बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा : स्यालको मूर्खता

सोमबार, १८ भदौ २०८०, १७ : १३
सोमबार, १८ भदौ २०८०

आखिर झुट भनेको झुट नै हो । जतिसुकै चलाख भए पनि जतिसुकै चलाखीपूर्वक गरिएको भए पनि एक न एक दिन पत्ता लागिहाल्छ । मूर्ख बनाउन सजिलै हुन्छ, बनाउन सकिन्छ तर सधैँभरि सकिन्न, कदाचित कसैलाई सधैँभरि बनाउन सकिएछ भने पनि सबैलाई सधैँभरि भने बनाउन सकिन्न भन्ने त भनाइ नै छ । भाइबहिनीहरूको जानकारीका लागि यहाँ यसैसम्बन्धी एउटा कथा प्रस्तुत गरिएको छ । 

अघि कुनै समयमा एउटा भोको स्याल आहारको खोजीमा हिँडेको थियो । घुम्दै जाँदा ऊ कुनै गाउँमा पुग्यो । उसलाई देख्ने बित्तिकै कुकुरहरू भुक्न लागे । अब उसलाई आपत् पर्‍यो । तैपनि हिम्मत हारेन र लुक्नका लागि एउटा घर भित्र छिर्‍यो । घर धोबीको थियो कुनामा कतै ठुलो ड्रम थियो । उसलाई लुक्न यही स्थान उपयुक्त लाग्यो र भित्र छिरेर रात बितायो । 

बिहान ड्रमबाट बाहिर टाउको निकालेर हेर्‍यो तर त्यतिबेलासम्म कुकुरहरू फर्किसकेका रहेछन् । बल्ल बाहिर निस्क्यो । ऊ भोको त थियो त्यसमाथि अहिलेसम्म तिर्खा पनि लागिसकेको थियो । त्यसैले पानी खोज्दै कुनै नदी किनारमा पुगेर पानी खान लाग्यो । ठिक यही बेला पानीमा आफ्नो छाया दङ्ग पर्‍यो । किनकि त्यतिबेला उसको शरीर निलो थियो । कारण के परेको थियो भने जुन ड्रममा ऊ लुकेको थियो त्यो नीलो मसीको ड्रम थियो । सोही मसी लागेर शरीर नीलो हुन पुगेको थियो । 

उसले पानी खायो र आश्चयमान्दै जङ्गलतिर लाग्यो तर भइदियो के भने उसको विचित्र स्वरूप देखेर जङ्गली जनावर डरले भाग्न लागे । त्यसपछि उसले यसैको आडमा जङ्गलको राजा बन्ने विचार गर्‍यो र विनम्रतापूर्वक भन्यो–

‘जङ्गलवासी दाजुभाइ दिदीबहिनीहरू हो ! डराउनुपर्दैन । तपाईँहरूकै सुरक्षाका लागि आएको हुँ । यसैखातिर स्वयं सृष्टिकर्ता ब्रह्माजीले मलाई दूत बनाएर पठाउनुभएको हो । आजदेखि तपाईँहरूको राजा बनेर सेवा गर्छु । तपाईँहरूका  चिन्ताका दिन गए । जे परे पनि मलाई भन्नुहोला । अब तपाईँहरू मेरो राज्यमा सुखपूर्वकले बस्न पाउनुहुनेछ ।’  

उसको कुरा अन्य जनावरलाई ठिकै लाग्यो । उनीहरूले तत्कालै स्वकृतिसूचक टाउको हल्लाए । त्यसपछि उसले मन्त्री पदमा बाघलाई, सेनापति पदमा चितुवालाई र स्वकीय सचिव पदमा ब्वाँसोलाई नियुक्त गर्‍यो । अनि आफ्नो पोल खुल्छ कि भन्ने डरले स्यालहरूलाई भने राज्य निकालाको घोषणा गर्‍यो ।  

अब स्यालको सुखको दिन सुरु भयो । दिनभर हात्तीमा चढेर जङ्गल घुम्थ्यो । उसका कर्मचारी अर्थात् बाघ, चितुवा र ब्वाँसो सिकार खोजेर ल्याउँथे ऊ मासु जति छानिछानी खान्थ्यो । हाडखोर र खाएर नभ्याएको जति उनीहरूलाई दिन्थ्यो । यसरी उसले केही समय झुटको खेती चलायो । त्यतिबेला उसलाई लागेको थियो आफूजति भाग्यमानी संसारमै कोही छैन तर झुट सधैँभरि कहाँ टिक्थ्यो र । उसलाई पनि त्यस्तै भयो । 

सदा झै ऊ एक दिन बिहान गुफाबाट बाहिर आएर आङ तन्काउँदै थियो त्यति नै बेला पर कतै जङ्गलबाट स्यालको आवाज आयो । स्यालहरूको बानी के भने एउटा कराएपछि सबै कराउनुपर्ने । स्याल कराएको सुन्ने बित्तिकै उसले आफूलाई राजा हुँ भन्ने बिर्स्यो र करायो । ब्रह्माजीको दूत हुँ भन्ने नाटक गरेको भए पनि आखिर थियो त ऊ स्याल नै । अरू कराएको सुन्ने बित्तिकै ऊभित्र स्याल पनि बाहिर आयो । 

जब अन्य जनावरले स्यालको आवाज सुने तब उनीहरूलाई उसको असलियत बुझ्न बेर लागेन । उनीहरू स्यालले आफूहरूलाई मूर्ख बनाएर राजा बनेको भन्दै निकै रिसाए र सबै एकैसाथ ऊमाथि जाइलागे । यद्यपि उसले भागेर ज्यान बचाउने प्रयास नगरेको होइन तर सबै मिलेपछि कसको के लाग्दो रहेछ । मिलेर प्रयास गर्ने हो बाँदरले बाघलाई त मार्न सक्छन् भने ऊ त थियो स्याल । जति नै भाग्ने प्रयास गरे पनि केही लागेन । सबै मिलेर उसको कामतमाम गरी आहार बनाए ।  

धेरै पहिलेदेखि पढ्दै र सुन्दै आएको यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर झुटको अवस्था जहाँ पनि यस्तै हुन्छ । पहिलो कुरा त उसले स्वधर्मलाई छाडेर परधर्म अप्नाएको थियो । दोस्रो कुरा जतिसुकै चलाख भए पनि आखिर एक दिन सत्य अगाडि आएरै छाड्ने प्रकृतिकै नियम थियो । यसमा ऊ मात्र अपवादमा कहाँ पर्थ्यो र । उसले त्यही फल पायो जस्तो रोपेको थियो ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप