सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : बुवाको मुख हेर्ने दिन

कान्छाले कान निमोठेपछि केपी ओलीले बल्ल बा चिने

बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको बाल्यकालको नाम ध्रुव थियो । पाँच वर्षको उमेरमा ध्रुवको शिक्षारम्भ भयो । एक दिन उनका बुवा मोहनप्रसाद कतैबाट आएर सोधे, ‘के के पढिस्, के के जानेको छस् ? 

ध्रुव केही बोलेनन्, चुप लागेर बसे किनभने उनले त्यतिबेलासम्म आफ्नो बुवालाई बुवाको नाताले चिनेकै थिएनन् । आफ्नो सन्तान आफैँसँग नबोलेको मोहनप्रसादलाई त्यति निको लागेन सायद, उनले छोराको बोली सुन्ने अर्थात् आफू र छोराको बोलचाल गराउने उपाय अपनाए — उसो भए, म जे भन्छु त्यही भन् ।

बुवाले ‘क’ भने । ध्रुव केही बोलेनन् । 

केही कड्केर बाउपन देखाउँदै उनी बोले, ‘मैले जे भन्छु त्यही भन् भन्या — क ।’ 

ध्रुवले कखरा जानिसकेका थिए तर अकस्मात् कोही आएर सोधेको उनलाई रुचिकर लागेन । अलि अटेरी गरी उनले ‘क’ नभनी ‘ख’ भने । तत्कालै बुवाले ‘ख’ भन्दा उनले ‘ग’ भने । ठीक ढंगले भन् भन्दै बुवाले पुनः ‘क’ भने, ध्रुवले अझै अटेरीपन छाडेनन् र ‘ख’ भने ।

हजुरआमाले भनिन्, ‘यो कान्छो होइन, तेरो बा हो । हामीले पो कान्छो भन्ने हो । तैँले बा भन्नुपर्छ ।’

सानो छोराले पटकपटक नटेर्दा मोहनप्रसादको ‘बाउ’वाला अहंमा चोट पुग्यो सायद । आफ्नो वशमा ल्याउने वा आफू बाउ हुँ भनी चिनाउने उद्देश्यले उनले छोराको कान च्याप्प समाए । यसरी मनलागी ढंगले आफ्नो कान अर्को कसैले समाउन सक्छ वा त्यस्तो अधिकार कसैलाई छ भनी ध्रुवले कल्पनासम्म गरेका थिएनन् ।

बुवाले कान समाएको विरोध गर्न तथा आफूलाई औधि माया गर्ने हजुरआमालाई सिकायत गर्न उनी जोडले कराए । हजुरआमा (राममाया) आएर सोधिन्, ‘के भयो ?’

ध्रुवले भनेँ — कान्छाले कान निमोठ्यो । 

दाजुभाइमा कान्छो भएकाले मोहनप्रसादलाई घरमा प्रायःले कान्छो भन्थे । हजुरआमाले भनिन्, ‘यो कान्छो होइन, तेरो बा हो । हामीले पो कान्छो भन्ने हो । तैँले बा भन्नुपर्छ ।’ त्यसपछि उनले कान्छालाई केरकार गरिन्, ‘किन कान निमोठिस् ?’ 

निमोठ्या छैन आमा ! यसो समात्याझैँ गरेको हुँ ।

समाउन पाइँदैन, आइन्दा यस्तो गल्ती गरिस् भने ठीक हुँदैन — राममायाले आफ्नो छोरालाई चेतावनी दिइन् । 

‘म हजुरआमाको अत्यन्तै प्यारो नाति थिएँ । कसैले मलाई छुने, कडा स्वरले बोल्ने आँट गर्दैनथ्यो । राम्रै पुलपुल्याएर राखिएको थिएँ । किनभने मेरी आमा अगाडि नै बितिसक्नुभएको थियो,’ शुक्रबारको भेटमा ध्रुव उर्फ केपी शर्मा ओली आफ्नो स्मृतिमा संग्रहित बाल्यकालको एउटा बगैँचातिर फर्किए, ‘आमाको अभाव महसुस नहोस् भनेर हजुरआमाले मलाई एकदमै प्रोटेक्सन गरेर राख्नुभएको थियो ।’ 

तेह्रथुम, इवाको एक ब्राह्मण परिवारमा अध्यक्ष ओलीको जन्म भएको हो, २००८ फागुनमा । उनी जन्मेको तीन वर्षमा उनकी आमा मधु अस्ताइन् । सानैमा आमाको न्यानो काख खोसिनुको वियोग एकातिर छँदै थियो, अर्कोतिर हजुरआमाको अथाह स्नेहमा हुर्कने संयोग ओलीले पाए । 

ओली जन्मनु अघिदेखि नै उनका बुवा घरदेखि एक–डेढ घन्टा पर कपडा पसल गरेर उतै बस्थे, साथै अस्थायी विद्यालयहरूमा पढाउँथे पनि । यता घरमा ओलीले ठुलोबुवा (बुवाको दाजु)लाई बा भन्थे । कहिलेकाहीँ मात्र घरमा आउने बुवाप्रति बालक ध्रुवको त्यति आत्मीयता उब्जिएको थिएन र नाता पनि थाहा थिएन । त्यसैले बुवाले कान समाउँदा उनले हजुरआमालाई सिकायत गरे — कान्छाले कान निमोठ्यो । 

‘मैले लुकीलुकी सिगरेट खाने गरेकै हो,’ कमरेड ओली आत्मस्वीकारोक्तिका साथ भन्छन्, ‘बुवाले पाएको सूचना सही थियो तर बुवाले जसरी पत्यार गर्नुभएन, त्यस कुराले मलाई ज्यादै ठूलो दबाब दियो । मैले त्यही क्षणबाट सिगरेट छाडेँ । त्यसपछि पाँच–सात वर्ष छाडे हुँला ।’

‘म सानो छँदा पिताजीसँग साह्रै धेरै अट्याचमेन्ट रहेन । सरदर बालबालिकाले बाबुबाट जुन निकटता, आत्मीयता र स्नेह अपेक्षा गर्छन् वा पाउँछन् त्यो मैले पिताबाट त्यति पाएको अलि होइन,’ अध्यक्ष ओली भन्छन्, ‘म सात–आठ वर्षको भएपछि व्यावसायिक कारोबारहरू छाडेर बुवा खेतीपातीमा फर्कनुभयो, अनि मात्रै म बुवासँग निकट हुन थालेँ ।’ 

२०२० सालमा अध्यक्ष ओलीको परिवार तेह्रथुमबाट झापा बसाइँ सर्‍यो । अहिले उनका ९२ वर्षीय बुवा झापामै बस्छन् । कहिलेकाहीँको भेटमा यी बाबुछोरा घर–व्यवहार लगायत विषयमा कुरा गर्छन् । अध्यक्ष ओलीको नजरमा बुवा एकदमै इमानदार र सज्जन व्यक्ति हुन् । हामीले उनलाई सोधेका थियौँ — पिताको नजरमा चाहिँ आफूलाई कस्तो पुत्र पाउनुहुन्छ ? उनले सहज रूपमा भने, ‘पिताजीले मलाई नराम्रो भन्ने सायद ठाउँ छैन ।’

kp oli

आफ्नी आमाको चेतावनीका कारण होला, त्यसपछि मोहनप्रसादले कहिल्यै ध्रुवको कान समाएनन्, न हातै उठाए, न कडा वचन नै बोले । छोराको गल्तीमा उनको सम्झाउने तरिका पनि स्नेहपूर्ण र उदाहरणीय हुन थाल्यो । 

एकपल्ट कसैले मोहनप्रसादलाई सुनाइदियो — तिम्रो छोरोले सिगरेट खान्छ, लुकीलुकी । 

एक दिन सामान्य रूपमा मोहनप्रसादले ओलीलाई भने — मैले सुनेको छु, तँ लुकीलुकी सिगरेट खान्छस् तर मैले पाएको यो जानकारी सही होइन भन्ने लाग्छ । हो भने सच्चिनू, नबिग्रनूू । यो राम्रो बाटो होइन । 

‘मैले लुकीलुकी सिगरेट खाने गरेकै हो,’ अध्यक्ष ओलीले आत्मस्वीकारोक्तिका साथ भने, ‘बुवाले पाएको सूचना सही थियो तर बुवाले जसरी पत्यार गर्नुभएन, त्यस कुराले मलाई ज्यादै ठूलो दबाब दियो । मैले त्यही क्षणबाट सिगरेट छाडेँ । त्यसपछि पाँच–सात वर्ष छाडे हुँला ।’ 

अहिले ओलीले चुरोट छाडेको निकै भइसक्यो । उनले बीचबीचमा छाड्दै जतिपटक चुरोट खाए, बुवा र हजुरआमाको नजरबाट लुकेरै खाए । 

बुवाले कुनै कुराले चित्त दुखाएको वा औधि दुःखी भएको ओलीले अहिलेसम्म चाल पाउन सकेका छैनन् । ‘मैले जसरी फ्याट्टफ्याट्ट प्रकट गर्छु, बुवा पनि बोल्नुहुन्छ टकेटिभ नै हुनुहुन्छ तर उहाँ खुसी र नाखुस भएको चाहिँ थाहा पाइनँ,’ उनी भन्छन्, ‘बुवाले चित्त दुखाएको थाहा पाउन पनि सजिलो छैन । उहाँले फ्याट्टफ्याट्ट अभिव्यक्ति दिनुहुन्न । मैले मात्र होइन, भाइबहिनीहरूले पनि बुवाले चित्त दुखाउनुहुन्छ कि भनेर आफैँ होस गर्नुपर्छ ।’ 

kp-oli-71th-birthday

२०४४ फागुनमा ओलीको अन्तर्जातीय विवाह भयो, पाटन सहरमा जन्मे–हुर्केकी राधिका शाक्यसँग । ‘फरक जातको, धन–सम्पत्ति र पेसा व्यवसाय केही नभएको, स्वास्थ्यको कुरा गर्ने हो भने भित्रैदेखि जीर्ण भएको शरीर अनि पुनः गिरफ्तार गरेर थुन्न वा मार्न सक्ने व्यक्तिसँग विवाह गर्ने आँट गर्नु पनि तत्कालका लागि ठूलो जोखिम मोल्नु नै हो जस्तो लाग्छ,’ राधिकाले आफ्नो पुस्तक ‘मेरा अनुभूति’मा लेखेकी छन्, ‘शैशवकालमा मातृवियोगले, किशोरावस्थामा अन्याय र अत्याचारविरोधी संघर्षले र जीवनका आधार समयहरू त्रासद यातनाले जर्जर बनेको एउटा कुपोषित मानिसलाई प्रेमले पोषित गरेर हुर्काउने संकल्प मैले गरेँ । मातृवात्सल्यताबाट वञ्चितीकरणमा परेको एक मेधावी मानिसलाई मेरो निस्वार्थ प्रेमको पोषणले दरिलो बनाउन सक्थ्यो ।’

छोराको अन्तर्जातीय विवाहलाई लिएर बुवा मोहनप्रसादको प्रतिक्रिया कस्तो रह्यो होला ? बिहे गर्नुअघि नै आफूले अन्तर्जातीय बिहे गर्न लागेको विषय ओलीले बुवालाई बताएका थिए । बुवाले यति मात्रै भने — समाज अलिक त्यहाँ पुगेको छ कि छैन, कस्तो छ विचार गर्नु नि आफैँले । केपीले भनेँ — समाज त्यहाँ पुग्या छ, पुर्‍याउनुपर्छ । ‘यसबाहेक बुवाले केही भन्नुभएन,’ ओली आफ्नो बिहेको प्रसंग सुनाउँछन्, ‘बिहे गरेर राधिकालाई लिएर घर गएँ । घरमा अन्तर्जातीय विवाह वा जातपातको कुनै चर्चा भएन । कुनै समस्या भएन । अरु आफन्त र कोही–कोही परका आफन्तले केही कमेन्ट गरेको सुनियो । जो हामीसँग त्यस्तो सरोकारको विषय थिएन ।’ 

मातृ स्नेहको फूल र सुगन्ध नभएको ओलीको बाल्यकालको बगैँचा पूर्ण हराभरा होइन । यद्यपि हजुरआमाको स्नेहले त्यो सधैँ सिञ्चित रह्यो, नातिलाई कहिल्यै मातृ स्नेहको अभाव महसुस हुन नदिन उनले कुनै कसर बाँकी राखिनन् । यो जीवनमा अध्यक्ष ओलीका लागि ठूलो सुखको कुरा यही हो, आमाको देहान्तपछिका ३५ वर्ष उनले हजुरआमाबाट प्रत्यक्ष वा परोक्ष प्रेम पाइरहे । 

कताकता लाग्छ, आमाको स्नेह वा आमाको स्नेहजतिकै सर्वोच्च सुख खोज्दै जाँदा ओली कम्युनिस्ट बन्न पुगेका हुन् । उत्पीडित वर्ग वा सर्वहारालाई मुक्ति दिलाउन गरिने संघर्षमा जति सुख अन्य केमा छ ? ओलीलाई यस्तै बोध भयो कि ! 

राजनीतिमा लागेर ओलीले १७ वर्षको उमेरदेखि घर छाड्न थालेका हुन् । २० वर्षको उमेर (२०२९ असोज)मा उनी ‘झापा कोअर्डिनेस केन्द्र’को दोस्रो सचिवका रूपमा चयन भएका थिए । त्यसको एक वर्षपछि (२०३० असोज २३ मा) उनी पक्राउ परे र १४ वर्ष जेल जीवन बिताउनुपर्‍यो ।

पूर्वीय दर्शनको कसीमा आदर्श पिता र पुत्र कसलाई मान्न सकिएला ? ‘आदर्श पुत्र त थुप्रै छन् । श्रवणकुमार एउटा आदर्श पुत्र मानिन्छन् । राम पनि आदर्श नै मानिन्छन् । बाबुको इच्छाले वनवास गए,’ ओली भन्छन् ।

बन्दी रहँदा पनि उनको स्मृतिमा आमाको घुर्मैलो अनुहार घुमिरहन्थ्यो । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई आमा गुमाउनुपरेकामा अत्यन्तै पीडा थियो । तीन वर्षदेखि अहिलेसम्म म आमाको (धुमिल) चेहरा सम्झिरहन्छु । तीन वर्षको उमेरमै आमा गुमाएकाले होला, आमा शब्दप्रति विशेष आत्मीयता छ, (पुस्तक : समवेत दृष्टि २, संकलक तथा सम्पादक : लोग्शरी कुँवर, सञ्जय खड्का) ।’

जेलमा रहँदा ओलीले अनेक कृति लेखे तर आस्थाका बन्दीले लेखेका नोटकपीहरू खोसिन्थ्यो । एक समय यस्तो आयो, करिब ६ महिनासम्म उनका रचना लुटपाट भएका थिएनन् । त्यो ६ महिनाको बीचमा उनले खण्डकाव्य, महाकाव्य, फुटकर रचना लेखिरहे । ‘एउटा चाहिँ १६ खण्डसम्म लेखिसकेको थिएँ, त्यो लुटियो । त्यसपछि त्यतातिर नलागौँ भन्ने भयो,’ उनी भन्छन्, ‘त्यो महाकाव्यको नाम आमा नै राख्न मन थियो ।’ 

यसो भन्न सकिन्छ — उनको ‘आमा’ महाकाव्य पूरा भएर छापिएको भए पनि त्यसमा आमाको ठाउँ हजुरआमाले लिन्थिन् सायद । 

एउटा जिज्ञासा उब्जन्छ, आफूलाई यति धेरै माया गर्ने हजुरआमाप्रति उनको स्नेह कस्तो रह्यो त ? ६–७ वर्षको उमेरदेखि उनले हजुरआमाको सेवा गर्न थालेका हुन् । हरेक साँझ मनतातो पानीले हजुरआमाको खुट्टा धोइदिनु, खुट्टामा तेल घसिदिनु अनि ती चिल्ला खुट्टा ढोगेर मात्रै सुत्नु ओलीको नित्यकर्मजस्तै थियो । राजनीतिमा लागेर जेल नपर्दासम्म बेलाबेला घरमा जाँदा उनको यो कर्म वा तालिकामा कहिल्यै तल–माथि भएन । हजुरआमाको देहान्त २०४७ सालमा भयो, जेलबाट छुटेपछि बेलाबेला घरमा जाँदा ओली हजुरआमाको सेवामा तल्लीन भइहाल्थे । ‘केबाट प्रभावित भएँ, किन मैले त्यसो गर्न सुरु गरेँ, त्यो थाहा छैन । सायद श्रवणकुमारको कथाबाट प्रभावित भएँ कि ?’ अलिकति हाँसो फुटाउँदै उनी भन्छन्, ‘अथवा अरु केहीबाट ।’

पूर्वीय दर्शनको कसीमा आदर्श पिता र पुत्र कसलाई मान्न सकिएला ? ‘आदर्श पुत्र त थुप्रै छन् । श्रवणकुमार एउटा आदर्श पुत्र मानिन्छन् । राम पनि आदर्श नै मानिन्छन् । बाबुको इच्छाले वनवास गए,’ ओली भन्छन्, ‘भीष्मपितामह अर्थात् देवव्रतले बाबुको खुसीका लागि भीष्म प्रतिज्ञा गरे, त्याग गरे, यस्ता थुप्रै दृष्टान्त पाइन्छन् ।’

आमासँग बुवाको तुलनै गर्न सकिँदैन । यद्यपि सन्तानको संरक्षणमा बाबुको विशेष हात हुन्छ,’ बोध र विवेकको तहबाट उनी भन्छन्, ‘मानसिक, शारीरिक र सामाजिक समेत पक्षमा सन्तानलाई सबल बनाउन जो भूमिका बाबुले खेल्छ, त्यो अरुले खेल्दैन ।’

कमरेड ओलीसँग हामीले कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनको सन्दर्भमा ‘बा–संवाद’का लागि भेटेका थियौँ । तथापि संवाद अलिकति आमा वा हजुरआमातिर ढल्कन पुग्यो । हाम्रो चाहना अध्यक्ष ओलीलाई रातोपाटीको विशेष स्तम्भ ‘मेरी आमा’मा पुनः निम्त्याउनु हो, हेरौँ उनको समय मिल्छ मिल्दैन ।

बुवाको बारेमा कुरा गर्ने भनेपछि अध्यक्ष ओलीले हामीलाई सुरुमै भनेका थिए — ‘मेरो बुवाको बारेमा धेरै चर्चा गर्नुपर्दैन नि ! थोरै चर्चा गरे पुग्छ ।’ सुरुमै थोरै चर्चा गर्ने भनेपछि हामीले उनलाई बुवासँग सम्बन्धित केही संवेदनात्मक प्रश्न गर्‍यौँ । घटनासहित जवाफ आओस् भन्ने हाम्रो उद्देश्य थियो ।

मान्छेले अरुका कुरा नसुने पनि आफ्नो पितापुर्खालाई सुन्छ । बुवाले ओलीलाई मनमा बस्ने गरी दिएका कुनै वचन वा आशीर्वाद छन् कि ? ‘मेरो बुवाले सामान्य आशीर्वाद — राम्रो होस् भन्नुहुन्छ, सिद्धियो,’ उनी भन्छन्, ‘कि त कहिलेकाहीँ टीका लगाइदिँदा ‘आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे’ यस्ता मन्त्रले आशीर्वाद दिनुहुन्छ ।’ 

viber_image_2023-09-13_09-24-34-261

एउटा छोराका लागि आफ्नो बुवाले खसाएका आँसु जति ठूलो ज्ञान वा बोधको स्रोत अर्को कुनै हुँदैन । अहिलेसम्म आफ्नो बुवा तीनपटक रोएको ओलीलाई सम्झना रहेछ । ‘मेरी आमाको मृत्युलाई लिएर कुनै समय बुवाले आँसु बगाएको हो कि जस्तो झल्याकझुलुक सम्झन्छु । २०१८–१९ सालतिर उहाँकी भाञ्जी हैजा लागेर बित्नुभयो, त्यस बेला उहाँ रोएको मलाई सम्झना छ,’ उनी भन्छन्, ‘अनि हजुरआमा बित्दाखेरी आँसु खसाएको सम्झना छ ।’ 

अध्यक्ष ओली अध्ययनशील हुन् । खासगरी जेलमा छँदा उनले अथाह पुस्तक पढे । एक अन्तर्वार्तामा उनले भनेका छन् : गोलघरको बाहिरपट्टिको लाइब्रेरीमा केही हजार किताब होलान् । त्यहाँ उपलब्ध भएका सबै शास्त्र पढेँ । सबै शास्त्रमा केही न केही ज्ञान हुँदो रहेछ ।

वास्तवमा धर्मशास्त्र र खगोलशास्त्रप्रति उनलाई रुचि जगाइदिने पहिलो गुरु उनका बुवा नै रहेछन् । ‘मेरो बुवा अलि भौतिकवादी हो । शास्त्र पढ्नुहुन्थ्यो, शास्त्रमा भएका अतिशयोक्तिपूर्ण कथानक, झुटा वर्णन–विवरणलाई त्यसरी नै बुझ्नु हुन्थ्यो, यो सही होइन भन्ने ढंगले,’ उनी भन्छन्, ‘बुवाबाट मैले जुन शास्त्रहरू सुनेँ, बुझेँ — गणित, ज्योतिष आदि । त्यसमा सुरुसुरुमा मैले पनि रुचि राख्थेँ ।’

अध्यक्ष ओलीको विचारमा — सन्तानका लागि पहिलो विद्यालय, पहिलो शिक्षा, सबै कुरा आमा हुन् । एउटा सन्तानले शील–स्वभाव, आनीबानी, शब्द आदि मूलतः आमाबाट सिक्छ । ‘सन्तानको पहिलो विद्यालय र पहिलो संरक्षक आमा हुन् । आमासँग बुवाको तुलनै गर्न सकिँदैन । यद्यपि सन्तानको संरक्षणमा बाबुको विशेष हात हुन्छ,’ बोध र विवेकको तहबाट उनी भन्छन्, ‘मानसिक, शारीरिक र सामाजिक समेत पक्षमा सन्तानलाई सबल बनाउन जो भूमिका बाबुले खेल्छ, त्यो अरुले खेल्दैन ।’

नेपाली समाजमा कुशे औँसीको महत्त्व के कति होला ? यस प्रश्नमा अध्यक्ष ओलीले भने, ‘हाम्रो चेतना र चेतनाले सिर्जना गरेका हाम्रा परम्पराहरू प्रकृतिसँग सम्बन्धित छन् । यी विषयमा हाम्रा पूर्वजले राम्ररी जान्न खोजे र पहिले उनीहरू प्रकृतिपूजक भए । पशुपालन हुँदै कृषि सुरु भयो । क्रमशः समाजको बहादुर र श्रेष्ठ पूर्वजलाई आदर र सम्मान गर्ने चलन सुरु गर्‍यो । यसरी देवीदेवता बने । जन्मदिने आमाबुवा त झन् बढी श्रेष्ठ भए — मातृदेवो भवः, पितृदेवो भवः अर्थात् आमा देवता हुन्, बुवा देवता हुन् । कमसे कम वर्षमा एकपल्ट भए पनि आमाको मुख हेर्ने दिन वा औँसी, बाबुको मुख हेर्ने दिन वा कुशे औँसी बनाइयो । यो श्रद्धाभाव प्रकट गर्ने र कृतज्ञता जाहेर गर्ने एउटा तरिका हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया