शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
चाडपर्व

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज अट्वारी पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

किन र कसरी मनाइन्छ अट्वारी पर्व ?
आइतबार, ३१ भदौ २०८०, ०७ : २६
आइतबार, ३१ भदौ २०८०

धनगढी । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लामा आज अट्वारी पर्व मनाइँदै छ । यो पर्वको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिइएको छ । आदिवासी थारु समुदायले मनाउन अट्वारी पर्वको अवसरमा ती प्रदेशहरूमा सार्वजनिक बिदा दिइएको हो ।

अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका छन् ।  थारु बस्तीमा यो पर्वको उल्लास बढेको छ । 

अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ । 

ऐतिहासिक पक्ष

थारु समुदायमा रहँदै आएको प्रचलित किम्वदन्ती अनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेका थिए । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रही आएको हो । 

atwaei2

अर्को किंवदन्ती अनुसार एक समयमा द्रोपतिसहित पाँच पाण्डवहरू सुर्खेतको काँक्रेविहार घुम्न पुगेका थिए । थारु राजा दंगीशरण र पाँच पाण्डवबीच निकै घनिष्टता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । बलवान र पराक्रमी भीमले टावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरिका मानिसहरू टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग पश्चात् फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरू बताउँछन् । 

मनाउने विधि र अग्रसनको महत्त्व

समान्यतयाः अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात ओजर्या (पूर्णिमा) मा पर्दछ । त्यो भनेको कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार हुन आउँछ । आइतबार भन्दा अघिल्लो राति (शनिबार) दर खाने र आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ । त्यसपछि, सोमबार विहान्नै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ । बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ । छुट्याएको भाग चेलीबेटीहरूलाई अग्रासन (कोसेली) स्वरूप दिनको लागि राखिन्छ भने एक भाग व्रतालुहरूले उपभोग गर्नुपर्छ । जसलाई फरहार भन्ने गरिन्छ । विधिपूर्वक सोमबार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहण पश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ ।

उता विवाहित चेलीबेटीहरू माइती घरको अग्रसनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरू माइती घरबाट दाजुभाइले दिन जाने अग्रसनले नै आफ्नो भोक मेट्ने गर्दछन् । विभिन्न परिकारको पोकोसहित अग्रसन दिन जाने दाजुभाइ दिदीबहिनीलाई विवाहित चेलीहरू मानसम्मान गर्ने उत्तिकै चलन थारु समुदायमा रहेको छ । जसले गर्दा थारु समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरेको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप