आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
अस्ताए राजनीति हस्ती

सुवाससहित मनमोहन मन्त्रिपरिषद्का ६ जनाको अवसान

बिहीबार, २८ भदौ २०८०, १८ : ०५
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । सुवासचन्द्र नेम्वाङसहित मनमोहन अधिकारी नेतृत्वको मन्त्रिमण्डलका ६ जना सदस्यको निधन भएको छ । नेपालको पहिलो जननिर्वाचित कम्युनिस्ट सरकारको रूपमा अधिकारी सरकार लोकप्रिय मानिन्छ ।  

२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि मंसिर १४ मा सबैभन्दा ठुलो दल नेकपा एमालेको तर्फबाट तत्कालीन अध्यक्षसमेत रहेका अधिकारी अल्पमतको सरकारको‎ प्रधानमन्त्री बनेका थिए ।

१५ सदस्यीय मन्त्रिपरिषदमा अधिकारी प्रधानमन्त्री तथा राजदरबारसम्बन्धी मन्त्री थिए । मन्त्रिपरिषद् सदस्यहरूमा माधवकुमार नेपाल, केपी शर्मा ओली, चन्द्रप्रकाश मैनाली, भरतमोहन अधिकारी, राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रित, पद्मरत्न तुलाधर र प्रदीप नेपाल मन्त्री थिए । 

यसैगरी, नेम्वाङसहित, प्रेमसिंह धामी, अशोकुमार राई, शलिममियाँ अन्सारी, भीमबहादुर रावल र हरिप्रसाद पाण्डे राज्यमन्त्री भएका थिए ।

जसमध्ये प्रधानमन्त्री अधिकारीको २०५६ वैशाख १३ गते निधन भइसकेको छ । यस्तै भरतमोहन अर्थमन्त्री थिए । उनको २०७५ फागुनमा निधन भएको थियो । श्रम र स्वास्थ्यमन्त्री रहेका तुलाधरको २०७५ कात्तिकमा निधन भइसकेको छ ।

यस्तै, नेम्वाङ अधिकारी सरकारका कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासनराज्यमन्त्री थिए । उनको मंगलबार बिहान हृदयघातबाट निधन भयो । 

वन तथा भू–संरक्षणराज्यमन्त्री रहेका अन्सारीको २०७२ मा निधन भइसकेको छ । धामी आवास तथा भौतिक योजना राज्यमन्त्री थिए । उनको २०५४ भदौमा सडक दुर्घटनामा निधन भएको थियो ।

तत्कालीन महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री तथा रक्षा र परराष्ट्रमन्त्री थिए । २०७८ भदौ २ गते एमाले विभाजन भएपछि नेपाल अहिले एकीकृत समाजवादीका अध्यक्ष छन् । उनी २०६६ मा प्रधानमन्त्री भए । 

गृहमन्त्री केपी ओली अहिले एमालेको अध्यक्ष छन् । ओली २०७३, २०७४ र २०७८ मा तीन पटक प्रधानमन्त्री भए । अर्का चर्चित नेता चन्द्रप्रकाश मैनाली स्थानीय विकास र आपूर्तिमन्त्री थिए । उनी २०५४ मा एमाले विभाजनसँगै मालेमा गए । अहिले उनी मालेको महासचिव छन् ।

राधाकृष्ण मैनाली कृषि भूमि सुधार तथा व्यवस्थामन्त्री थिए । उनी एमाले, राजावादी, माओवादी हुँदै अहिले राजनीतिमा निष्क्रिय छन् ।

साहित्यकारसमेत रहेका मोदनाथ प्रश्रित अधिकारी सरकारमा शिक्षा, संस्कृति तथा समाज कल्याणमन्त्री थिए । 

त्यस्तै, सूचना तथा सञ्चारमन्त्री रहेका प्रदीप नेपाल अहिले सक्रिय राजनीतिमा छैनन् । 

अशोक राई निर्माण तथा यातायात राज्यमन्त्री थिए । अहिले जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका उनी सरकारका शिक्षामन्त्री छन् । 

भीम रावल वाणिज्य र पर्यटन तथा नागरिक उड्ड्यन राज्यमन्त्री थिए । उनी पछि उप्रधानमन्त्री, गृह र रक्षामन्त्रीसमेत भए । ९ औं महाधिवेशनमा उपाध्यक्ष जितेका थिए । १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग पराजित भएका उनी अहिले एमालेमा कुनै पदमा छैनन् । 

हरिप्रसाद पाण्डे उद्योग र जलस्रोत राज्यमन्त्री थिए । उनी अहिले राजनीतिमा सक्रिय छैनन् । 

मनमोहन अधिकारी नेतृत्वको मन्त्रिमण्डल ९ महिना चलेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप