आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

हर्कराज राईको बयान : रेडी ट्रेड लगायतका नाममा करिब १ सय पटक सामान आएको छ

डमी कम्पनी स्थापना गर्न कागजात दिनेलाई २ लाखसम्म दिइयो
आइतबार, ३१ भदौ २०८०, १८ : १७
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका हर्कराज राईले रेडी ट्रेड प्रालिको नाममा करिब १ सय पटक सामान आयात भएको बयान दिएका छन् । दोलखाका दिलीप भुजेलको नाममा स्थापना गरिएको कम्पनीबाट तस्कर समूहले करिब १ सय पटक सामान मगाएको पाइएको हो । 

रातोपाटीलाई प्राप्त हर्कराज राईको बयानमा कम्पनी स्थापना गरिएका दिलीप भुजेललाई विदेशबाट कस्तो सामान आयो भन्ने विषयमा केही थाहा नभएको तर उनकै नाममा रहेको कम्पनीबाट करिब १ सय पटक सामान आएको बयान दिएका हुन् । 

अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयानमा हर्कले रेडी ट्रेड प्रालि लगायतका डमी कम्पनीको नाममा विदेशबाट ब्रेक प्याड, सेभर, अटो पार्टस, ईलोक्ट्रोनिक्स सामान लगायतका मालबस्तु पैठारी भई आएको र ती सामानहरू आफूले भन्सार कार्यालयबाट बुझी लाजिम्पाटमा रहेको गोदाममा पुराइदिने गरेको बयान दिएका छन् । 

अधिकारप्राप्त अधिकारीले हर्कसँग सोधेको सवालमा हर्कले यस्तो जवाफ दिएका छन् । 

सवाल:

तपाई लगायत पक्राउ परेका प्रतिवादीहरूसँग कुन–कुन भन्सार एजेन्टसँग चिनजान र सम्बन्ध रहेको छ ? तपाई लगायतका प्रतिवादीहरू मिली सङ्गठित भई अवैध सुन पैठारी गर्ने प्रपञ्च मिलाई के कुन भन्सार एजेन्टसँग समेत सहकार्य गरी के कति पटक तपाईँहरूले अवैध सुन पैठारी गर्ने उद्देश्य राखी दर्ता गर्नु भएको रेडी ट्रेड प्रालि लगायतका कम्पनीहरूको नामबाट के कस्ता मालबस्तु कति परिमाणमा कति पटक आएका छन् ? खुलाई लेखाई दिनुहोस् ।

जवाफ:

पक्राउ परेका यादब पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बालाई मैले चिन्दिनँ । पक्राउ परेपछि मात्रै चिनेको हो । मैले जति पनि मालबस्तु भन्सार कार्यालयबाट राजेन्द्र कुमार राईमार्फत छुटाएको हुँ । हालसम्म अन्दाजी १ सय पटक भन्दा बढी म संलग्न रहेका रेडी ट्रेड प्रालि लगायतका कम्पनीको नाममा ब्रेक प्याड, सेभर, अटो पार्टस, इलेक्ट्रोनिक्स सामान लगायतका मालबस्तु पैठारी भई आएका छन् ।

२ लाखसम्म तिरेर डमी कम्पनी स्थापना, हरेक कम्पनी दर्तामा खान्थे १० हजार कमिसन

हाल सीआईबीको नियन्त्रणमा रहेका हर्कराज राईले डमी कम्पनी स्थापना गर्नका लागि मान्छे खोज्दा प्रत्येक कम्पनी दर्ताका लागि १० हजार रुपैयाँ कमिसन लिने गरेको खुलेको छ । अधिकारप्राप्त अधिकारीसमक्ष बयान दिने क्रममा प्रतिवादी हर्कराज राईले डमी कम्पनी स्थापना गर्न २ लाख रुपैयाँसम्म तिरेको र प्रत्येक कम्पनी दर्ता गर्ने प्रक्रियामा आफूले १० हजार रुपैयाँ कमिसन खाएको बयान दिएका छन् । 

अधिकारप्राप्त अधिकारीले अनुसन्धान क्रममा हर्कराज राईसँग कम्पनीहरू कसरी स्थापना भयो,उनीहरूसँग तपाइको सम्पर्क कसरी भयो भनी सोधेको थियो त्यसको जवाफमा राईले आफूले कमिसन खाएर कम्पनी स्थापनाका लागि सहजीकरण गरिदिएको र जसको नाममा कम्पनी स्थापना गर्ने हो, उनीहरूले २ लाख रुपैयाँसम्म रकम बुझेको बयान दिएका छन् । 

अनुसन्धान अधिकारीले अवैध सुन तस्करी गर्न कुन कुन कम्पनी कसरी स्थापना भयो र त्यसबापत क–कसले कति कति रकम पाए भनेर सोधेको थियो । त्यसको सवालजवाफ यस्तो छ । 

सवाल:

अवैध सुन पैठारी गर्ने उद्देश्य राखी तपाई हर्कराज राई समेतका प्रतिवादीले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरी प्रयोगमा ल्याएका तपसिलका संस्थाहरू खोल्न तपाईँको के कस्तो भूमिका रहेको छ ? उक्त संस्थाहरू के कुन मितिमा दर्ता भएका कम्पनीहरू हुन ? उल्लेखित कम्पनीका सञ्चालकहरूलाई के कुन प्रतिवादीहरूसँग को कसले चिनाई सम्पर्कमा ल्याई प्रलोभनमा पारी के कति रकम दिई कम्पनीका सञ्चालकहरूलाई कसरी विश्वास दिलाई के काम गर्न भनी खोलिएका कम्पनीहरू हुन ? उक्त कम्पनीहरूका सञ्चालकहरू को को हुन र निजहरूको अवैध सुन पैठारी गर्ने कार्यमा के कस्तो भूमिका तथा संलग्नता रहेको छ ? तपाईँले उक्त संस्थाहरू खोल्न सहयोग गरे बापत के कति आर्थिक लाभ प्राप्त गर्नु भएको छ ? खुलाई लेखाई दिनुहोस् ।

जवाफ:

उल्लेखित कम्पनीहरू म र टाँसी भन्ने थुप्तिन छिरिङसमेत भई पक्राउ प्रतिवादी चाइनिज नागरिकहरूले विदेशबाट इलेक्ट्रोनिक्स लगायतका मालबस्तु आयात गरी बिक्री वितरण लगायत व्यापार गर्नको लागि खोलिएका कम्पनीहरू हुन । उल्लेखित मध्ये सबै भन्दा पहिला २०७८ सालको चैत्र महिनाको आसपासमा कम्पनी दर्ता गर्न नेपाली नागरिकता भएको मानिसहरू चाहिएको छ, बरु जसको नाममा कम्पनी खोल्न तयार हुन्छ उसलाई कति पैसा चाहिन्छ दिउँला भनी टासी भन्ने थुप्तिन छिरिङले भनेपछि मैले हुन्छ मानिस खोजिदिन्छु भनी मैले मेरो गाउँ, भोजपुर जिल्ला, अरुण गाउँपालिका ४ चरम्दीगाँउ बस्ने अन्दाजी वर्ष ५४ को लेखनाथ कार्की डोली (दमाई) सँग कुरा गरी निजले २ लाख दिए म कम्पनी खोल्न राजी छु भनेपछि कुरा गरी मैले निजलाई सहमत गराई निज लेखनाथ कार्की डोली (दमाई)को नाममा पहिलो कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा निज लेखनाथ कार्की डोली (दमाई)को नाममा दर्ता गरी छुंगक इलेक्ट्रिक सप्लायर्स प्रालि, बुढानीलकण्ठ–६, काठमाडौँ दर्ता गरी कम्पनीको कागजात थुप्तिन छिरिङले लिएका हुन् । 

त्यसपछि २०७९ आषाढ महिनामा पछि थुप्तिन छिरिङको साथी राम कुमार भुजेललाई निज थुप्तिन छिरिङले नै खोजी रु. १ लाख ५० हजार दिने गरी कुरा मिलाई मैले सम्पूर्ण कागजात मिलाई कम्पनी रजिस्ट्रारको कार्यालयमा म र थुप्तिन छिरिङ भई लिई गई निजलाई कागजातमा सही छाप समेत गराई निज राम कुमार भुजेल सञ्चालक रहने गरी भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि दर्ता गरेको हो । 

वि.सं. २०७९ श्रावणको मध्यतिर थुप्तिन छिरिङले सम्पर्कमा ल्याई निज थुप्तिन छिरिङले नै के कति पैसा दिई मनाई मैले कम्पनी दर्ता गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा पक्राउ प्रतिवादी राम कुमार भुजेलका दाई कुमार भुजेल लाई लिई गई लेखापढी गर्ने उदयपुर साउने –९ घर बताउने फोन नम्बर ९८१३६४९*** र ९८६५४९*** भएका भीम मगर लाई भेटाई सम्पूर्ण कागजात तयार गरी कुमार भुजेलको नाममा ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रालि दर्ता गरेको हो । थुप्तिन छिरिङले राम कुमार भुजेलसँग कुरा गरी कम्पनी खोल्ने मानिस खोज भनी भनेपछि निज राम कुमार भुजेलले सिफारिस गरी पठाएका बहिनी ज्वाई नाता पर्ने राम बहादुर भुजेललाई थुप्तिन छिरिङले कुरा गरी पैसा दिएका तर कति पैसा दिए मलाई थाहा भएन । त्यसपछि मैले त्रिपुरेश्वरमा निज राम बहादुर भुजेललाई भेटी लेखापढी गर्ने भीम मगरकोमा लगी कागजी प्रक्रिया पुर्याइ कम्पनी रजिस्ट्रारको कार्यालयमा पवटी इलेक्ट्रिक सप्लायर्स प्रालि नामको कम्पनी दर्ता गरी त्यसको कम्पनी दर्ता प्रमाण पत्र निज थुप्तिन छिरिङलाई लगी दिएको हुँ । त्यसपछि राम बहादुर भुजेलले अरू कम्पनी खोल्न परेमा मलाई सिधै भन्नु भनेपछि मैले थुप्तिन छिरिङसँग कुरा गरे पछि मानिस बोलाऊ भनी थुप्तिन छिरिङले भनेपछि मैले रामबहादुर भुजेलसँग कुरा गरी निज रामबहादुर भुजेलले आफ्नै सहोदर भाइ बिकुन्द्र भुजेललाई लिई मलाई भेट्ने गरी ५–६ महिना अघि आएकोमा मैले थुप्तिन छिरिङसँग १ लाख ५० हजार रुपैयाँ लिई निज राम बहादुर भुजेललाई रु. १ लाख ४० हजार दिई बिकुन्द्र भुजेललाई कम्पनी रजिस्ट्रारको कार्यालयमा लगी लेखापढी व्यवसायी भीम मगरलाई भेटाई सम्पूर्ण कागजात तयार गरी बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि दर्ता गरेको हो । 

त्यसपछि बि.स. २०७९ को चैत्र वा २०८० वैशाख महिनामा हो, पुनः आफ्नै छोरा दिलीप भुजेललाई लिई आई मलाई भेटी कुरा गरी थुप्तिन छिरिङसँग रु. १ लाख ५० हजार लिई निज राम बहादुर भुजेललाई रु. १ लाख ४० हजार दिई निजको छोरा दिलीप भुजेललाई कम्पनी रजिस्ट्रारको  कार्यालयमा लगी लेखापढी व्यवसायी भीम मगरलाई भेटाई सम्पूर्ण कागजात तयार गरी निज दिलीप भुजेलको नाममा रेडी ट्रेड प्रालि दर्ता गरी कम्पनी दर्ताको प्रमाण पत्र निज प्रतिवादी थुप्तिन छिरिङलाई लगी दिएको हुँ । 

२०८० वैशाख–जेठतिर जिल्ला भोजपुर, षडानन्द नगरपालिका –१० तिर घर भएकी गाउँ नजिक भएकोले चिनजानमा रहेकी सरिता तामाङलाई मैले सम्झाई थुप्तिन छिरिङसँग रु. १ लाख ६० हजार लिई निज सरिता तामाङलाई रु. १ लाख ५० हजार दिई वाणिज्य विभागमा लेखापढी गर्ने पशुपति पोखरेलको सहयोगमा  निज सरिता तामाङको नाममा सरिता इलेक्ट्रिक सप्लायर्स प्रालि दर्ता गरी सो कम्पनीको प्रमाण पत्र थुप्तिन छिरिङलाई दिएको हुँ । 

छुंगक इलेक्ट्रिक सप्लायर्स प्रालि, भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रालि, पवटी इलेक्ट्रिक सप्लायर्स प्रालि, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि, रेडी ट्रेड प्रालि र सरिता इलेक्ट्रिक सप्लायर्स प्रालिका सञ्श्चालकहरूको विदेशबाट अवैध रूपमा मालबस्तु पैठारी गर्ने कार्यमा कुनै भूमिका छैन । उक्त सुन समेत राखी अवैध रूपमा मालबस्तु पैठारी गर्न, मालबस्तुको भन्सार जाँचपास लगायतका खर्च मलाई निज टासी भन्ने थुप्तिन छिरिङले नै दिने गरेका थिए । उल्लेखित कम्पनीहरू दर्ता गर्दा प्रत्येक कम्पनीमा मैले दश–दश हजार कमिसन खाएको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप