मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करकाे बयान

दावाको बयानले हैरानीमा सीआईबी, ‘नाइँ मलाई थाहा छैन’ शैलीमा बयान

मोबाइलको सर्च हिस्ट्रीमा भेटियो नेपाल र भारतको सुनको मूल्यबारेको खोजी
शनिबार, ३० भदौ २०८०, १२ : १६
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले आफूलाई अप्ठेरो पर्ने प्रश्नमा जवाफ नै नदिएको पाइएको छ । सीआईबीले दावालाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा आफूलाई अप्ठेरो पर्ने प्रश्न आएपछि दावाले यस विषयमा मलाई थाहा छैन भन्ने जवाफ दिने गरेको पाइएको छ ।

रातोपाटीलाई प्राप्त दावाको बयानमा आफूलाई अप्ठेरो पर्ने भएपछि दावाले ‘त्यस विषयमा थाहा छैन’ भन्ने जवाफ दिने गरेको पाइएको हो । सीआईबीले सुन तस्करी प्रकरणका सम्बन्धमा सीआईबीले प्रमाणसहित सोधेका केही सवालको जवाफमा आफूलाई अप्ठेरो पर्ने भएपछि उनले थाहा नभएको बयान दिएका छन् । सवाल नम्बर ३२, सवाल नम्बर ३६, सवाल नम्बर ३९, सवाल नम्बर ४१ र सवाल नम्बर ४४ मा सीआईबीले दावाको मोबाइल परीक्षणपछि प्राप्त प्रमाणहरूको विश्लेषण गरी सोही सम्बन्धमा प्रश्न गरेको थियो । तर दावाले ती सबै सवालमा ‘नाइँ मलाई थाहा छैन’ शैलीमा जवाफ दिएका छन् । 

यस्ता छन्, सीआईबीले दावालाई सोधेको सवाल र दावाको जवाफ :

सवाल नम्बर ३२ : तपाईंको मोबाइलको File Name:213.pic_hd भएको म्यासेजको Screenshot Image मा 'I have buyers for gold, gold ? you mean Gold jewelry or Gold bars'  भनी दुई पक्षबीच भएका कुराकानीहरू रहेको हुँदा सो कुराकानी को सँग गर्नु भएको हो ? खुलाउनुहोस् ।

जवाफ ३२ : सो कुराकानी को सँग गरे हाल मलाई याद भएन ।

सवाल ३६ : तपाईंको मोबाइल फोनसेटमा File name:1844.mp4  भएको सुनको भिडियो रहेको सो सुनको भिडियो वीच्याट प्रयोगकर्ता तपाई James-wxid_tccqmxrvhfpw12 ले वीच्याट प्रयोगकर्ता : good@faith2-wxid_4is16idnacu322 लाई पठाएबाट तपाईंले अवैध सुनको पैठारी गर्ने कार्य गरेको पुष्टि भएको छ ? सो सम्बन्धमा खुलाउनुहोस् ।

जवाफ ३६ : सो सम्बन्धमा मलाई हाल याद भएन । सुनको अवैध कारोबार गरेको छैन ।

सवाल ३९ : तपाईंको मोबाइल परीक्षणको क्रममा प्राप्त भएको Audio 1040.aud. मा भएको अडियो कुराकानी सुनाई सोधनी गरिन्छ की ‘भाइ सुन न रेट के हो ? यो २–३ दिनमा सामान कति किलो ७ किलो जति दिएछ, ५ किलो दिएको छ । पार्टीले किनिरा’छ । हिजो–अस्ति कति किलो किनेको छ भने ६५ किनेको छ भनी’ सुनको कुरा गरेको प्रष्ट भएको हुँदा सो कुरा को–को बीच भएको थियो ? खुलाउनुहोस् ।

जवाफ ३९ : के विषयमा कुरा भएको थियो । हाल मलाई याद भएन ।

सवाल ४१ : तपाईंको मोबाइल परीक्षणको क्रममा प्राप्त भएको Audio 1031.aud.1  मा भएको अडियो कुराकानी सुनाई सोधनी गरिन्छ की ‘किलोमा कति फाइदा दिन्छ, सोध्नु भनी तपाईंले के कुराको फाइदा दिने कुरा कसलाई भन्नु भएको हो ? सुनको कारोबारको लागि भएको हैन भन्ने आधार केही छ ? खुलाउनुहोस् ।

जवाफ ४१ : सो सम्बन्धमा हाल मलाई याद भएन ।

सवाल ४४ः–

तपाईंको मोबाइल परीक्षणको क्रममा भेटिएको तपाईंको 9818****** नम्बरको ह्वाट्सएपबाट जीवन चलाउनेको 98511******  नम्बरको ह्वाट्सएपमा This one month 80 kg भनी तपाईंले म्यासेज गरेको र जीवन चलाउनेले ok भनी रिप्लाई गरेको हुँदा This one month 80 kg भनेको एक महिनामा ८० केजी सुनको कारोबार भएको हो ? खुलाउनुहोस् ।

जवाफ ४४ : के विषयमा This one month 80 kg भनी लेखी पठाए, हाल मलाई याद भएन । 

सुनको बिक्रीबारे धेरैजनासँग कुरा गरेका थिए दावाले

अवैध सुनको बिक्रीको सम्बन्धमा दावा छिरिङले अन्य व्यक्तिहरूसँग पनि कुराकानी गरेको पाइएको छ । पक्राउ परेका अर्का आरोपित पेम्बा दोर्जे शेर्पासँग पनि दावाले सुन बिक्रीका लागि ग्राहक खोज्न भनेको पेम्बाको बयानमा उल्लेख छ । पेम्बालाई सुन बिक्रीका लागि ग्राहक खोज्न भनेको कुरा दावाले पनि आफ्नो बयानमा स्वीकार गरेका छन् । 

सीआईबीले लामो अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा दावाको बयान संलग्न छ । उक्त बयानको सवाल नम्बर २८ मा दावालाई सोधिएको छ,

‘पेम्बा दोर्जे शेर्पाले घटना विवरण कागज गर्ने क्रममा पानीपोखरीस्थित रहेको मैले सञ्चालन गरेको लप्सी ट्री गार्डेन रेष्टुरेन्टमा मलाई भेट्न आई मोबाइलमा सुनको फोटो देखाई सुन खरिद गर्ने मान्छे कोही छ भने खोज्नु पर्‍यो भनेका थिए भनी खुलाई लेखाई दिएबाट तपाईंले अवैध रूपमा सुनको पैठारी गरी कारोबार गर्ने गरेको कुरा पुष्टि हुन्छ ? सो फोटोमा भएको सुन के कहाँबाट के कति परिमाणमा ल्याउनु भएको थियो ? सो सम्बन्धमा खुलाउनुहोस् ।’

जवाफमा दावाले उक्त सुनको फोटो चिनिया नागरिक आगो भन्ने वेङ जिन्गाउले पठाएको र बिक्रीका लागि मानिस खोज्न भनेकाले खोजेको बयान दिएका छन् । 

बयानमा भनिएको छ,

‘मैले पेम्बा दोर्जे शेर्पालाई सुनको फोटो देखाई सुन खरिद गर्ने मानिस खोज्नु सो बापत कमिसन आउँछ भनी कुरा गरेको हुँ । सो फोटो मलाई चाइनिज नागरिक आगो भन्ने वेङ जिन्गाउले दिएका हुन् ।’ 

मोबाइलको सर्च हिस्ट्रीमा भेटियो सुनको मूल्यबारेको खोजी

दावा छिरिङको मोबाइल ल्याबमा परीक्षण गर्दा उनको मोबाइलको सर्च हिस्ट्रीमा नेपाल र भारतमा सुनको मूल्यबारे पटकपटक खोजी गरिएको पाइएको छ । दावाको मोबाइलको परीक्षण गर्दा गुगल क्रोम ब्राउजरको हिस्ट्रीमा सुनको मुल्यबारे पटकपटक खोजी गरेको पाइएको हो । 

सीआईबीको सवालमा दावाले आगो भन्ने चिनिया नागरिकले मूल्य सोधेको कारण आफूले मूल्य हेरेको जवाफ दिएका छन् । 

सवाल नम्बर ३० को सवाल जवाफमा दावाको बयान यस्तो छ :

सवाल नम्बर ३० :

तपाईंको IMEI 350270056******, 350270055******, भएको Iphone 14 Pro Max-A2893 को परीक्षण प्रतिवेदनमा तपाईंले मोबाइलको फोनसेटको Google Browser मा ‘gold rate today’, 'gold price in Nepal todayÚ, one kg gold price in india'  लगायतका विवरणहरु सर्च गरेको देखिएबाट तपाईंले अवैध सुनको पैठारी गर्ने गरेको कुरा पुष्टि हुन्छ ? सो सम्बन्धमा खुलाउनुहोस् ।

जवाफ नम्बर ३० :

मलाई चाइनिज नागरिक आगो भन्ने वेङ जिन्गाउले नेपाल र भारतमा सुनको मूल्य कति पर्छ भनी सोधेको हुँदा मैले मेरो मोबाइलको गुगलबाट सुनको मूल्य सर्च गरेको हुँ ।

त्यस्तै दावाको मोबाइल परीक्षणका क्रममा १ किलोको सुनको बिस्कुटको फोटो पाइएको थियो । त्यो फोटो किन र कुन प्रयोजनका लागि खिचेको हो भन्ने सवालमा दावाले फेरि पनि आगो भन्ने चिनिया नागरिकले पठाएको जवाफ दिएका छन् । 

सवाल नम्बर ३१ :

तपाईंको मोबाइल फोनसेटमा File Name :IMG_6225.JPG  को इमेज फाइलको फोटोमा ‘YUEXIN GOLD 1 KILO' लेखिएको सुनको फोटो,File Name :10542.video_thum.hd को इमेज फाइलमा बक्सामा सुन भएको फोटो देखिएको हुँदा सो फोटोहरू के कुन प्रयोजनको लागि खिची मोबाइलमा राख्नु भएको हो ? खुलाउनुहोस् ।

जवाफ नम्बर ३१ :

मलाई चाइनिज नागरिक आगो भन्ने वेङ जिन्गाउले सो सुनको फोटोहरू पठाएका हुन् ।

यसरी तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले चिनिया गिरोहसँग मिलेर नेपालमा सुनको अवैध तस्करी, भण्डारण र बिक्री वितरण गरेको पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप