लगानीको सुरक्षा प्रत्याभूति सरकारले गर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र वैदेशिक लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
लगानी बोर्डको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास आवश्यकता पूर्ति गर्न लगानी चाहिने र सरकारले सबै खालका लगानीको सुरक्षा प्रत्याभूति गर्ने बताएका हुन् ।
नेपालमा सार्वजनिक–निजी साझेदारी, प्रत्यक्ष वैदेशिक लगानी र निजी क्षेत्रको लगानी बढाउनका लागि नीति, नियम तथा कानुनमा सुधार, प्रक्रियागत सहजीकरण तथा संस्थागत क्षमता विकासका लागि सरकार तयार रहेको उनको भनाइ छ ।
“हामीले साना, मझौला, ठूला सबैखालका लगानीकर्तालाई उत्तिकै महत्त्व दिएका छौँ । लगानीको सुरक्षाको प्रत्याभूति पनि भएको छ । नेपालमा निजी क्षेत्रको लगानी र प्रत्यक्ष वैदेशिक लगानी बढाउनका लागि निरन्तररूपमा लागिपरेका छौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “मुलुकभित्र लगानीको वातावरण बनाउने विषय सरकारको मुख्य प्राथमिकतामा छ । समग्र परियोजना चक्रमा सहजीकरण गर्न सरकार तयार छ ।” लगानीका लागि नेपाल आकर्षक मुलुक हो भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक रहेको पनि उनले बताए ।
लगानी बोर्डअन्तर्गत अघि बढिरहेका ठूला लगानीका आयोजनालाई सहजीकरण गर्न सरकार र मातहतका सबै निकाय जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिए । लगानी बोर्डको कार्यालयले सीमित जनशक्ति र स्रोत–साधनका बावजुद पनि महत्त्वपूर्ण काम गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । लगानी बोर्डको कार्यालयको संस्थागत क्षमता विकासका लागि पनि सरकारले पहल गर्ने उनले बताए । सार्वजनिक–निजी साझेदारी ऐनले लगानी बोर्डलाई लगानी प्रवर्द्धन र सहजीकरणका लागि स्रोत केन्द्रका रूपमा स्थापना गर्ने उद्देश्य राखेको पनि उनले स्पष्ट पारे ।
नेपालले सन् २०२६ सम्ममा अल्प विकसित मुलुकबाट स्तरोन्नति भइसक्ने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्ने लक्ष्य राखेको भए पनि कोभिड–१९ महामारीलगायतका कारण यी लक्ष्य प्राप्तिमा केही समस्या देखिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । अहिले नेपाल १५औँ आवधिक योजना कार्यान्वयनको अन्तिम वर्षमा रहेको र १६औँ आवधिक योजनाको मस्यौदा तयार भइरहेकोमा निजी क्षेत्रबाट बढीभन्दा बढी स्रोत परिचालन गर्ने गरी यो आवधिक योजना तयार पारिने पनि उनले स्पष्ट पारे । त्यस्तै क्षेत्रगत रूपमा आयोजना पहिचान गरी लगानी खोज्ने सरकारको नीति रहेको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
“नेपालका लागि जलविद्य्त्, पर्यटन, कृषि र सूचना प्रविधि तुलनात्मक लाभको क्षेत्र भएकाले यी क्षेत्रमा लगानी केन्द्रित गरिनुपर्छ । निर्माण–स्वामित्व–सञ्चालन–हस्तान्तरण अवधारणा (बुट मोडल)मा परियोजना विकास गर्न सकिन्छ”, उनले भने ।
वार्षिकोत्सव कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी सुशील भट्टले स्थापनाको १२ वर्ष अवधिमा लगानी बोर्डले ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ परियोजनामा रु १२ खर्ब ५० अर्ब बराबरको लगानी स्वीकृत गरेको बताए । हालसम्म बोर्डमार्फत रु पाँच खर्ब २५ अर्ब बराबरको लगानी परिचालन भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण