आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करकाे बयान

दावाले कसलाई पठाएका थिए एसएसपी अशोक सिंहको फोटो ?

जीवन चलाउनेसँग मिलेर सुन तस्करीसँगै क्रिप्टोकरेन्सीको काम गर्थे दावा
शनिबार, ३० भदौ २०८०, २० : १९
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । ६० किलो सुन तस्करीमा संलग्न रहेको भन्दै पक्राउ परेका दावाको मुख्य सहयोगीमा जीवन चलाउने रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । दावाले चलाउनेलाई काम लगाउने र चलाउनेले सुन तस्करीमा मध्यस्थताको भूमिका निर्वाह गर्ने, क्रिप्टोकरेन्सीमा काम गर्ने गरेको पाइएको छ । 

दावाको मोबाइल परीक्षणका क्रममा फेला परेका केही म्यासेजले दावा र जीवन चलाउनेबीच सुन तस्करीदेखि क्रिप्टोकरेन्सी सम्ममा संलग्नता रहेको केही तथ्य खुलेको छ । चलाउनेले अमेरिकाको वेल्स फार्गो बैंकमा ३० हजार अमेरिकी डलर पठाएको पनि फेला परेको छ । 

सीआईबीको अनुसन्धानको क्रममा जीवन चलाउने र दावाबीचको सम्बन्ध र कुराकानीबारेको सवालजवाफ यस्तो छ । 

सवाल :

तपाईंको मोबाइल परीक्षणको क्रममा भेटिएको तपाईंको ९७७९८१८३७७१७ नम्बरको ह्वाट्सएप र जीवन चलाउनेको ९७७९८५११२७५९० नम्बरको ह्वाट्सएप म्यासेज देखाई सोधनी गरिन्छ की जीवन चलाउनेले 30k$ sent to subu pratap kc in wells fargo bank भनी देखिएको फोटोमा भएको रकम के कसलाई के कुन प्रयोजनको लागि पठाइएको हो ? खुलाउनुहोस् ।

जवाफ :

पेम्बा दोर्जे शेर्पाको अमेरिका बस्ने आफन्तलाई अमेरिकामा बस्ने जीवन चलाउनेले चिनेको मान्छेलाई अमेरिकी डलर ३० हजार पठाएको भनी सो फोटो मलाई जीवन चलाउनेले पठाएका हुन् । सो रकम किन दिएका थिए, सो सम्बन्धमा मलाई केही थाहा छैन । 

सवाल :

तपाईंको मोबाइल परीक्षणको क्रममा भेटिएको तपाईंको ९७७९८१****** नम्बरको ह्वाट्सएप बाट जीवन चलाउनेको ९७७९८५१****** नम्बरको ह्वाट्सएप मा How much is the monthly intrest of 50 million, the party asked me भनी म्यासेज गरेको देखिएको हुँदा के कुन प्रयोजनको लागि सो रकम माग्नु भएको थियो ? खुलाउनुहोस् ।

जवाफ :

मैले चाइनिज पार्टीहरू चिनेको हुँदा मलाई जीवन चलाउनेले लगानी गर्न रकम खोज्नु भनेको हुँदा मैले रकम खोज्ने क्रममा रकम लगानी गर्ने पार्टीहरूले मासिक ब्याज कति आउँछ भनी सोधेको हुँदा मैले सोही कुरा जीवन चलाउनेलाई सोधेको हुँ । 

सवाल : 

तपाईंको मोबाइल परीक्षणको क्रममा भेटिएको तपाईंको ९७७९८१****** नम्बरको ह्वाट्सएप बाट जीवन चलाउनेको  ९७७९८५१****** नम्बरको ह्वाट्सएप मा This one month 80 kg भनी तपाईंले म्यासेज गरेको र जीवन चलाउनेले yup भनी रिप्लाई गरेको हुँदा This one month 80 kg भनेको एक महिनामा ८० केजी सुनको कारोबार भएको हो ? खुलाउनुहोस् ।

जवाफ : 

के विषयमा This one month 80 kg  भनी लेखी पठाए, हाल मलाई याद भएन । 

सवाल : 

तपाईंको मोबाइल परीक्षणको क्रममा भेटिएको तपाईंको ९७७९८१******  नम्बरको ह्वाट्सएप मा जीवन चलाउनेको  ९७७९८५****** नम्बरको ह्वाट्सएप बाट ‘Dai alikk gopya garnus. Aru sanga kura nagarnuhos'  भनी म्यासेज गरेको र सो को जवाफमा तपाईंले only u and me business talk ok we meet भनी म्यासेज गरेको देखिएको हुँदा के कुरा गोप्य राख्ने भनी म्यासेज आदान प्रदान भएको हो ? खुलाउनुहोस् ।

जवाफ : 

लगानी गर्ने रकम खोज्ने विषय गोप्य राख्नु भनी म्यासेज आदान प्रदान भएको हो । 

सवाल :

तपाईंको मोबाइल परीक्षणको क्रममा भेटिएको तपाईंको ९७७९८१******  नम्बरको ह्वाट्सएप मा जीवन चलाउनेको  ९७७९८५१****** नम्बरको ह्वाट्सएपमा hlo. I may hyatt. I will come to meet u tomorrow morning the Chinese party come office okey, 10:30-11:00 AM भनी म्यासेज पठाएको देखिएको हुँदा चाइनिज पार्टीसँग के कुन प्रयोजनको लागि भेटघाट भएको हो ? खुलाउनुहोस् ।

जवाफ : 

ीष्ग भन्ने चाइनिज नागरिक भैँसीको राँगा चीनमा निर्यात गर्न भनी कुरा गर्न आएको थियो । सोही विषयमा मेरो मिटिङ भएको थियो ।

भेपमा सुन तस्करी प्रकरणमा पनि दावाको संलग्नताको आशङ्का

तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ यसअघिको भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा पनि संलग्नताको आशङ्का गरिएको छ । भेपमा लुकाएर ल्याएको सुनको विषयमा दावा जानकार रहेको पाइएको छ । 

अनुसन्धान अधिकारीले दावासँग लिएको बयानमा इलेक्ट्रिक सिगरेटमा लुकाएर ल्याएको सुनको बिलको फोटो लगायतका केही कागजात पाइएको थियो । त्यसपछि सीआईबीले दावासँग यसरी सवालजवाफ गरेको थियो ।

सवाल :

तपाईंले यस ब्यूरोबाट अनुसन्धान भएको विमानस्थलबाट इलेक्ट्रिक सिगरेट (भेप) मा सुन लुकाई छिपाई ल्याएको सुन चोरी भएको विषयसँग सम्बन्धित बिलको कपीसमेत राखेको देखिएबाट तपाईं अवैध सुन पैठारीमा संलग्न नभएको भए सुनसँग सम्बन्धित विषयहरू राख्नु पर्ने कारण के हो त ? खुलाउनुहोस् ।

जवाफ : 

यस ब्यूरोबाट अनुसन्धान भएको विमानस्थल बाट इलेक्ट्रिक सिगरेट (भेप) मा सुन लुकाई छिपाई ल्याएको सुटकेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिए पश्चात् चाइनिज नागरिक ली फुचेङ्गले सो इलेक्ट्रिक सिगरेट (भेप)को फोटो पठाई सो इलेक्ट्रिक सिगरेट (भेप)को बारेमा अध्यागमन कार्यालयमा बुझिदिनु भनी मलाई सो फोटो पठाएका थिए । मैले अध्यागमन कार्यालयमा बुझ्ने काम गरिन ।

एसएसपी अशोक सिंहको फोटो पठाएकोबारे दावाले भने कसलाई किन पठाएँ थाहा छैन

दावा छिरिङले क्लोइ नाम गरेका एक व्यक्तिलाई एसएसपी अशोक सिंहको फोटो पठाएको पाइएको छ । तर अशोक सिंहको फोटो कसलाई र किन पठाएको त्यसबारेमा याद नभएको दावाले बयान दिएका छन् । 

अशोक सिंहको फोटोको सम्बन्धमा दावासँगको सवालजवाफ यस्तो छ :

सवाल : 

तपाईंको मोबाइल फोनसेटमा लगइन रहेको वीच्याट प्रयोगकर्ता तपाईं James-wxid_tccqmxrvhfpw12_ ले वीच्याट प्रयोगकर्ता Chloe-wxid–h12w4htki7m822_  लाई प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको फोटो पठाएको देखिएको हुँदा के कसलाई के कुन प्रयोजनको लागि सो फोटो पठाइएको हो ? निज र तपाईंको के कस्तो सम्बन्ध रहेको छ ? खुलाउनुहोस् ।

जवाफ : 

वीच्याट प्रयोगकर्ता क्लोई को हुन् हाल मैले बिर्सिए । प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको फोटो किन पठाए हाल मैले बिर्सिए । अशोक सिंहसँग मेरो चिनजान तथा सम्बन्ध रहेको छैन ।

भीमकान्तबारे दावाले भने, ‘उनी इलेक्ट्रिक गाडीको एजेन्ट बन्न चाहन्थे’

सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङको सम्बन्ध अर्का विवादित पात्र भीमकान्त भण्डारीसँग पनि देखिएको छ । भीमकान्त र दावाबीच वीच्याटमा कुराकानी हुने गरेको पाइएको छ । यस्तो छ भीमकान्त र दावाको कुराकानी र सम्बन्धको बारेमा बयानका क्रममा भएको सवालजवाफ m

सवाल : 

तपाईं र भीमकान्त भन्डारीबीच वीच्याटमा आर्थिक कारोबार सम्बन्धी कुराकानी भएको देखिएको हुँदा तपाईंहरु बीच के कस्तो आर्थिक कारोबार रहेको थियो ? खुलाउनुहोस् ।

जवाफ : 

भीमकान्त भन्डारीले चाईनाबाट आयात हुने ईलेक्ट्रिक गाडीहरूको नेपालको लागि एजेन्ट बन्न सहयोग गरिदिनको लागि चाइनाको कम्पनीसँग कुरा गरिदिनु भनेको हुँदा सोही विषयमा कुराकानी भएको हो ।

यसरी सुन तस्करी प्रकरणमा मुछिएका दावा छिरिङले नेपालका विभिन्न व्यक्तिहरूलाई प्रयोग गरी तस्करीमा संलग्न रहेको तथ्यहरू फेला परेको भन्दै उनी तस्कर समूहको सक्रिय सदस्य रहेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप