बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
सम्झना

ल फर्म पार्टनरका नजरमा सुवास नेम्वाङ : सफ्ट कर्नर राख्ने व्यक्ति तर विषयवस्तुमा सार्प

अरूको कुरा सुन्नु पर्छ भन्ने सोच नेम्वाङमा थियो : वरिष्ठ अधिवक्ता शिवप्रसाद रिजाल
मङ्गलबार, २६ भदौ २०८०, १६ : २०
मङ्गलबार, २६ भदौ २०८०

अनामनगरमा रहेको बाजेको सेकुवाबाट भित्र छिर्ने गल्लीको बायाँपट्टि एउटा अग्लो घर छ, पायोनियर हाउस । यो घर एउटा ल फर्म हो, जुन ल फर्मले भर्खरै मात्र ४० वर्ष पूरा गरेको खुसीयाली मनाएको थियो । तर ४० वर्षको खुसीयाली मनाउँदै गर्दा यसका अर्का संस्थापकलाई पनि मङ्गलबार गुमाउनुपर्‍यो ।

२०४० सालमा पायोनियर ल एसोसिएट्सका नामबाट सञ्चालनमा आएको ल फर्मका ४ जना सञ्चालकमध्ये एक थिए– संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ । स्थापना हुँदा साझेदारी फर्मका रूपमा ४ जना सञ्चालक रहेर स्थापना भएको उक्त फर्मको संस्थापक सञ्चालकमा सर्वोच्चका पूर्वअस्थायी न्यायाधीश भरतराज उप्रेती, पूर्वन्यायाधीश वैद्यनाथ उपाध्याय, सुवासचन्द्र नेम्वाङ र कनकविक्रम थापा थिए ।

राम्रै चलिरहेको ल फर्म थियो, पायोनियर ल एसोसिएट्स । फर्म चलाउँदै जाँदा २०४९ सालमा वैद्यनाथ उपाध्याय तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश बनेपछि उनले फर्म छाडे । त्यसपछि उनको स्थानमा साझेदार बनेर भित्रिए, अधिवक्ता शिवप्रसाद रिजाल । शिवले नै न्यायाधीश बनेर गएका वैद्यनाथ उपाध्यायले हेरिरहेका मुद्दा हेरेका थिए । 

२०५० सालमा अर्का सञ्चालक कनकविक्रम थापा पनि ल फ्याकल्टीको डीन बनेर गएपछि उनले पनि ल फर्म छाडे । त्यसपछि सुवासचन्द्र नेम्वाङ र भरतराज उप्रेती मात्रै थिए । सोही समयमा सुवासचन्द्र नेम्वाङ पनि राष्ट्रिय सभामा सदस्य बने । त्यसपछि कानुनमन्त्री बने । २०५२ सालमा सुवासचन्द्र नेम्वाङ लेखा समितिको सभापति बने । लेखा समितिको सभापति बनेपछि स्वार्थ बाझिने भन्दै नेम्वाङले पनि ल फर्म छाडे । त्यसपछि भरतराज उप्रेती र शिवप्रसाद रिजाल भएर ल फर्म सञ्चालन गरे । तर जब नेम्वाङ लेखा समितिको सभापतिबाट हटे, ल फर्ममा साझेदारी नभए पनि उनले सोही फर्मबाट मुद्दामा बहस गर्ने काम भने गरिरहे । उनले नियमित रूपमा २०५८ सालसम्म पायोनियर ल फर्मबाट बहस गरे । 

सुवासचन्द्र नेम्वाङले २०५२ सालमा लेखा समितिको सभापति भएपछि फर्मबाट औपचारिक रूपमा अलग भए । तर उनको सम्मानमा ल फर्मले २०७६ सालसम्म पनि उनका लागि कार्यालयमा एउटा कोठा राखिदिएको थियो । तर २०७६ सालपछि भने उनले नै मेरा लागि कोठा नछुट्याउनुस्, कहिलेकाहीँ काम परेमा मिटिङ रूममा नै बसौँला भनेर भनेपछि भने कोठा छुट्याउन छाडियो । यद्यपि बेला बेलामा उनी उक्त ल फर्ममा गइरहन्थे । 

मङ्गलबार बिहान हृदयाघातका कारण नेम्वाङको निधन भएपछि नेम्वाङका ल फर्मका साझेदार वरिष्ठ अधिवक्ता शिवप्रसाद रिजालसँग नेम्वाङको कानुनी यात्रा, अनुभव आदिका विषयमा हामीले कुराकानी गरेका छौँ । कुराकानीको सार सङ्क्षेप यस्तो छ ।

shiva prasad rijal (1)

–कानुन व्यवसायीका रूपमा नेम्वाङलाई कसरी लिनुहुन्छ ?

उहाँ कुनै पनि विषयवस्तुका बारेमा गहिरो अध्ययन गरेर मात्रै बहसमा जाने व्यक्ति हो । जुन विषयको मुद्दा छ, त्यो मुद्दा र मुद्दासँग सम्बन्धित कानुन वा विषयका बारेमा गहिरो अध्ययन गरेर गएपछि प्रस्ट पार्ने व्यक्ति हो । उहाँ सफ्ट कर्नर राख्ने व्यक्ति हो तर विषयवस्तुमा सार्प भएर प्रवेश गर्ने व्यक्ति हो । त्यसबाहेक व्यवसायका रूपमा अदालतमा जाँदा वा इजलासमा बहस गर्दा होस्, आफ्नो विषयवस्तुका बारेमा ज्ञान राखेर नै जानुहुन्थ्यो । 

उहाँले दैनिक रूपमा काम गर्ने गरेको भनेको चाहिँ २०४० सालदेख २०५२ सालसम्म हो । त्यसपछि ३ वर्ष लेखा समितिको सभापति भएपछि उहाँको ग्याप भयो । त्यसपछि फेरि २०५८ सालसम्म व्यावसायिक रूपमै बहस गरिरहनुभयो । त्यसपछि भने उहाँले छानिएका मुद्दाहरूमा २०७२ सालसम्म बहस गर्नुभयो ।

–ल फर्ममा उहाँको भूमिका कस्तो हुन्थ्यो ?

संस्थापक सदस्य र राष्ट्रिय व्यक्ति भएका कारणले हामी उहाँलाई सम्मान गर्थ्यौँ । उहाँले पनि हामीलाई उत्तिकै माया गर्नुहुन्थ्यो । विषयवस्तुको अध्ययनका विषयमा उहाँबाट ठुलो प्रेरणा मिल्थ्यो ।

–जुनियर कानुन व्यवसायीसँग उहाँको व्यवहार कस्तो हुन्थ्यो ?

आफूभन्दा कनिष्ठ कानुन व्यवसायीलाई गर्ने व्यवहारमा उहाँ धेरै सकारात्मक हुनुहुन्थ्यो । उहाँले गर्नुपर्ने माया, सिकाउनुपर्ने विषय आदि सबै सिकाउनुहुन्थ्यो । उहाँको एउटै प्रेरणा के हुन्थ्यो भने अध्ययन गरेपछि व्यवसायमा आफू खारिन्छ र खारिएर प्रवेश गरेपछि आफ्नो पक्षको हितमा काम गर्न सकिन्छ भन्ने नै थियो । 

उहाँले सुरु सुरुमा हामीलाई सिकाउँदा तपाईंले बहसका क्रममा गलत नै बोल्नुभयो भने पनि त्यसलाई पुष्टि गर्ने आधार दिनुभयो भने न्यायाधीशले पनि तपाईंलाई अनर गर्न सिक्छ । तपाईंले आफ्नो पक्षको हित गर्ने हो, गलत नै बोलेर पनि पक्षको हित हुन्छ र न्याय पर्छ भने तर्कसङ्गत ढङ्गले काम गर्नुपर्छ भन्नुहुन्थ्यो । 

–उहाँले कस्ता मुद्दामा बढी बहस गर्नुभयो ?

उहाँले अधिकांश फौजदारी मुद्दामा बहस गर्नुभयो । केही केही वाणिज्य मुद्दामा पनि बहस गर्नुभयो । वाणिज्य र संवैधानिक मुद्दा चाहिँ छानिएका मुद्दा मात्रै हुन्थे तर उहाँले हेर्ने अधिकांश मुद्दा चाहिँ फौजदारी मुद्दा नै हुन्थे । 

यो फर्मको स्थापना हुँदा पनि कार्यक्षेत्र भाग लगाएर नै भएको थियो । वैद्यनाथ उपाध्यायले देवानी मुद्दा हेर्ने, सुवास नेम्वाङले फौजदारी मुद्दा हेर्ने र भरतराज उप्रेतीले वाणिज्यका मुद्दा हेर्ने भनेर छुट्याइएको थियो । यद्यपि अहिले चाहिँ अधिकांश वाणिज्यका मुद्दा हेर्छौँ र वाणिज्यसँग जोडिएका फौजदारी मुद्दा पनि हेर्छौँ । तर सुरुवातमा भने विशेषज्ञताका आधारमा कुन मुद्दा कसले हेर्ने भनेर तोकिएको थियो । 

–नेम्वाङले हेर्नुभएको कुनै चर्चित फौजदारी मुद्दाको सम्झना छ ?

सम्पूर्ण सुनेल भन्नेको ज्यान मुद्दा उहाँले हेर्नुभएको हो । यो दोलखातिरको घटना हो । त्यो घटना सामूहिक रूपमा एउटा मान्छेलाई घेरेर मारेको विषय थियो । त्यसमा उहाँले बहस गर्नुभयो र पीडित पक्षले न्याय पाए । अर्को सङ्खुवासभाको नारायण दाहाल भन्नेको ज्यान मुद्दा थियो । राजनीतिक घटनाक्रमसँग सम्बन्धित मुद्दामा उहाँले बहस गर्नुभएको थियो । 

त्यस्तै सर्लाहीको देवराज दास तक्मा भन्नेको मुद्दा थियो । त्यो २०५५–०५६ सालतिरको मुद्दा हो । सरकारले राजनीतिक घटना भन्दै मुद्दा फिर्ता लिएपछि रिटमार्फत गएर राजनीतिक उद्देश्य प्राप्तिका लागि गरेको देखिँदैन भने मन्त्रीपरिषद्ले फिर्ता लिन पाइँदैन भनेर तक्माको रिटमा आदेश भएको थियो । त्यस्ता धेरै मुद्दा छन्, जहाँ उहाँ र मसँगै बहस गरेका छौँ । विषयवस्तुको गहिरो अध्ययन, चिन्तन र कानुनको ज्ञानले गर्दा उहाँको प्रस्तुति गर्व गर्न लायक हुन्थ्यो । 

shiva prasad rijal (6)

–कस्ता मुद्दामा उहाँको बढी चाख थियो ?

उहाँको चाख पहिलो त फौजदारी मुद्दामा नै थियो । त्यसबाहेक केही संवैधानिक मुद्दामा पनि उहाँले बहस गर्नुभयो र चाख राख्नुभयो । उहाँले ल फर्ममा हुँदा पनि मलाई देवानीलगायतका अन्य मुद्दामा दुःख नदिनुस् भन्नुहुन्थ्यो । त्यसो भन्नुको अर्थ उहाँको चाख फौजदारी मुद्दामै थियो भन्ने हो । 

–उहाँले जीवनमा कुनै मुद्दामा बहस गर्दिनँ भनेर रिजेक्ट गरेको कुनै विशेष मुद्दा छ कि ? उक्त मुद्दामा पछि के भयो ?

त्यस्ता मुद्दा धेरै नै छन् । उहाँको बानी कस्तो भने सकेसम्म कसैलाई नचिढ्याउने । उहाँ आफैँले म यो मुद्दा हेर्दिनँ नभन्ने तर म भ्याउँदिनँ, अलि व्यस्त छु भन्ने गर्नुहुन्थ्यो । यद्यपि कसैले धेरै ढिपी गरेमा केही केही मुद्दामा म बहस गर्दिनँ भनेको पनि मलाई याद छ ।

मलाई अहिले ठ्याक्कै नाम याद भएन, त्यो सप्तरी वा सिरहाको घटना हो । घटना महिलाको हत्याको विषयसँग जोडिएको थियो । उक्त मुद्दा उहाँलाई रिफर भएर आएको थियो । परिवार नै मिलेर महिलाको हत्या गरेको विषय थियो । प्रतिवादीकै तर्फबाट बहसका लागि आग्रह हुँदा उहाँले मिसिल हेरेपछि म यो मुद्दा हेर्दिनँ भन्नुभयो । नारी संवेदना र समवेदनाको विषय भएको कारणले म ती महिलाको अहित हुने गरी हेर्दिनँ भन्नुभयो । पछि त्यो मुद्दामा प्रतिवादी दोषी ठहर भएका थिए । त्यो घटना २०५७–५८ को हो । 

जहाँ मानवीय संवेदना जोडिएको हुन्छ र प्रथम दृष्टिमा नै प्रतिवादीको पक्षबाट मुद्दा लड्दा वादीपक्षलाई अन्याय हुन सक्छ भन्ने लागेमा उहाँ त्यस्ता मुद्दा हेर्न चाहनु हुन्थेन । कसैले जबरजस्ती गरेमा मिसिल छाडिदिनुस्, म अध्ययन गरौँला भन्नुहुन्थ्यो तर उहाँ जानुहुँदैन थियो ।

–नेम्वाङ आफैँले बहस गर्नुभएको अन्तिम मुद्दा कुन हो ?

उहाँले गर्नुभएको अन्तिम बहस भनेको करारीय दायित्व पूरा गरिपाऊँ भन्ने मुद्दा थियो, कुमारी बैंक जोडिएको । सिद्धान्तराज पाण्डेविरुद्ध कृष्ण राणासमेत भएको कमर्सियल मुद्दा हेर्नुभएको थियो । फौजदारी मुद्दा भने ५८ सालपछि उहाँले हेर्नुभएन । त्यसपछि पनि संवैधानिक विषयमा पनि उहाँले इजलासमा उपस्थित भएर बहस गर्नुभएको थियो । वकालतनामा त संसद् विघटनको विषयमा पनि परेको थियो तर उहाँले बहस भने गर्नुभएन ।  

–दुई पटक संसद् विघटनका विषयमा तपाईंहरूसँग कहिल्यै कानुनी पाटोबाट छलफल गर्नुभयो ? तपाईंले सोध्नुभयो ?

मसँग त्यस विषयमा कुरा भएको थियो । उहाँ हाम्रो कार्यालयमै आएर दोस्रो पटक संसद् विघटन भएपछि उहाँले म र हाम्रा साथीहरूको पनि धारणा लिनुभएको थियो । हामीले हाम्रो धारणा सुनाएपछि उहाँ आफैँले भन्नुभयो– दोस्रो पटक संसद् विघटन गलत थियो र संविधानविपरीत थियो भनेर । पहिलो पटक संसद् विघटन गर्नु उहाँको बाध्यता रहे पनि अदालतको आदेशपछि दोस्रो पटक पनि संसद् विघटन गर्नु अध्यक्ष र प्रधानमन्त्रीको कमजोरी हो भनेर उहाँले भन्नुभएको थियो । आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका कारण उहाँले सीधै भन्न सक्नुभएन । नर्म्स र इथिक्सका कारणले पनि उहाँले त्यो भन्न मिलेन होला तर उहाँले हामीसँगको कुराकानीमा र केही कानुन व्यवसायीसँगको कुराकानीमा दोस्रो पटक संसद् विघटन संविधान र कानुनविपरीत नै रहेको भन्नुभएको थियो । 

आज नेम्वाङ बितेर जानुभयो । मलाई एउटा कुरा भन्न कुनै आपत्ति छैन । अहिलेका एमालेका अध्यक्षका कारणले केही बौद्धिक व्यक्तिहरू एकदमै प्यासिब छन् एमालेमा । चुपै लागेर बसेका छन् । सुझाव दिने, अध्ययन र रिसर्च गर्ने कुरा अहिलेको एमालेमा ग्याप छ । किनभने बौद्धिक व्यक्तिहरू अहिले एमालेमा पाखा लागेका छन् ।

–लामो समय सँगै काम गर्नुभयो, उहाँबाट तपाईंले सिक्नुभएको महत्त्वपूर्ण कुरा ?

उहाँबाट मैले सिकेको र सबैले सिक्नुपर्ने कुरा भनेको हामी सामाजिक व्यक्तित्व छौँ भने रिसराग राख्नुहुँदैन भन्ने नै हो । अर्को कुरा अरूका कुरा सुन्नुपर्छ भन्ने उहाँको धारणा थियो । मान्छे जन्मसिद्ध जानेर आउँदैन । एउटा साधारण व्यक्तिबाट पनि केही ज्ञान र जानकारी लिन सकिन्छ भन्ने उहाँको सोच र धारणा थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप