयोजना गरेको छलफलमा उपप्रधानमन्त्री खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव अर्जुन पोखरेल, व्यवसायी संगठनका अध्यक्षहरू ढकाल, अग्रवाल र श्रेष्ठ सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप