सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

समुद्र मन्थनको प्रतीकात्मक अर्थ

बिहीबार, १४ भदौ २०८०, ११ : ३१
बिहीबार, १४ भदौ २०८०

हिन्दु मिथकअनुसार सागरबाट अमृत पाउन देव र दानव दुवै मिली गरेको सामूहिक समुद्र मन्थनको कथा पढ्दा तत्कालीन सामाजिक व्यवस्थाका कतिपय जटिल अन्तर्विरोधको आवरणमा छिपेका धेरै कुरा बुझ्न सकिन्छ । समुद्र मन्थनको कथाले हामीलाई भारतीय महाद्वीपका अनेकौँ सांस्कृतिक जटिलता र तिनको रूढ सामाजिक कारणहरूका विषयमा जान्ने उत्सुकता बढाएको छ । 

समुद्र मन्थन एउटा प्रतीक हो । हाम्रो वास्तविक जीवनमा समुद्र मन्थन जस्ता कार्य व्यावहारिक रूपमा गर्न सकिँदैन । तर सबैको सामूहिक प्रयत्नबाट समुद्र मन्थन जस्ता असाध्य ठानिएका काम चाहिँ फत्ते गर्न सकिन्छ । 

देव र दानव अथवा सुर र असुर भन्ने जे नाम दिए पनि यिनीहरूको समुदाय एक अर्काप्रति पटक्कै सहिष्णु थिएनन् । कुनै एउटा कबिलाले प्राप्त गरेको राज्य खोस्न प्रयत्न गरिरहनु, त्यसका निम्ति युद्ध गरिरहनु अनि एउटा पक्षले अर्का पक्षविरुद्ध षड्यन्त्र गरिरहनु यिनको मुख्य काम हुने गर्थ्यो । हिन्दु पौराणिक गाथाहरू यसरी नै कुनै एउटा कबिला र उसको प्रजातिले अर्को कुनै कबिला वा उसका सांस्कृतिक स्थापना र मूल्यपद्धतिविरुद्धमा गरेका लडाइँ र जालझेलहरूले भरिएका छन् । 

देवताका मुख्य नेता विष्णु र उनको नेतृत्वमा दैत्यहरूविरुद्ध गरिएका षड्यन्त्र र युद्धका गाथाले भरिएको विष्णु पुराणमा समुन्द्र मन्थनको नालीबेली विस्तारमा भनिएको छ । जुन समुद्रमा मन्थन भएको थियो त्यस समुद्रको नाम क्षीर सागर भनेर बताइएको छ । क्षीर सागरको वर्तमान भौगोलिक अवस्थिति वर्तमान भूगोलशास्त्रमा पाउन सकिँदैन । पुराणको सहारा लिने हो भने विष्णु बस्ने ध्रुवलोकमा रहेको दूधको समुद्र नै क्षीर सागर हो भनी बताइएको छ । समुद्र मन्थन गर्दा देव र दानवहरूको मात्र उपस्थिति देखाइएको छैन ।

समुद्र मन्थन गर्दा देव र दानवहरूको मात्र उपस्थिति देखाइएको छैन । त्यहाँ नाग अथवा सर्पहरूको समूहको पनि उल्लेख पाइन्छ । सात वटा प्रमुख महासागरमध्ये क्षीर सागरलाई पाँचौँ महासागर मानिएको छ । हिन्दुहरूको भौगोलिक ज्ञानको सीमा र परिकल्पना विचार गर्दा हिन्द महासागर आसपासका क्षेत्रलाई उनीहरूले वैकुण्ठलोक र हिन्द महासागरलाई नै क्षीर सागर भन्न खोजेका हुन् कि भान पर्छ । 

त्यहाँ नाग अथवा सर्पहरूको समूहको पनि उल्लेख पाइन्छ । सात वटा प्रमुख महासागरमध्ये क्षीर सागरलाई पाँचौँ महासागर मानिएको छ । हिन्दुहरूको भौगोलिक ज्ञानको सीमा र परिकल्पना विचार गर्दा हिन्द महासागर आसपासका क्षेत्रलाई उनीहरूले वैकुण्ठलोक र हिन्द महासागरलाई नै क्षीर सागर भन्न खोजेका हुन् कि भान पर्छ । उनीहरू बाँचेको भौगोलिक क्षेत्रहरूमा जस्ता किसिमका अनुष्ठान, अनुशासन र कर्मकाण्ड सञ्चालन र संरक्षण गर्न सकिन्थ्यो त्यसै अनुरूपका विधानहरू बनाई तिनलाई हिन्दु कानुनका रूपमा प्रयोग गरिन थालेको पाइन्छ । हिन्दु समाजमा अभ्यास गरिने यज्ञ, पूजा, जप, तपस्या, संस्कार र व्यवहारहरूको आदिम स्रोत खोज्न खासमा त्यतिबेलाका भौगोलिक अनुभव, अवस्थिति र जलवायुसम्म पुग्न सक्दा राम्रो हुन्छ ।

समुद्र मन्थनको कथाले हामीलाई यस लोकमा मानिस, देव वा दैत्यहरूको अजम्मरी जीवनप्रतिको अभीप्सा र कामना कुन हदसम्म आकार ग्रहण गरेर बसेको हुन्छ भन्ने सङ्केत गरेको छ । अनन्त जीवनको लालसा कुनै वस्तु वा चिज पाउने सामान्य लालसा मात्र होइन । यो त यस लोकमा सदा जीवित, शक्तिशाली र हैकमवादी हैसियत आफूले मात्र पाऊँ भन्ने अप्राकृतिक र गैरजिम्मेवार प्यास हो । त्यसको निरोध र ओखती कसैसँग हुँदैन । पुराणमा बताइएको कथा अनुसार आफ्नो वाहन ऐरावत हात्तीमा चढेर कतै जाँदै गरेका देवताहरूका मुखिया इन्द्रलाई दुर्वासा नामका कुनै ऋषिले खास किसिमको सुगन्धित माला पहिर्‍याइदिन्छन् । तर इन्द्रले त्यो विशेष हार आफ्नो वाहन हात्तीलाई लाइदिन्छन् । मालाबाट आएको चर्काे सुगन्धले हात्तीको सुँड वरिपरि मौरीहरू झुम्मिन थाल्छन् । मौरी झ्याम्मिएपछि हात्तीलाई अप्ठ्यारो हुन्छ र उसले त्यो हार भुइँमा मिल्काउँछ ।

यसरी पूजा गर्न योग्य फूलको हार भुइँमा फ्याँकिएको देखेर दुर्वासालाई उत्पात रिस उठ्छ । रिसको झ्वाँकमा ऋषिले इन्द्रको झाँको झार्छन् । सारा देव समुदायको पराक्रम र छलछाम फिका पार्ने गरी सराप्छन् । यसपछि दैत्यहरूका राजा बलिराजको नेतृत्वमा दैत्यहरूले देवराज इन्द्रको सहरमा आक्रमण गर्छन् । ऋषिको श्राप र युद्धरणनीतिमा सारै कमजोर बनेका इन्द्रहरूको समूहले युद्ध नराम्रोसँग हार्न पुग्छन् । अनि इन्द्रहरूको जत्था अर्का देव मुखिया विष्णुका निवासतिर लाग्छन् । विष्णुले पराजित इन्द्रादिको समूहलाई दैत्यहरूसँग कूटनीतिक तरिकाले ‘डिल’ गर्नुपर्ने सल्लाह दिन्छन् । जसअनुसार देव र दानवहरू मिलेर समुद्र मन्थन गर्न सकेको खण्डमा त्यसबाट जुन अमृत निस्कन्छ त्यो पिएर देवहरूको समुदायले अमरत्व प्राप्त गर्न सक्छ । त्यसपछि उनीहरूको राज्यसत्तामा कहिल्यै कसैले चुनौती दिने डर हुन्न ।

विष्णुको सल्लाह अनुसार देवता र दानवहरूको सङ्गठनले समुद्र मन्थन गर्ने निधो गर्छ । समुद्र मन्थनबाट निस्कने अमृत र अरू चिजहरू बराबरी भाग लाउने सम्झौता पनि उनीहरूले गरेका हुन्छन् । समुद्र मन्थन गर्ने काम सजिलो थिएन । खासमा पुराणको कथाले पटक पटक भनेको मन्थन शब्दले समुद्रको मोही पार्ने भनेको हो । तर गहिराइमा हेर्दा समुद्र मन्थन भनेको समुद्रभित्रको अन्वेषण हो । समुद्रभित्र, समुद्र वरिपरि खोजपडताल गर्नु हो । समुद्रको उत्खनन गर्नु हो । वास्तवमा समुद्र भनेको अनेकौँ समुद्रीजीव, वनस्पति, मूल्यवान् धातु, रत्नहरू, खरखजाना अनि अनौठा वस्तु, विष, क्षार, झार आदि चिजबिज पनि पाइने ठाउँ हो । त्यस कारण देउता र दैत्यहरूको समूहले आफू शक्तिशाली हुने आकाङ्क्षा राखेर नै समुद्र मन्थनपछि भेटिने चिजहरू एक आपसमा बाँड्ने सहमति गरेका थिए । परन्तु देउताहरूका मुखियाहरूले समुद्रबाट निस्केका चिजहरू आफ्नै पोल्टामा मात्र पार्ने भित्री योजना बनाएका थिए । 

अघोरपन्थमा खान मिल्ने र नमिल्ने चिजहरूको कुनै वर्जना हुँदैन । विष, भाङ, धतुरो, मद, मांस, खरानी आदि सबै चिज सेवन गरेर यिनलाई पचाउन सक्ने क्षमता विकास गरेका भोलेनाथले हलाहल विष पिउने दुस्साहस गरेका हुन् । कठोर मेहनतपछि निस्किएको अमृत पिउनबाट दैत्यहरूलाई वञ्चित गराइयो । 

समुद्र मन्थनका लागि मन्दराचल भन्ने पर्वतको मदानी र वासुकी नाम गरेको सर्पको नेती बनाएको थियो भनिन्छ । यी चिजहरूको प्रतीकात्मक व्याख्या जरुरी छ । कुनै भीमकाय पहाडलाई मदानीका रूपमा प्रयोग गर्न सकिँदैन न त कुनै सर्पलाई नै डोरी बनाएर बाँध्न सकिन्छ । अझ मन्दराचल पर्वतलाई नै बोकेर क्षीरसागरमा ल्याउन नसकेपछि विष्णुले कछुवाको अवतार लिई पहाडलाई टेवा दिँदै समुद्र मन्थन गराउन सहयोग गरे भनिएको छ । यस्ता कथाहरू सुन्नमा रोमाञ्चक हुन्छन् ।

तर यिनको विश्वसनीयताको आधार खोज्न सकिँदैन । यद्यपि के अनुमान लाउन सकिन्छ भने कुनै सानो नदीमा माछा मार्न अथवा नदीभित्रका चिजहरू खोज्न सुर र असुरहरूको समूहले आफ्नो क्षमता र सीपले भ्याएसम्मको कुनै विशेष यन्त्र वा औजार बनाउन सफल भएका थिए होला । त्यस यन्त्रका माध्यमद्वारा नदीका विपरीत तटमा बसेर यन्त्रमा बाँधिएको लामो डोरी दुईतिरबाट समात्दै पानी झिक्न र बाहिर फाल्न सकिन्थ्यो होला । नाग अथवा सर्पहरू मान्छेसँग बस्नु, कुराकानी गर्नु, डोरी बाँध्नु जस्ता काम गरेको देख्दा नागहरूको समूह पनि कुनै मान्छेकै प्रजाति वा कबिला थिए कि भन्न सकिएला । नागहरूसँग लामो, बलियो र मोटो डोरी बनाउने सीप हुन सक्छ । 

यसरी समुद्र मन्थन गर्दा दैत्यहरूलाई वासुकी नागको मुखतिरको भाग समात्न लगाइन्छ ताकि देउताहरू सर्पको विष र टोकाइबाट सुरक्षित बनून् । समुद्र मन्थनको कष्ट साध्य कार्य सम्पन्न हुँदै गर्दा समुद्रबाट काम लाग्ने र नलाग्ने दुवैखालका चिज निस्किन थाल्छन् । तीमध्ये हलाहल नामको विष निस्केको प्रसङ्ग विशेष रुचिकर छ । हलाहल विषलाई कतै कालकूट विष पनि भनिएको छ । यो विष अत्यन्तै कडा भएकाले यसको असरबाट समुद्रका जीव र देव दानवहरू पनि भकाभक मर्न थाले । त्यसो त वासुकीको पुच्छर तानेर मोही पार्दापार्दै पनि कति देउता र राक्षसहरू मरेका थिए ।

हलाहल विष निस्केपछिको भागाभाग रोकथाम गर्न शिव आइपुग्छन् । शिवले विष पिएपछि भने सबैलाई शान्ति मिल्छ । तर हलाहल विष त कति कडा रहेछ भने शिवले पनि यसको डाह थाम्न सक्दैनन् । हलाहलको विष पेटभित्र हाल्न नसकेका शिव त्यसपछि नीलकण्ठ नामले जगतमा चिनिन थाल्छन् । विषसमेत खाइदिएर जगतको कल्याण गरेको हुनाले शिवलाई कल्याणकारी देउता मानिन्छ । पौराणिक कथनहरूमा शिवको भूमिका विष्णु, इन्द्रादि देउताहरू जस्तो षड्यन्त्रकारीका रूपमा मात्र देखाइएको छैन ।

हलाहल विष पिउने आँट शिवले मात्र किन गर्न सके तर अरूले किन त्यो आँट गरेनन् भन्ने प्रश्नको सन्तोषजनक विश्लेषण गर्न सकिन्छ । शिवलाई अघोरपन्थका गुरु भनिन्छ । अघोरको शाब्दिक अर्थ डर नलाग्ने भन्ने हुन्छ तर अघोरीहरूलाई डरलाग्दा जन्तु जसरी हेर्ने गरिन्छ । अघोरपन्थमा खान मिल्ने र नमिल्ने चिजहरूको कुनै वर्जना हुँदैन । विष, भाङ, धतुरो, मद, मांस, खरानी आदि सबै चिज सेवन गरेर यिनलाई पचाउन सक्ने क्षमता विकास गरेका भोलेनाथले हलाहल विष पिउने दुस्साहस गरेका हुन् । कठोर मेहनतपछि निस्किएको अमृत पिउनबाट दैत्यहरूलाई वञ्चित गराइयो । यो षड्यन्त्र पनि विष्णुकै थियो ।

यसका निम्ति उनले मोहिनी वा सुन्दरीको भेष बदलेका थिए । यो अन्यायको सिकार भएपछि दैत्यहरूमध्ये राहु नामका दैत्यले देउताको भेष बदलेर अमृत पिउँदै गर्दा विष्णुले उनको शिर छेदन गरे । मन्थन गरेपछि निस्किएका चिजहरूको वितरणमा पनि अनेक छलछाम गरी दैत्यहरूलाई अन्यायमा पारियो । मन्थनबाट पाइएका काम लाग्ने औजार, धातु, रत्न आदि सबै चिज देउताहरूले आफूखुसी भाग लगाए र लगे । कौस्तुभमणि, शङ्ख, धनुषजस्ता चिज विष्णुलाई दिइयो । हात्ती, कल्पवृक्ष, अप्सराहरू जति इन्द्रले लगेका थिए । अर्धचन्द्र शिवले लगे । कामधेनु नाम गरेको गाई ब्रह्माले लगेका थिए । तर यज्ञमा गाईको घिउ काम लाग्छ भनेर त्यो अलौकिक गाई ऋषिहरूलाई दिइएछ । समुद्र मन्थन गर्दा मदिरा पनि निस्किए छ । त्यो मदिरालाई सोम भन्न थालियो र त्यही सोमरस पिउन थालेपछि देउताहरूलाई सुर भन्न थालिएको जानकारी पाइन्छ । सर्पको टोकाइ सहँदै न्वारानदेखिको बल निकालेर मरिहत्ते मेहनत गरेका दैत्यहरूका भागमा गतिलो केही परेन । दैत्यराज बलिलाई जम्मा एउटा घोडा दिइए छ ।

यसरी आफूहरूमाथि भएको अत्याचार भएको सहन नसकेपछि दैत्य र दानवहरूका बिचमा घमासान युद्ध भयो । युद्ध चर्कंदै गएपछि दैत्यहरू कमजोर साबित हुन पुगे । अमृतपान गरी अजम्मरी बनेका देउताहरूसँग दैत्यहरूको केही लागेन र अन्त्यमा बलिराज दैत्यहरूको समुदाय थकित भई पाताल अथवा देउताहरूले कब्जा गरेको सहरभन्दा धेरै टाढा कतै लखेटिए । यस प्रकार दैत्यहरूलाई षड्यन्त्रै षड्यन्त्रको घानमा पारेर अनि अनेकौँ तिकडम र प्रलोभनका पोका देखाएर राज्यसत्ता र शक्ति आफ्ना भागमा पारेका कथित देउताहरूलाई आर्य श्रेष्ठताको वैजयन्ती माला पहिर्‍ याउनु र दैत्यहरूको समूहलाई घृणा र तिक्तताको विष खुवाउनु हाम्रो कथित आर्य सभ्यताको सबैभन्दा ठूलो दोष हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोविन्द पौडेल
गोविन्द पौडेल
लेखकबाट थप