बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह

बुधबार, २७ भदौ २०८०, १५ : ५४
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । मन्त्री बस्नेतले माथिल्लो त्रिशूली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का प्रमुख कार्यकारी अधिकृत होउ चुन किमलाई उक्त आग्रह गरेका हुन् ।

वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्यस्थल रहेको मन्त्री बस्नेतले बताए । ‘सरकारले त्यसका लागि आवश्यक वातावरण बनाएको तथा वैदेशिक लगानीको प्रतिफल फिर्ताका लागि समेत सहज छ,’ बस्नेतले भने, ‘थप केही महत्त्वपूर्ण आयोजनामा लगानी विस्तार गर्न सहजीकरण गर्छौँ । त्यसका लागि तयार हुनुहोस् ।’

नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले कोरियाली प्रविधि, सीपबाट नेपालले समेत फाइदा लिन सक्ने बताए । माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनालाई सहज रुपमा अगाडि बढाउन सरकारकोतर्फबाट पूर्ण सहयोग रहने र समयसीमा भित्रै सम्पन्न गर्न मन्त्री बस्नेतले आग्रह गरे ।

सो आयोजना दुई देशबीचको मैत्री सम्बन्धलाई थप विस्तार गर्ने एउटा महत्त्वपूर्ण कडी रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले थप ठूला आयोजनामा लगानी गर्न कोरियाली लगानीकर्तालाई अनुरोध गरे । सरकारले वैदेशिक लगानीको सहजीकरणका लागि कानुनी, नीतिगत तथा संरचनागत सुधार गरेको जानकारी दिँदै उनले निर्माणाधीन माथिल्लो त्रिशूली एक आयोजना जस्तै अन्य ठूला र महत्त्वपूर्ण आयोजनामा लगानी गर्न विशेष अनुरोध गरे ।

माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनालाई आफू वन तथा वातावरणमन्त्री रहँदा वनसँग सम्बन्धित विषयलाई सहजीकरण गरेको मन्त्री बस्नेतले स्मरण गरे । आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रुपमा खपत बढ्दै गएको बताए । उनले नेपालमा उत्पादित ऊर्जा छिमेकी देशहरुमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनिकरणमा ठूलो योगदान गर्न सकिने समेत बताए ।

सो आयोजनाको मंगलबार मात्रै शिलान्याश गरिएको हो । हाल आयोजनाको भौतिक प्रगति २२ प्रतिशत रहेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका १ मा भूमिगत विद्युतगृहलगायतका संरचना निर्माणाधीन छन् । काठमाडौँ लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ ।

आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप