शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
बालेनको गैरजिम्मेवार अभिव्यक्ति

चोकमा २ मिनेट रोकिनुपर्दा सिंहदरबार जलाउने चेतावनी !

सेतो प्लेटको गाडी मेयरलाई कि मेयर पत्नीलाई ?
आइतबार, १७ भदौ २०८०, १७ : ११
आइतबार, १७ भदौ २०८०

शनिबार राति करिब ९ः३० बजे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको फेसबुक स्टाटस आयो । फेसबुकमा उनले लेखे, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

बालेनको उक्त स्टाटसपछि कतिपयले नशामा रहेको कारण त्यस्तो स्टाटस लेखेको टिप्पणी गरे भने कतिपयले सरकार र प्रहरीप्रतिको आक्रोशका रूपमा बुझे । रातको समयमा आएको उक्त स्टाटसको आलोचना भइरहँदा आइतबार बिहानै फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ मा एउटा पोस्ट आयो । पोस्टमा ‘बालेन शाह र उनकी श्रीमती सविना काफ्लेको तर्फबाट छोरीको जन्म भएकामा बधाई’ भन्ने उल्लेख थियो ।

त्यही बिचमा बालेनका समर्थकहरुबाट सामाजिक सञ्जालभरि लेख्न थालियो– श्रीमती प्रसव वेदनामा रहेको समयमा अस्पताल लैजाँदै गर्दा ट्राफिक प्रहरीले रोकेपछि बालेनले त्यस्तो प्रतिक्रिया दिएका हुन् र सो प्रतिक्रिया सामान्य आक्रोशको प्रतिबिम्ब मात्रै हो ।

भएको के थियो ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्ले चढेको सरकारी नम्बर प्लेटको कार शनिबार साँझ ८ बजेर ४९ मिनेट जाँदा ललितपुरको बालकुमारी क्षेत्रबाट कोटेश्वरमा आइपुगेको थियो । त्यहाँ ट्राफिक चेकिङ पनि चलिरहेको थियो भने सवारी साधनहरू लाइनमा रहेका कारण उक्त गाडी केही पछाडि थियो । जब उक्त गाडी ट्राफिक चेकिङ भइरहेको स्थानमा आइपुग्यो, त्यसपछि ट्राफिक प्रहरीले सेतो नम्बर प्लेट देखेपछि गाडीलाई रोकेर कागजात र शनिबार चलाउनका लागि स्थानीय प्रशासनबाट लिइएको पास माग गरे ।

तर चालकले शनिबार उक्त सवारीसाधन चलाए पनि पास नबनाएको र उक्त गाडी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको भएको बताए । तर गाडीमा बालेन शाह नदेखेपछि ट्राफिक प्रहरीले उहाँ को हो भनी प्रश्न गरेपछि चालकले उहाँ बालेनकी पत्नी भएको र अस्पतालबाट फर्किँदै गरेको जवाफ दिएका थिए ।

त्यसलगत्तै ट्राफिक प्रहरीले चालकलाई सम्झाएर अब शनिबार सरकारी सवारीसाधन नचलाउन र चलाउन परे अनिवार्यरुपमा पास लिएर मात्रै चलाउनका लागि सुझाव दिँदै सवारीसाधनलाई छाडिदियो । उक्त सवारीसाधन शनिबार साँझ ८ बजेर ५१ मिनेट २ सेकेन्ड जाँदा त्यहाँबाट गएको देखिन्छ । अर्थात्, ट्राफिक लाइट, कोटेश्वर चोकको सवारी जाम र ट्राफिक चेकिङ गरी मात्रै २ मिनेट २ सेकेन्ड उक्त गाडी रोकिएको छ । ट्राफिक चेकिङका लागि उक्त सवारीसाधन करिब ४० सेकेन्ड रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार कोटेश्वरमा नियमित चेकजाँचका क्रममा उक्त सवारीसाधन पनि चेकजाँच गरिएको हो । सेतो नम्बर प्लेटको सरकारी गाडी भएको र शनिबार चलेको हुनाले ट्राफिक प्रहरीले सोधपुछ गरेको उनले बताए ।

प्रवक्ता भट्टका अनुसार बिदाको दिन भएकाले पास छ कि छैन भनेर सोधेको र चालकको लाइसेन्स हेरेर पास बोकेर हिँड्नु भनी सम्झाएर पठाइएको हो । त्यसबाहेक अरू केही भएकै थिएन ।

तर कोटेश्वर चोकमा ट्राफिक प्रहरीले बिदाको दिन चलाउने पास मागी २ मिनेट २ सेकेन्ड गाडी रोकिँदा मेयर बालेन शाहले अबदेखि फेरि महानगरको गाडी रोकेमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिए ।

के भन्छ बालेनको सचिवालय ?

मेयर बालेन शाहका सचिवालय सदस्य सुनिल लम्सालका अनुसार बालेनको उक्त आक्रोश ट्राफिक प्रहरीप्रति नभएर सरकारप्रति हो । लम्सालले रातोपाटीसँग भने, ‘एकजना बिरामी महिला बोकेर हिँडेको गाडी किन आधा घण्टा रोकेर राखेको ? सुकुमबासी बस्ती हटाउने सम्बन्धमा सरकारले किन सहयोग नगरेको ? फोहोरमैला व्यवस्थापनमा सरकारले किन सहयोग नगरेको ? सत्तामै रहेको दल नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले किन अवरोध गरेको ? यो सबै बालेनलाई असयोग गर्ने नीति हो । यी सबैको बिस्फोट हो बालेनको उक्त अभिव्यक्ति ।’

रातोपाटीले गाडीमा कस्तो बिरामी हो भन्दा सुरुमा लम्सालले केही खुलाएनन् । पछि उहाँलाई सन्तानप्राप्ति भएको हो भनी सोध्दा आफूले पनि सामाजिक सञ्जालबाट थाहा पाएको बताए । सन्तान कहिले जन्मिएको हो भन्ने प्रश्नमा भने उनले केही बताउन चाहेनन् ।

बालेनका सचिवालय सदस्य लम्सालले विषयान्तर गरेपछि रातोपाटीले पुनः लम्साललाई बालेनकी पत्नी कस्तो बिरामी हो, सुत्केरी हुन अस्पताल गएको हो कि सुत्केरी भएपछि फर्किएको हो भनी प्रश्न गरेको थियो । जवाफमा सुनिलले ‘पेट चिरेको’ महिलालाई आधा घण्टा होल्ड गर्नु सही नभएको जवाफ दिए । पास लिनुपर्ने कि नपर्ने भन्ने विषयमा लम्सालले केही बताउन चाहेनन् ।

एक साताअघि नै डेलिभरी

सामाजिक सञ्जालमा बालेनका समर्थकहरुले बालेनकी पत्नी सविना काफ्ले प्रसव पीडामा रहेको र सन्तान जन्माउन अस्पताल जाँदै गरेको टिप्पणीसमेत गरेका छन् । बालेनको विषयमा स्टाटस आएलगत्तै ‘रुटिन अफ नेपाल बन्द’को पोस्ट बालेनप्रतिको नकारात्मक टिप्पणी रोक्न र सहानुभूति बटुल्ने उद्देश्यका साथ आएको थियो । यद्यपि बालेन र सविनालाई सन्तान प्राप्ति भएको कुरा सत्य थियो ।

तर शनिबार साँझ बालेन पत्नीलाई प्रसव पीडा भएर अस्पताल लगिँदै गरेको भने होइन । करिब एक साता अगाडि नै उनले सन्तान जन्माइसकेकी थिइन् र उनी डिस्चार्ज समेत भइसकेकी थिइन् । तर नवजात शिशुलाई अस्पतालामै राखेर उपचार गर्नुपर्ने भएकाले बच्चा अस्पतालमै उपचारको क्रममा थियो । बालेनपत्नी सविना शनिबार अस्पताल पुगेर राति घर फर्किँदै थिइन् । त्यही क्रममा बालेनले चढ्ने गरेको उक्त सवारीसाधनलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको थियो ।

के छ कानुनी व्यवस्था ?

सरकारी स्वामित्व वा सेतो नम्बर प्लेटको सवारीसाधनको दुरुपयोग अत्यधिक बढेपछि सरकारले २०७४ सालदेखि नै सरकारी सवारीसाधनको दुरुपयोग रोक्न र शनिबार वा बिदाका दिनमा काम गर्नुपरे अनिवार्य पास लिनुपर्ने व्यवस्था गरेको थियो ।

रातो नम्बर प्लेटको दुरुपयोगबारे रातोपाटीले २०७४ सालमा लगातार समाचार लेखेपछि सरकारले त्यतिबेला नै रातो नम्बर प्लेट बनाइएका सबै सरकारी सवारीसाधनमा सेतो नम्बर प्लेट परिवर्तन गर्न निर्देशन दिएको थियो । तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीले सुरुमा आफ्नै सवारीसाधनको रातो नम्बर प्लेट हटाएर सेतो नम्बर प्लेट राखेका थिए भने सार्वजनिक बिदाका दिन सवारीसाधन चलाउनु परेमा अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने व्यवस्था गराएका थिए ।

त्यसपछि हरेक वर्ष गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाएर सार्वजनिक बिदाका दिन सवारीसाधन चलाउन पास अनिवार्य भएको जानकारी गराएको थियो ।

गृह मन्त्रालयले २०७९ साउन ४ गते प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पठाएको परिपत्रमा सार्वजनिक बिदाका दिन झण्डावाल गाडी, सुरक्षा निकायले प्रयोग गर्ने गाडी, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधनका लागि पास अनिवार्य भएको सर्कुलर पठाएको थियो ।

प्रहरी प्रधान कार्यालय, काठमाडौँ र सबै जिल्ला प्रशासन कार्यालयमा पठाइएको सर्कुलरमा भनिएको छ–

‘उपरोक्त विषयमा विगत केही दिनदेखि सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारीसाधन रोक्ने, चाबी खोस्ने लगायतको गतिविधि भइरहेको हुँदा झण्डावाल सवारीसाधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारीसाधनहरुलाई सार्वजनिक बिदाका दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउनुहुन र सो बारेमा सर्वसाधारणलाई समेत सुसूचित गर्नु÷गराउनु हुन तथा उपरोक्त बमोजिम बाहेकका सरकारी सवारीसाधन बिदाको दिनसमेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्नु गराउनुहुन ।’

प्रहरी प्रधान कार्यालयमै गृह मन्त्रालयले सर्कुलर जारी गरेपछि प्रहरी प्रधान कार्यालयले सबै ट्राफिक प्रहरी कार्यालयहरूलाई निगरानी र नियन्त्रण गर्न सर्कुलर जारी गरेको थियो । सार्वजनिक बिदाका दिन पनि काम गर्नु परेमा सेतो नम्बर प्लेटको सवारीसाधनले अनिवार्य पास लिनुपर्ने व्यवस्था गरेको थियो र त्यस्तो पास सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट लिनुपर्ने कानुनी व्यवस्था छ ।

स्थानीय तहले पास लिनु नपर्ने हो ?

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार स्थानीय तहले सार्वजनिक बिदाका दिनमा सवारीसाधन चलाउन परेमा प्रमुख प्रशासकीय अधिकृतको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सवारीसाधन पास उपलब्ध गराउने व्यवस्था छ । सोही अनुसार नै हालसम्म पास उपलब्ध गराउने काम भइरहेको छ ।

काठमाडौँका मेयरलाई सार्वजनिक बिदाका दिन सवारीसाधन चलाउन पास नचाहिने भन्ने छैन । कानुन सबैलाई बराबर लाग्ने भएकाले अरुले जस्तै मेयर वा काठमाडौँ महानगरपालिकाका सबै कर्मचारी वा पदाधिकारीले सार्वजनिक बिदाका दिनमा सवारीसाधन चलाउनु परेमा पास अनिवार्य हुन्छ ।

सीडीओ भन्छन्– हामी हतोत्साहित भएका छौँjitendra basnet

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बालेनको अभिव्यक्तिबाट सुरक्षा निकाय र प्रशासन हतोत्साहित भएको बताए । उनले भने, ‘एकजना तल्लो तहको ट्राफिक प्रहरीले राति ९ बजे पनि आफ्नो जिम्मेवारी इमानदारिता पूर्वक निभाएका छन् । मेयरले त यसलाई धन्यवाद दिनुपर्ने हो । तर सुरक्षा निकाय र प्रशासनलाई नै गाली गर्ने, धम्की दिने जस्ता काम किन गर्नुभएको हो, हामीले बुझेका छैनौँ । सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरेका हुन् । तर उहाँले कानुन नै मान्दिन भन्नुहुन्छ भने, त्यो अर्कै कुरा हो । यस प्रवृत्तिले हामीलाई हतोत्साहित बनाएको छ ।’

सरकारी सवारीसाधनको दुरुपयोग रोक्नु पदाधिकारीको दायित्व हो : पूर्वसचिव शंकरप्रसाद कोइराला

नेपाल सरकारका पूर्व सचिव शंकरप्रसाद कोइरालाले सरकारी सवारीसाधनको दुरुपयोग रोक्नु पदाधिकारीकै दायित्व भएको बताए । आपत विपत्को समयमा परिवारका सदस्यले पनि प्रयोग गर्न सक्ने भए पनि अनावश्यकरुपमा दुरुपयोग हुने काम रोक्नुपर्ने कोइरालाले बताए ।

कोइरालाले भने, ‘आधिकारिक पदाधिकारीले मात्रै सरकारी साधनको प्रयोग गर्न पाउने हो । यद्यपि, आपत–विपत्को समयमा अधिकारप्राप्त पदाधिकारीका पारिवारिक सदस्यले पनि सवारीसाधन प्रयोग गर्नुलाई अन्यथा भन्न मिल्दैन । सवारीसाधनको दुरुपयोग हुन नदिने कुरामा भने अधिकारप्राप्त अधिकारी सचेत हुन जरुरी छ ।’

कोइरालाले अगाडि भने, ‘परिवारका सदस्य सुत्केरी हुन लाग्यो, कुनै दुर्घटना भयो, रातको समयमा कोही आफन्त बिते भने त्यस्तो बेलामा जानुलाई अन्यथा भन्न मिल्दैन । तर सधैँ प्रयोग गर्ने, जता जाँदा नि प्रयोग गर्ने भन्ने कुरा हुँदैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप