मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

तेस्रोपटक युएईमा गुन्जिँदै मंगोलियन हार्ट

बुधबार, १९ वैशाख २०८१, १४ : ४०
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । केही समयअघि मात्रै अस्ट्रेलिया, दक्षिण कोरिया र पोखरामा आफ्नो प्रस्तुतिमार्फत माहौल तताएको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ ले अब युएइको दुबईमा बृहत कन्सर्ट गर्ने भएको छ । युएईस्थित बर दुबईमा करिब २५ करोडको लगानीमा नेपालीले खोलेको नाइट क्लबको उद्घाटन अवसरमा मंगोलियनले कन्सर्ट गर्ने भएको हो ।

ब्यान्डका म्यानेजर एवम् गिटारिस्ट बबि लामाका अनुसार क्लब आगामी शनिबार अर्थात मे ४ तारिखका दिन ब्यान्डको कन्सर्ट रहेको छ । ‘संसारभर नेपालीहरूले विभिन्न माध्यमबाट नेपाली संगीतको प्रवर्द्धन गरिरहेका छन् । बर दुबईमा नेपाली साथीकै लगानीमा ठुलो क्लब खोलिँदा त्यहाँ नेपाली सङ्गीत पनि बज्ने हो । सुरुवात हामीबाटै हुँदैछ,’ म्यानेजर लामाले भने । उक्त क्लबका लगानीकर्ता काठमाडौँका सरोज विष्ट हुन् । जो १३ वर्षदेखि दुबईमा व्यवसायी गर्दै आइरहेका छन् ।

गायक राजु लामा ‘फ्रन्ट म्यान’ रहेको यो ब्यान्डले कार्यक्रममा आफ्ना लोकप्रिय पुराना गीतहरू प्रस्तुत गर्नेछ । 

युएईमा पछिल्लो एक वर्षमा मंगोलियन हार्टको यो तेस्रो कन्सर्ट हो । युएईमा दर्शकहरूको माग बढी भएका कारण तेस्रो पटक कन्सर्ट गर्न लागिएको हो ।

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन् राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापामगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । 

मंगोलियन हार्टका ‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ लगायत गीत चर्चित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप