शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

‘भेप’ प्रकरणको अनुसन्धानमा किन ढिलाइ ?

राहुल बाहेक अरू पक्राउ परेनन्
सोमबार, ०८ असोज २०८०, १४ : १९
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको आरोपमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल थुनामा छन् । राहुल भदौ १३ मा पक्राउ परेका हुन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘सङ्गठित तस्करी’ विरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

राहुललाई पक्राउ गरेको २७ दिन पुगे पनि भेप प्रकरणमा संलग्न अन्य आरोपीलाई सीआईबीले पक्राउ गर्न सकेको छैन ।  दुबईबाट चिनियाँ नागरिकले सुन ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडेपछि राहुलले सुन छुटाउन भूमिका खेलेको आरोप छ । ब्युरोले यसअघि नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन लुकाएको ७ सय ३० वटा भेप चोरेको आरोपमा अनुसन्धान गरेर प्रतिवेदन बुझाइसकेको छ । सुन चोरेर बेच्ने समूहविरुद्ध ब्युरोले ‘आपराधिक विश्वासघात’ विरुद्धको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको हो ।

भेपमा लुकाएर  २०७९ पुस १० मा काठमाडौँ ल्याएको सुन चिनियाँ नागरिकले दुबईबाट ल्याएको सीआईबीले गरेको अनुसन्धानबाट खुलेको छ । सुन लुकाएको ७३० वटा भेप चिनियाँ नागरिक लि हासोङ्गले त्रिभुवन विमानस्थलसम्म ल्याएको ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । उनले भने, ‘दुबईबाट चिनियाँ नागरिक हासोङ्गले सुन ल्याएर विमानस्थल भन्सारमा छाडेको देखिन्छ ।’

त्यसपछि सुन छुटाउन चिनियाँ तस्कर  दाओजिन वाङले पूर्व सभामुख कृष्ण बहादुर महरालाई गुहारेका हुन् । दुबईबाट तस्करी गरेर सुन ‘ल्याउने समूह’मा राहुल संलग्न रहेको ब्युरोको निष्कर्ष छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएको छ ।

सुन तस्करीमा सङ्गठित गिरोह संलग्न रहेको प्रहरीका उच्च अधिकृतहरू बताउँछन् । तर, ब्युरोले राहुल बाहेक थप आरोपीलाई पक्राउ गर्न सकेको छैन । राहुल पक्राउ परेको २७ दिन पुरा भैसकेको छ । भेप प्रकरणमा प्रहरीले जीवन कुमार गुरुङ सहित केही शंकितहरुसँग बयान लिएको छ । अब, प्रहरीसँग करिब १ महिना अनुसन्धान गर्ने समय छ । अनुसन्धानमा ढिलाइ भएकोबारे ब्युरोका अधिकृतहरू भन्छन्, ‘अनुसन्धान हुँदै छ ।’

भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन् । सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ र लि हासोङ्ग तिनै जना फरार छन् । फरार चिनियाँको खोजीका लागि चिनियाँ राजदूतावाससँग सहयोग मागिएको ब्युरोका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

जाँचबुझ आयोग बनाउन विवाद

सुन तस्करीबारे उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेबारे सत्तामा भएका राजनीतिक दल र प्रतिपक्षी नेकपा एमालेको बीचमा विवाद छ । ६० किलो सुन प्रकरणमा सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएपछि आयोग गठन गर्नेबारे सहमति भएको थियो । तर, क्षेत्राधिकारमा विवाद भएपछि ६० किलो र भेपसहित समग्र सुन तस्करीबारे छानबिन आयोग बन्न सकेको छैन ।

नेकपा (एमाले)ले केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानलाई सन्दर्भ सामग्रीको रूपमा मात्र लिनुपर्ने प्रस्ताव गरेको छ । तर, सत्तामा भएका नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले सीआईबीको अनुसन्धानमा छुटेकालाई पूरक प्रस्ताव मार्फत कारबाहीको दायरामा ल्याउन सुझाव दिनुपर्ने तर्क गर्दै आएको छ । 

यसैगरी असंलग्नलाई सीआईबी र सरकारी वकिलले प्रतिवादी बनाएको भएमा छाड्ने सुझाव दिने गरी आयोग गठन गर्नुपर्ने आफूहरुको प्रस्ताव रहेको कांग्रेसका एक जना केन्द्रीय सदस्यले बताए । 

ती केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘सुन प्रकरणमा असंलग्नलाई सीआईबी र सरकारी वकिलले प्रतिवादी बनाएको भएमा छाड्ने सुझाव दिने गरी आयोग गठन गर्नुपर्ने हाम्रो प्रस्ताव छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप