बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
तीज गीत

तीजका गीत : विगतको भन्दा सङ्ख्यामा कमी, गीतमा ‘भेराइटी’

सर्जकको चिन्ता – मौलिकता हरायो, संस्कृति मासिने भयो
सोमबार, ०१ असोज २०८०, १० : ३१
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । केही समय अगाडि गायक प्रकाश सपुतको तीज गीत ‘जाले रुमाल फाट्यो’ विवादित बन्यो । गीतको भिडियोमा रहेको गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्का बीचको केही संवादका कारण गीत विवादमा परेको थियो । विवाद बढ्दै जाँदा सपुतले गीतको उक्त भद्दा संवाद हटाएर विवाद मत्थर बनाए ।

तीज गीतको रूपमा सपुतले ल्याएको यो दुई वर्षअघि अघिको ‘कुरा बुझ्न पर्च’ तीज गीतको दोस्रो भर्सन थियो । गायक सपुतको शब्द÷सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीको स्वर छ ।

गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपुतको अभिनय छ । महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश गीतले दिन खोजेको गायक सपुतले बताए ।

...

गायिका विष्णु माझीको गीत विना धेरैलाई तीज खल्लो लाग्न सक्छ । विष्णुले पनि यो पटक तीज गीत ‘बलमा’ ल्याएकी छन् । गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।

‘पुतलीको भट्टी–१९’ अन्तर्गत आएको गीतको भिडियोमा मोडल बिनु सुवेदी फिचर्ड छिन् । गीतमा महिला हिंसाविरुद्धको सन्देश छ ।

त्यस्तै, गायिका भूमिका गिरी र सुनिता बुढा क्षेत्रीले युगल स्वरमा तीज गीत ‘उजेली जुनेली’ ल्याएका छन् । नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत रहेको गीतका संगीत संयोजक सुदीप सागर हुन् । गीतमा उजेली र जुनेली दुई पात्रको निर्माण गरेर नेपाली समाजको वास्तविकता र यथार्थलाई  उजागर गर्ने प्रयत्न गरिएको छ ।

गीतको भिडियोमा गायिका भूमिकासँगै पूजन घिमिरे र दीप सागरको अलावा थुप्रै कोरस प्रयोग गरिएको छ ।

अभिनेत्री गौरी मल्लले पनि तीज गीत ‘धिन ताका नाका धिन’ ल्याएकी छन् । यसै गीतमार्फत् गौरी १० वर्षपछि गायनमा फर्किएकी हुन् । गीतमा स्वर, शब्द र संगीत समेत उनकै छ । भिडियोमा गौरीसँगै अभिनेत्री मिथिला शर्मा र थुप्रै कोरसको अभिनय देख्न सकिन्छ ।

हरेक वर्षको तीजमा गायक दुर्गेश थापा केही न केही ल्याउन गरेका छन् । यो वर्ष उनले छैटौँ शृङ्खलाको रूपमा गीत ‘दुर्गा नाच्छे बीच्च बीच्चमा’ ल्याएका छन् । 

गीतको भिडियोमा दुर्गेश आफै तेस्रोलिंगीको रूपमा प्रस्तुत भएर उफ्री उफ्री नाचेका छन् । गीतमा शब्द तथा सङ्गीत दुर्गेशकै छ भने स्वरमा उनलाई सुमित्रा कोइरालाले साथ दिएकी छन् ।

उता, गायिका जुना श्रीषको ‘माइतीघरको’, सीता दुलालको ‘बर्खाको बाटो’, रचना रिमालको ‘यो साल नि परदेशमै तीज’, वसन्त योगीको ‘कल्ले खायो दर’, शान्तिश्री परियारको ‘परदेशीको तीज’, सहिमा श्रेष्ठको ‘पाउजु बजाउँदै’, पूजन काफ्लेको ‘ए आमा गाउँदै नाच्ने हो’, कस्तुप पन्तको ‘मन्दिरमा गजुर’ लगायत थुप्रै गायक गायिकाको तीज गीत बजारमा आएको छ ।

कस्ता कस्ता गीत ?

तीज आउन करिब दुई महिना अगाडिदेखि बजारमा तीजका गीत भित्रिन थालेका थिए । दुईदेखि आधा दर्जनसम्मका गीत प्रत्येक दिन बजारमा भित्रिएको देखिन्छ । तीजको अवसर पारेर बजारमा ल्याइएका गीत सबै एकैखाले छैन, विभिन्न प्रकार र शैलीका छन् ।

कतिपय गायक गायिकाले माइती र चेलीबीचको सम्बन्ध, कतिले सासु बुहारीबीचको दुरी र केहीले श्रीमान्को पिडा बुनेका छन् । केहीका भने गीतमा साथी साथीको कथा छ । केही गीतमा सांस्कृतिक पाटोसमेत रहेकोले समग्रमा भन्नुपर्दा तीज गीतमा ‘भेराइटी’ भित्रिएको छ । 

छमछम नचाउने, हँसाउनेदेखि रुवाउनेसम्म सबै प्रकारका छन् तीज गीत । केही गीत त यस्ता गीत ल्याउनु भन्दा नल्याएको भए हुन्थ्यो भनेर पब्लिकले भन्ने खालको पनि छन् ।

लोकगायक नविन पौडेल यस वर्षको तीज गीतमा माया प्रेम, सुख, दुःख, गुनासो, कलासंस्कृतिको अलावा विकासका कुरासमेत अटाएको आफूले पाएको बताउँछन् । उनी यो वर्ष विगतको तु्लनामा धेरै भेराइटीका गीत आएको दाबी गर्छन् ।

‘अघिल्लो वर्षका तुलना यो वर्ष गीतमा धेरै भेराइटी छ’, पौडेलले भने, ‘कतिपय राम्रा छन् । केही नराम्रा पनि आए ।’ गीतमा नारीका पिडा, सन्देश र मौलिकताको कमी भएको उनको धारणा छ ।’ 

‘केही गीतमा समसामयिक राजनीति र घटना क्रमका छन्,’ पौडेलले थपे ।

गायक पौडेलको विचारसँग लोकगायक कस्तुप पन्त पनि सहमत छन् । उनले पनि गीतमा विभिन्न भेराइटी भित्रिएको अनुभव गरेका छन् ।

‘गीतमा माया प्रेम, पिडा, सन्देश त सदाबहार कन्टेन्ट भयो ’, पन्तले भने, ‘अहिले नचाहिदो बिषयबस्तु पनि समेट्न थालिएको छ ।’ गीतमा भेराइटी आएपनि काम लाग्ने धेरै नभएको पन्त सुनाउँछन् ।

यो वर्ष सङ्ख्यामा कमी

तीजमा हिट, फ्लप, नयाँ पुराना प्रायः सबै प्रकारका गायकले गीत ल्याउँछन् । अन्य समय हराएका गायक गायिका पनि तीजमा झुल्किने गर्छन् । वर्षभरिमा भित्रिने नयाँ गीतसंगीतको कुरा गर्ने हो सबैभन्दा बढी गीत तीजमै भित्रिएको विगतको तथ्याङ्कले देखाउँछ ।

विगतको वर्षको तुलनामा यो वर्ष भने भित्रिने गीतको सङ्ख्यामा कमी देखिएको छ । आर्थिक मन्दी, कलाकारको विदेश कार्यक्रमको व्यस्तता लगायतले नयाँ गीतको सङ्ख्यामा कमी भएको गायिका ज्योति मगर बताउँछिन् ।

पहिले पहिले तीजमा आधा दर्जन बढी गीत गाउने र बनाउने मगरले यसपटक एक आफ्नो र एक बाहिरको गरेर दुई गीत मात्रै गाएकी छन् । आफ्नो मात्र हैन, समग्रमा गीतको सङ्ख्यामा कमी हुनुमा आर्थिक मन्दी भएको मगरको जिकिर छ । 

पशुपति म्युजिक प्रालिका प्रोपाइटर शिव पौडेल तीजमा हरेक वर्षजसो आफ्नो एक र अन्य गायक गायिकाको गरी १२ बढी गीत ल्याउँथे पशुपति म्युजिकबाट । 

‘यो वर्ष नआउनुको प्रमुख कारण आर्थिक मन्दी हो,’ शिवले भने । 

गायिका राधिका हमाल कलाकार देश विदेशका कार्यक्रममा व्यस्त भएकोले गीतको सङ्ख्यामा  कमी आएको बताउँछिन् ।

विगत ५ वर्ष यता हेर्दा तीजको गीत कोरोना कहरमा बढी र अहिले कम भएको संगीतकर्मीहरु बताउँछन् ।

‘कोरोनाको समय स्वदेश होस् वा विदेशका स्टेज कार्यक्रममा सधैँ व्यस्त रहने गायक गायिका घरमै थुनिएको कारण गीत धेरै बने’, हमाल थप्छिन्, ‘अहिले भने देश विदेशको कार्यक्रममा व्यस्तताले गीत कम भयो ।’

तीज गीतमा हराउँदै मौलिकता

तीज गीतका नाममा अश्लील, भद्दा, उत्ताउला र अपाच्य शब्दले भरिएका गीतसमेत बजारमा भित्रिँदै आएका छन् । यो वर्ष पनि त्यस्ता गीतसंगीत झनै बढेको देखियो ।

गीतमा मौलिक संस्कृति हरायो, छाडा र उत्ताउला शब्दले प्राथमिकता पायो भनेर आलोचना भइरहेको छ । कतिपय त अहिलेका गीतसंगीतले संस्कृति र परम्परा मास्ने खतरा रहेको बताउँछन् लोकगायक कस्तुप पन्त ।

दिन प्रतिदिन तीज गीतमा भित्रिएको उत्ताउलो र जथाभाबी शैलीले परम्परा हराउने डर भएको चिन्ता छ पन्तलाई । ‘अहिले तीज गीतमा वास्तविक मौलिक परम्परा समेटिएको छैन, जथाभाबी बनेका छन्’, पन्तले थपे, ‘हाम्रो कलासंस्कृति कता जाँदैछ भन्ने आफै अलमलमा छौ ।’ गीतको शब्द कोर्ने सर्जक भएकाले यो जोगाउन पहिले सर्जक जाग्नुपर्ने उनको धारणा छ ।

सर्जकबारे गायक पन्तको विचारजस्तै धारणा वरिष्ठ लोकगायिका शर्मिला गुरुङको पनि । उनमा पनि गीतमा मौलिकता हराउँदै गएकोमा धेरै चिन्ता छ ।

‘पछिल्लो समय मौलिक गीत आएको छैन । वर्षैपिच्छे तीज गीतले मौलिकता बिर्सिएर भड्किलो शैली अँगाल्दैछ’, गुरुङले भनिन् । गीत भड्किलो हुँदै जाँदा मौलिकता र तीज संस्कृति नेपालीले बिर्सने पो हो कि भनेर चिन्ता लागेको उनी सुनाउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप