आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

पुरानो मोबाइल लुकाएर सीआईबी पुगेका थिए राहुल महरा र दीपेश पुन

झलकराम र भीमकान्तले पनि लुकाए पुरानो मोबाइल
सोमबार, ०१ असोज २०८०, १४ : ०१
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । ६० किलो सुन तस्करी र भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा आरोपित रहेका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले प्रहरी अनुसन्धानलाई असहयोग गरेको पाइएको छ । भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरण र विमानस्थलबाट तस्करी भई आएको ६० किलो सुन तस्करी प्रकरणमा माओवादी नेताका पुत्रद्वय महरा र पुनमाथि पनि प्रश्न उठेको थियो । 

९ किलो सुन प्रकरणमा बयानसम्म नलिएको भनेर कृष्णबहादुर महरा र राहुल महराको विषयमा संसद्मै प्रश्न उठेपछि राहुल महरा सीआईबीमा आत्मसमर्पण गरेका थिए । महराले सामाजिक सञ्जालमार्फत ‘अनुसन्धानलाई सहयोग गर्न आफैँ उपस्थित हुन लागेको’ बताएका थिए । महरा सीआईबीमा पुगे लगत्तै उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको थियो । 

प्रहरी स्रोतका अनुसार सीआईबीको नियन्त्रणमा रहेका राहुल महराले अनुसन्धानलाई सहयोग गर्न भन्दा पनि क्लिन चिट लिने उद्देश्यले मात्रै आत्मसमर्पण गरेको देखिएको छ । प्रहरी स्रोतले भन्यो, ‘आफ्नो कुनै गल्ती नभए सुरुमै आफ्नो बारेमा स्पष्ट पार्न अनुसन्धान भइरहेको निकायमा आउन सकिन्छ । तर आफ्ना विरुद्ध प्रमाण लाग्न सक्ने सबै प्रमाण नष्ट गरेर प्रहरी कार्यालय गइन्छ भने त्यो अनुसन्धानमा सहयोग गर्न नभएर क्लिनचिट लिन मात्रै हुन्छ । राहुलको हकमा त्यस्तै देखिएको छ ।’

उच्च प्रहरी स्रोतका अनुसार राहुलले सीआईबीमा आत्मसमर्पण गर्दा पुरानो मोबाइल लुकाएर नयाँ मोबाइल लिएर गएका छन् । प्रहरीलाई आफ्नो भनी बुझाएको राहुलको मोबाइल उनी सीआईबीमा उपस्थित हुनुभन्दा १० दिन अगाडि मात्रै प्रयोगमा ल्याएको पाइएको छ । 

स्रोतले भन्यो, ‘उनले अनुसन्धानलाई सहयोग गर्ने भए किन आफूले चलाइरहेको मोबाइल नल्याई नयाँ मोबाइल ल्याउँथे ? पुरानो मोबाइलको ल्याब परीक्षणमा प्रमाण भेटिन सक्थ्यो । तर उनले पहिले चलाइरहेको आईएमईआई नम्बरको मोबाइल ल्याएनन् । यही मोबाइल हो भन्दै आत्मसमर्पण गर्नुभन्दा १० दिन पहिले किनेको मोबाइल ल्याएर दिएका छन् । यसको अर्थ अनुसन्धानलाई सहयोग गर्न होइन, क्लिनचिट लिन मात्रै उपस्थित भएको स्पष्ट हुन्छ ।’

दीपेश पुनले पनि १० दिन पहिलेबाट मात्रै चलाएका थिए मोबाइल

माओवादी नेता कृष्ण बहादुर महराका छोरा राहुल महरा मात्रै होइन, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले पनि क्लिनचिट लिने प्रयोजनका लागि मात्रै सीआईबीमा उपस्थित भएर बयान कागज गरेको पाइएको छ । प्रहरी स्रोतका अनुसार दीपेश पुनले पनि सीआईबीमा उपस्थित हुनुभन्दा १० दिनजति पहिलेबाट मात्रै चलाएको मोबाइल लिएर परीक्षणका लागि दिएका थिए । 

स्रोतले रातोपाटीसँग भन्यो, ‘दिपेशको हकमा पनि उनले पहिले चलाएको मोबाइल ल्याएका छैनन् । प्रमाणहरू सबै नष्ट गरेर वा लुकाएर केही दिनअघि मात्रै चलाएको मोबाइल ल्याएर परीक्षणमा दिएका छन् । उनले पहिले चलाएको मोबाइलको आईएमइआई नम्बर र अहिले ल्याएको मोबाइलको आईएमईआई नम्बर फरक छ । अहिले ल्याएको मोबाइल केही दिन पहिले मात्रै एक्टिभेट भएको पाइएको छ । यसको अर्थ दीपेशले पनि अनुसन्धानलाई सहयोग होइन, असहयोग गरेका छन् ।’ यस विषयमा प्रतिक्रिया लिन पुनको मोबाइल नम्बरमा पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

दीपेश पुनले सीआईबीमा बयान दिने क्रममा दावासँग आफ्नो आर्थिक सम्बन्ध नरहेको र उसको आपराधिक क्रियाकलापमा संलग्नता वा जानकारी नरहेको बयान दिएका छन् । 

दीपेशले बयानमा भनेका छन्,

‘मैले पक्राउ परेका दावा छिरिङलाई चिन्दछु । कहिलेकाहीँ फोन सम्पर्क हुने गरेको थियो । हामी बीचमा केही कारोबार छैन । अमला रोका मेरो गाउँको भएको, निज शहीद परिवारको भएको साथै माओवादी पार्टीको रोल्पा काठमाडौँ सम्पर्क मञ्चको उपाध्यक्ष भएकोले निजसँग सम्पर्क भेटघाट चिनजान भएको हो । दावा छिरिङसँग सामाजिक सञ्जालमा आए अनुसारको मेरो कुनै प्रकारको कारोबार छैन र निजले गरेका कुनै पनि आपराधिक काम कारबाहीमा मेरो संलग्नता छैन । अनुसन्धानको लागि मोबाइल परीक्षणको लागि पेश गरेको छु ।’

झलकराम, भीमकान्त पनि लुकाए पुरानो मोबाइल

६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको सीआईबीले आफ्नो अनुसन्धानका क्रममा अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी, विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी लगायतले पनि पुरानो मोबाइल फालेको पाइएको छ । प्रहरी स्रोतका अनुसार जब उनीहरू अनुसन्धानको दायरामा आए, उनीहरूले पुरानो मोबाइल परिवर्तन गरी नयाँ मोबाइल लिएर सीआईबीमा उपस्थित भएका थिए । उनीहरूले प्रयोग गरेको मोबाइल नयाँ रहेको र ६० किलो सुन तस्करी प्रकरणपछि मात्रै प्रयोगमा ल्याएको पाइएको छ । 

चिनियाँहरूले फालेका थिए पुरानो मोबाइल

त्यस्तै ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका सबै चिनियाँ नागरिकले पनि आफूहरूले प्रयोग गरिरहेको पहिलेको मोबाइल फालेको पाइएको छ । उच्च प्रहरी स्रोतका अनुसार ६० किलो सुन तस्करी प्रकरण बाहिर आए लगत्तै सबै चिनियाँ तस्कर समूहले आफूले पहिले प्रयोग गरिरहेको मोबाइल फालेर नयाँ मोबाइल चलाउन थालेका थिए । चिनियाँ नागरिकहरूले भने फोन नम्बर पनि परिवर्तन गरेको पाइएको छ । उनीहरूको नयाँ मोबाइलको एक्टिभेसन पनि सुन तस्करी प्रकरण बाहिर आएपछि मात्रै भएको पाइएको छ । 

दावाको मोबाइलमा भेटिएको थियो केही प्रमाण

६० किलो सुन तस्करी प्रकरणमा तस्कर समूह र शङ्कितमध्ये अधिकांशले मोबाइल लुकाउने वा फल्ने गरी नयाँ मोबाइल चलाएको पाइएपनि पक्राउ परेका दावा छिरिङको साथबाट भने प्रहरीले पुरानै मोबाइल बरामद गरेको थियो । दावाको मोबाइल परीक्षणका क्रममा उनको मोबाइलमा सुनको बिस्कुटको फोटो र भिडियो, सुन र क्रिप्टोकरेन्सीसँग सम्बन्धित विषयमा गरेको कुराकानीको अडियो रेकर्ड, पठाएका म्यासेज, भन्सारबाट सामान छुटाउने विषयमा भएको कुराकानी, सुनलाई ‘माछा’ भनी प्रयोग गरिएको कोड वर्ड लगायतका प्रमाण फेला परेका थिए ।

अनुसन्धानको दायरमा आएका अन्यको हकमा पनि समयमै नियन्त्रणमा लिन सकिएको भए वा उनीहरूले पहिले नै प्रयोग गरेको मोबाइल जफत गर्न सकिएको भए प्रमाणमा लाग्न सक्ने अन्य कुराहरू फेला पार्न सकिने प्रहरी स्रोतको दाबी छ । तर उनीहरू सबैले पुरानो मोबाइल लुकाएर वा फालेर नयाँ मोबाइल प्रयोग गरेपछि अनुसन्धानमा सहयोग नभएको र अपराधमा संलग्न भएको पर्याप्त प्रमाण प्राप्त गर्न नसकिएको स्रोतको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप