शनिबार, २९ मङ्सिर २०८१
ताजा लोकप्रिय

बुवा गुमाएको त्यो दिन

बिहीबार, २८ भदौ २०८०, १३ : ५४
बिहीबार, २८ भदौ २०८०

तपाईंबाट छुटेपछि बदलिएको जीवनको रङ, अनुभव र बयान गर्ने शब्द नै छैन बुवा ! त्यो त मेरो मन मस्तिष्कले प्रत्येक क्षण मापन गर्ने कुरा हो । बुवा म आज पनि तपाईंका पदचाप पछ्याएर हिँड्दैछु । समयले दिएका अनगन्ती चोट बोकेको हृदय र अनगन्ती प्रश्नको किताब यो छातीमा राखेर हिँड्दा यस्तो लाग्छ, बुवाबिना पनि आजसम्म बाँचेँ । अरूको नजरमा टुटिसकेको र ढलिसकेको भए पनि आफ्नो नजरमा मृत्युलाई होइन जीवनलाई छान्दै आएको छु । 

लाग्छ जीवनको महत्त्व आफ्नो जीवनकालमा गरेका सुकार्यले वर्णन गर्ने हो । मानिस त सबै मानिस नै हुन् । तर कसैको जीवन ढल्दा परिवार र समाजमा जमिनको सतह नै हल्लिएको महसुस हुन्छ । हो बुवा तपाईं ढल्दा साथीभाइ, छरछिमेक, आफन्त, गाउँछिमेक सबैतिर सन्नाटा छाएको थियो । जमिनमा टेक्दा भासिए जस्तो अतालिएर माथितिर हेर्दा आकाश आफैँ माथि खसेझैँ भएथ्यो । मेहनतको पसिना बगाएर बनाएको यो सुन्दर घर मलाई ठूलो राजमहलभन्दा पनि सुन्दर लाग्थ्यो । तपाईंको काखमा जीवन र तपाईंको शब्दका इसारामा मेरो दिनचल्दा स्वर्ग जस्तो भएको थियो यो घर । तर त्यहीँ घर तपाईं गुमेको रात सडकपेटी झैँ चिसो लागेको थियो ।

उपयोग गर्ने व्यक्तिका आधारमा जुनसुकै वस्तुको सुन्दरता भल्किन्छ ।  तर स्वर्गजस्तो त्यो घर पलभरमा रङ्ग, रूप उडेको खण्डहरमा परिणत भयो ।  तर पनि यसलाई प्रेम गर्न मैले छोडिनँ बुवा ! त्यहाँ तपाईंको पसिनाको सुगन्ध फैलिएको छ । तपाईंलाई गुमाइसकेपछि मैले यो जगतमा भएका कुनै पनि व्यक्ति र वस्तुलाई प्रेम गर्न सकिनँ । मैले मात्र प्रेम गरे तपाईंको सङ्घर्षलाई, व्यक्तित्वलाई, शब्दलाई अनि व्यावहारिक सूर्यको किरणभन्दा पनि सफा र चम्किला ती विचारलाई । हो, बुवा तपाईं जतिबेला मेरो साथमा हुनुहुन्थ्यो, त्यतिबेला म तपाईंलाई निकै माया गर्छु जस्तो आवश्यक लाग्थ्यो । तर जब तपाईंलाई गुमाए फर्केर हेर्दा कुनै पल मैले भेट्न सकिनँ । आफूले माया गरेको क्षण सम्झे पनि हजुरले मेरो जीवनमा खन्याएको मायाका छालबाहेक अरू भेटिनँ जुन छाल आज टाढा जाँदै थिए तरङ्ग बनेर ।

हृदयले गरेका सम्पूर्ण देवी–देवताका भाकल र बगेका भेलसरी आँशुले पनि बचाउन सकेको थिइनँ । बुवाको जीवनलाई त्यो अमूर्त प्रेम गर्ने हाम्रो पिता जसले जीवनका कुनै परिस्थितिमा पनि सन्तानलाई आफ्नो इज्जत र प्रतिष्ठाका साथ बाँच्न सिकाउनुभयो । आफ्नो खुसीका लागि बाँच्नुपर्छ भनेर हरक्षण सन्तानलाई मार्गदर्शन गराउनुभयो । कसैमाथि अन्याय, अत्याचार भए विरोध गर्नु एउटा सबल र योग्य व्यक्तिको गुण हो भनेर बुझाउनुभयो । सन्तानका अगाडि आइपरेका जस्तासुकै कठिन मोडमा पनि हाँसी–हाँसी उभिने त्यो बुवाको माया कति निश्चल, कञ्चन अनि बात्सल्यमय छ भन्ने कुरा त तिनै सन्तानहरूलाई थाहा हुन्छ, जसले त्यसलाई प्राप्त गर्ने अवसर पाएका छन् ।

कसैले आफूमाथि गरेको दुव्र्यवहार, झुटो आरोप र बीच–बीचमा आइपरेका सानातिना ठेसको चोटमा लगाउने एउटै औषधी थियो बुवाको माया । बुवाको मायाको अगाडि हामीलाई दुनिया सानो लाग्थ्यो, जहाँ हाम्रो बुवा त्यहीँ हाम्रो संसार । आज पनि बुवा जहाँ हुनुहुन्छ त्यहाँ पक्कै पनि माया र खुसी बाँडेर सबैलाई हसाउँदै आफू पनि मुस्कुराएर बस्नुभएको छ । बुवा तपाईंलाई गुमाएको पाँच वर्ष पुग्नै लाग्दा धेरै आफन्तसमेत गुमाएका छौँ हामीले । हो बुवा ! तपाईंले देखेको त्यो सुन्दर संसार तपाईंपछि एकाएक भत्किएको छ ।

संसारमा सबैभन्दा बढी विश्वास गर्ने व्यक्ति नै आफ्नो बुवा हो, उहाँको पेट दस दिनकै भोको किन नहोस् तर उहाँले आजसम्म आफ्नो इमान बेचेर क्षणिक खुसी हुने दुष्प्रयास कहिल्यै गर्नुभएन । मलाई मेरो जीवनको अन्तिम क्षणसम्म आफ्नो जीवनदाताको कथा कोर्न मन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मानबहादुर विश्वकर्मा
मानबहादुर विश्वकर्मा
लेखकबाट थप