सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

माओवादी नेताहरु र पूर्व प्रहरी महानिरीक्षकसँगको सम्बन्धबारे दावाले बयानमा के भने ?

शुक्रबार, २९ भदौ २०८०, १७ : ४९
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा सीआइबीको हिरासतमा रहेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले माओवादी केन्द्रका नेता वर्षमान पुनः र पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ)सँग आफ्नो पारिवारिक सम्बन्धमात्रै रहेको बयान दिएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सीआइबीले बुझाएको दावाको बयानमा उनले माओवादी नेतासँग श्रीमतीको माइती भएको कारण पारिवारिक सम्बन्धमात्रै रहेको बताएका हुन् ।

सीआइबीले गरेको ७१ सवालजवाफमा दावाले माओवादी केन्द्रका नेता वर्षमान पुनसँग विशुद्ध पारिवारिक सम्बन्धमात्रै रहेको बयान दिएका हुन् । सीआइबीले आफ्नो सवाल जवाफको ५१ नम्बर बुँदामा दावासँग सोधेको प्रश्न र जवाफ यस्तो छ ः

सवाल ५१ :

तपाई र नेपालका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ)बीच सम्बन्ध रहेको  भनी तपाई र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ सँगै रहेको फोटो सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा आएको हुँदा तपाई र पूर्व उपराष्ट्रपति नन्दकिशोर पासाङबिच के कस्तो सम्बन्ध रहेको छ ? खुलाउनुहोस् ।

जवाफ ५१ :

मेरो श्रीमती अमला रोका मगरको माइती रोल्पा जिल्लामा भएको र नेपालका पूर्व उपराष्ट्रपति नन्दकिशोर पासाङको घरसमेत रोल्पा जिल्लामा भएका कारण म श्रीमती अमला रोका मगर दसैँको समयमा टीका थाप्न भनी उपराष्ट्रपति निवासमा जाँदा फोटो खिचिएको हो । सो बाहेक अन्य कुनै सम्बन्ध रहेको छैन ।

त्यसैगरी सीआइबीले आफ्नो सवालको बुँदा नम्बर ५२ मा पूर्व अर्थमन्त्री वर्षमान पुनसँगको सम्बन्धबारे पनि सोधपुछ गरेको छ । सवाल नम्बर ५२ मा सीआइबीले सोधेको छ ः

सवाल ५२ :

तपाई र माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनबिच सम्बन्ध रहेको भनी माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन र तपाई सँगै रहेको फोटो सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा आएको हुँदा तपाई र माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनबिच के कस्तो सम्बन्ध रहेको छ ? खुलाउनुहोस् ।

जवाफ ५२ :

मेरो श्रीमती अमला रोका मगरको माइती रोल्पा जिल्लामा भएको र माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको घरसमेत रोल्पा जिल्लामा भएको हुँदा श्रीमतीको माध्यमबाट मेरो र वर्षमान पुनको चिनजान भएको हो ।

आज भन्दा ७ वर्ष अगाडि माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको काठमाडौं लाजिम्पाटस्थित कोठामा म र श्रीमती अमला रोका मगर खाना खान गएको समयमा निज वर्षमान पुनसँग हामीले फोटो खिचेका हौँ । सो बाहेक अन्य कुनै सम्बन्ध रहेको छैन ।

सीआइबीले माओवादी केन्द्रका नेताहरु मात्रै होइनन्, दुई पूर्व प्रहरी महानिरीक्षकसँगको सम्बन्धबारे पनि दावासँग सोधपुछ गरेको छ ।

सवाल नम्बर ५३ मा सीआइबीले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको सम्बन्धबारे दावासँग सोधपुछ गरेको थियो ।

सवाल ५३ :

तपाई र नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालबीच सम्बन्ध रहेको भनी तपाई र नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालको प्रहरी प्रधान कार्यालयमा खिचिएको फोटो सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा आएको हुँदा तपाई र पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल बिचको के कस्तो सम्बन्ध रहेको छ ? खुलाउनुहोस् ।

जवाफमा दावाले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेट्दा पनि नभेटेको र फोटो पनि नखिचेको जवाफ दिएका छन् ।

जवाफ ५३ :

म र नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालबिच कुनै सम्बन्ध रहेको छैन । म नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाललाई भेट्न प्रहरी प्रधान कार्यालयमा गएको पनि छैन र फोटो खिचेको पनि छैन ।

त्यसैगरी पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँगको सम्बन्धबारे पनि सीआइबीले दावासँग बयान लिएको छ ।

सवाल ५४ :

तपाई र नेपाल प्रहरीका पूर्व महानिरीक्षक धिरजप्रताप सिंहबीच म्यासेज आदान प्रदान भएको देखिएको हुँदा तपाई र पूर्व महानिरीक्षक धिरज प्रताप सिंहबिच के कस्तो सम्बन्ध रहेको छ ? खुलाउनुहोस् ।

जवाफमा दावाले सिंह प्रहरी महानिरीक्षक भएपछि बधाई दिन म्यासेज गरेको र अन्य कुनै सम्बन्ध नभएको बयान दिएका छन् ।

जवाफ ५४ :

मैले नेपाल प्रहरीका पूर्व महानिरीक्षक धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त भए पश्चात शुभकामना दिनको लागि म्यासेज गरेको हुँ । सो बाहेक अन्य कुनै सम्बन्ध रहेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप