सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
भेपमा सुन

भेपमा सुन प्रकरण : राहुल महरा पक्राउ

बुधबार, १३ भदौ २०८०, १६ : ०९
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा राहुल महरा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले महरालाई नियन्त्रणमा लिइएको पुष्टि गरेकी हुन् । महराले भने आफू यस प्रकरणमा सहजीकरणका लागि सीआईबी पुगेको बताएका छन् ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

पूर्वसभामुख महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आएका छन् । चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारिका रुपमामात्र चिनेको बताएका उनले सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाएका छन् । 

राहुल महरा र वाङबीच ३ महिनामा १९५ पटक कुराकानी !

कल डिटेल्स रिपोर्ट (सीडीआर) अनुसार विमानस्थलमा चिनियाँ नागरिक ली हानसोङले सुन तस्करी गरेको मिति २०७९ पुष १० गतेदेखि विमानस्थल भन्सार कार्यालयले आन्तरिक छानबिन थालेको चैत महिनाको अन्तिमसम्ममा कृष्णबहादुर महराले दुई जना चिनियाँ सुन तस्करसँग २२ पटक कुराकानी गरेको पाइएको हो । 

प्रहरीले सुन तस्करीमा संलग्न भनी किटान गरेका चिनियाँ नागरिक लुईसँग महराले ११ पटक कुराकानी गरेको पाइएको छ । त्यसैगरी अर्का तस्कर दाओजिन वाङसँग पनि महराले ११ पटक नै कुराकानी गरेको पाइएको छ । 

रिपोर्टमा प्रहरीले सुन तस्करीमा संलग्न भनी खुलाएका व्यक्ति वाङ र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराबीच सुन तस्करी भई आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन सुरु गर्नेसम्मको समयमा १९५ पटक कुराकानी भएको पाइएको छ । सो अवधिमा वाङले राहुललाई ६४ पटक फोन सम्पर्क गरेका छन् भने राहुलले वाङलाई १३१ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ । 

सुन तस्करीमा संलग्न भनिएका वाङले अर्का तस्कर लुईसँग १३ पटक मोबाइलमा कुराकानी गरेका छन् । त्यसैगरी वाङ र उनका चालक लोकेन्द्र पौडेलबीच ६५१ पटक कुराकानी भएको पाइएको छ ।

gold connection

त्यस्तै वाङले राजस्व तिरेर वा लिलामी मिलाएर छुटाउने भन्दै सम्पर्कमा गएका श्याम साहलाई ५२ पटक टेलिफोन गरेका छन् भने साहले वाङलाई २०१ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ । वाङले भन्सार एजेन्ट भनिएका खुवाप्रसाद न्यौपानेलाई ५४ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ ।

नेता महराका छोरा राहुल महराले वाङका चालकसमेत रहेका लोकेन्द्र पौडेललाई ३६ पटक टेलिफोन सम्पर्क गरेका छन् । त्यस्तै राहुलले अशिन भन्ने व्यक्तिलाई ३ पटक र भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक सम्पर्क गरेको पाइएको छ । 

यता वाङका सवारी चालक लोकेन्द्र पौडेल र श्याम साहबीच सो अवधिमा ९३ पटक कुराकानी भएको देखिएको छ भने श्याम साह र खुवाप्रसाद न्यौपानेबीच १३५ पटक कुराकानी भएको प्रमाण प्रहरीले अनुसन्धान प्रतिवेदनसहित गोप्य मिसिलमा समावेश गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप