सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
६० किलो सुन तस्करी प्रकरण

सुन खानी उत्खननका लागि हेलिकप्टरमा रोल्पा पुगेको थियो तस्कर समूह

दावाले प्रतिकिलो २० हजार कमिसनमा बेच्न लगाउँथे तस्करीको सुन
शनिबार, ३० भदौ २०८०, १० : ५८
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङले सुन तस्कर समूहका सदस्य सुन खानी उत्खननका लागि भन्दै हेलिकप्टर चार्टर गरेर रोल्पासम्म पुगेको बयान दिएका छन् । अधिकारप्राप्त अधिकारी समक्षको बयानमा दावाले सुन तस्कर समूहलाई आफूहरूले सुन उत्खननका लागि भन्दै आफूहरूले लाइसेन्स लिएको स्थानसम्म पुराएको बयान दिएका हुन् । 

तस्कर समूहका सदस्य आगो भन्ने वेङ जिन्गाउ सहितको टोलीलाई दावाले सुन खानीको उत्खननका लागि भन्दै रोल्पामा पुराएको दावाले आफ्नो बयानमा उल्लेख गरेका छन् । दावासँगै पक्राउ परेका आरोपित किशोर बस्नेतले आफ्नो बयानका क्रममा चिनिया नागरिक वेङ जिन्गाउसँग भेटघाट गर्ने समेतको कुरा भएको बयान दिएपछि सीआईबीले सोधेको प्रश्नमा दावाले सुन तस्कर समूहसँगै रोल्पासम्म पुगेको बयान दिएका हुन् । 

सीआईबीले ‘किशोर बस्नेतले अधिकार प्राप्त अधिकारी समक्षको बयानमा तपाई, किशोर बस्नेत र आगो भन्ने वेङ जिन्गाउबीच होटल शंकरमा भेट्ने भई कुराकानी भएको थियो भनी खुलाई लेखाई दिएको हुँदा चिनिया नागरिक आगो भन्ने वेङ जिन्गाउ को हुन् र के कुन प्रयोजनको लागि भेटघाट भएको हो ?’ भनी सोधेको थियो । त्यसको जवाफमा दावाले यस्तो बयान दिएका छन् । 


‘चिनियाँ नागरिक आगो भन्ने वेङ जिन्गाउ करिब ३ महिना अगाडी मेरो होटल भियानामा बस्न आउने क्रममा चिनेको हुँ । निज वाल्डो क्यासिनोमा गई खेल्ने गरेका थिए । चिनजान तथा परिचय भए पश्चात् मैले निज आगो भन्ने वेङ जिन्गाउलाई हामीसँग खानी उत्खनन गर्ने लाईसेन्स छ, तपाईँसँग कुनै रकम लगानी गर्ने कम्पनी छ, छैन ? भनी सोध्दा निज आगो भन्ने वेङ जिन्गाउले  सम्बन्धित ठाउँमा गई चेक गर्नु पर्छ भनी निज आगो भन्ने वेङ जिन्गाउले चिनबाट खानी सम्बन्धी काम गर्ने ३ जना विज्ञहरुको टोली मगाई निज आगो भन्ने वेङ जिन्गाउ र निजले मगाएका विज्ञहरूको टोली र भाषा अनुवादक हेलिकप्टर चार्टर गरी रोल्पा जिल्लामा गई ४–५ दिन बसी फर्किएका हुन् । पानी परेको र बाटोको सुविधा नभएको कारण हाल खानी उत्खनन गर्न सकिँदैन भनी सो टोली फर्किएको हो । केही दिन पश्चात् निज आगो भन्ने वेङ जिन्गाउ अफ्रिकाको रुवान्डा गई २०–२५ दिन बसी नेपाल आएका हुन् । सो समयमा निजले मलाई सुनको बिस्कुट आकारको फोटो देखाई सो सुन खरिद गर्ने मानिस खोज्नु, सो सुन बिक्री गरे बापत प्रति केजी २० हजार नेपाली रुपैयाँ दिन्छु भनेका हुन् ।’

दावाको बयान अनुसार तस्कर समूहका सदस्य आगो भन्ने आगो भन्ने वेङ जिन्गाउले चिनबाटै प्राविधिक ल्याएर दावाको समूहले सुन खानी उत्खननका लागि भन्दै लाइसेन्स लिएको रोल्पासम्म पुराएको स्वीकार गरेका छन् । 

सुनको बिस्कुटको फोटो देखाउँदै दावाले भनेका थिए, ‘एक किलो बेच्दा २० हजार कमिसन आउँछ’

सुन तस्करी प्रकरणमा पक्राउ परेका दावाले तस्करीको सुन विक्री गर्न पनि मानिसहरू खटाउने गरेको पाइएको छ । रातोपाटीलाई प्राप्त दावाको बयानमा आफूले किशोर बस्नेतलाई एक किलो सुन विक्री गर्दा २० हजार कमिसन आउने भनी बताएको समेत स्वीकार गरेका छन् ।
पक्राउ परेका अर्का आरोपित किशोर बस्नेतले आफ्नो बयानमा दावा छिरिङले सुनको बिस्कुटको फोटो देखाएर ग्राहक खोज्न भनेको र त्यसरी ग्राहक खोजेमा प्रतिकिलो २० हजार रुपैयाँ कमिसन पाउने भनेको भनी बताएका थिए ।
 
अधिकारप्राप्त अधिकारीले दावालाई सोधेको जवाफ र दावाले दिएको बयान यस्तो छ :

सवाल २५ : 

किशोर बस्नेतले अधिकार प्राप्त अधिकारी समक्षको बयानमा तपाईँले किशोर बस्नेतलाई लाजिम्पाटस्थित क्याफे डि स्यालोनमा बोलाई सुनको बिस्कुट भएको फोटो देखाई सुन खरिद गर्ने मानिस खोज्नु, सुन बिक्री गर्ने र खरिद गर्नेले आफै कारोबार गर्छ, सो बापत प्रति केजी २० हजार कमिसन आउँछ भनी भनेको थिए भनी खुलाई लेखाई दिएबाट तपाई समेतले संगठित रूपमा अवैध सुन पैठारी गरी बिक्री गर्ने गरेको पुष्टि हुन्छ ? सो सम्बन्धमा खुलाउनुहोस् ।

जवाफमा दावाले आफूले किशोरलाई सुन बेच्न सके प्रतिकिलो २० हजार रुपैयाँ आउँछ भनेको तर आफूलाई अर्कै व्यक्तिले सुनको बिस्कुटको फोटो पठाएर बेच्न भनेको बयान दिएका छन् । 

जवाफ २५ :

‘मैले मेरो होटल भियनामा बस्ने क्रममा चिनेको चिनिया नागरिक आगो भन्ने वेङ जिन्गाउले म पक्राउ पर्नु भन्दा करिब १५ दिन अगाडी मलाई सुनको बिस्कुटको फोटो देखाई नेपालमा सुनको दर के कती रहेको छ भनी सोधी सुन खरिद गर्ने मानिस खोज्नु, सुन खरिद गर्ने मानिस खोजे बापत प्रति केजी नेपाली रुपैया २० हजार दिन्छु भनेको हुँदा मैले सो फोटो मेरो मोबाईलमा हाली सोही फोटो किशोर बस्नेतलाई देखाई सुन खरिद गर्ने मानिस खोज्नु सो बापत २० हजार रुपैयाँ कमिसन आउँछ भनी भनेको हुँ । सुन बिक्री भने गरेको छैन ।’

सुन पगाल्ने डिटरजेण्ट पाउडर मगाउँथे दावा

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले सुन पगालेपछि सफा गर्न आवश्यक पर्ने डिटरजेन्ट पाउडर समेत मगाउने गरेको पाइएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका किशोर बस्नेतले दावाले नै सुन सफा गर्न आवश्यक डिटरजेन्ट पाउडर मगाउने गरेको बयान दिएका छन् । 

रातोपाटीलाई प्राप्त दावाको बयानमा दावाले आफूले किशोर बस्नेतलाई डिटरजेन्ट किनेर ल्याउन लगाएको बयान दिएका छन् । सीआईबीले सोधेको ७१ सवालको जवाफ दिने क्रममा दावाले किशोर बस्नेतमार्फत् डिटरजेन्ट पाउडर मगाएको स्वीकार समेत गरेका छन् । 

‘किशोर बस्नेतले अधिकार प्राप्त अधिकारी समक्षको बयानमा तपाई दावा छिरिङले किशोर बस्नेतलाई सुन सफा गर्न प्रयोग हुने डिटरजेन्ट पाउडर ल्याउन लगाएको र सो सुन सफा गर्ने पाउडर ल्याइदिए बापत तपाईँले किशोर बस्नेतलाई २० हजार रुपैयाँ दिएको भनी खुलाई लेखाई दिएबाट तपाईँले संगठित रूपमा अवैध सुनको कारोबार गर्ने कुरा पुष्टि हुन्छ ? सो सम्बन्धमा खुलाउनुहोस्’ भनी सीआईबीले प्रश्न गरेको थियो । 

त्यसको जवाफमा दावा छिरिङले आफूले डिटरजेन्ट पाउडर मगाएको स्वीकार गर्दै उक्त डिटरजेन्ट पाउडर भाइका लागि मगाइदिएको बयान दिएका छन् । दावाले आफ्नो बयानमा भनेका छन्,

‘मेरो जन्मिएको गाउँ तिब्बतको भाइ गोम्बोले डिटरजेन्ट पाउडर मगाउनु पर्ने छ, कोही ल्याउने व्यक्ति छ भने खोजिदिनु भने पश्चात् मैले किशोर बस्नेतलाई फोन गरी मेरो होटलमा बोलाई सो डिटरजेन्ट पाउडर खोजेर ल्याउनु भनी पठाएकोमा किशोर बस्नेतले केही समय पश्चात् केमिकल लिएर गाडी तपाईको होटलमा आउँदैछ भनी फोन गरेका थिए । सो पश्चात् गोम्बो आई सो गाडी लिएर गएको थियो । सो डिटरजेन्ट पाउडर सुन सफा गर्ने केमिकल हो भन्ने कुरा मलाई थाहा थिएन । सो पाउडर मगाई दिए पश्चात् गोम्बोले मलाई २० हजार र किशोर बस्नेतलाई २० हजार दिएका हुन् । सो पाउडर गोम्बोले कहाँ लिएर गए मलाई थाहा छैन । सो केमिकलको रकम गोम्बो आफैले दिएका हुन् ।’

अधिकारप्राप्त अधिकारीले गोम्बोले के कति कामका लागि डिटरजेण्ट पाउडर मगाएका थिए र गोम्बोले तपाइलाई पनि रकम दिनुको कारण के हो भनी सोधेका थिए । त्यसको जवाफमा दावाले गोम्बोले केमिकलको प्रयोजन बारे केही नखुलाएको बयान दिएका छन् । केमिकलको प्रयोगबारे आफूले पनि गोम्बोसँग केही नसोधेको र केमिकल मगाइदिएबापत आफूलाई पनि २० हजार कमिसन दिएको दावाको बयानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप