शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
भेपमा सुन तस्करी

चिनियाँ लि हासोङ्गले दुबईबाट ल्याएका थिए भेपमा लुकाएको सुन

राहुलले आइफोन फाले, हुवावे लिएर गए
शुक्रबार, ०५ असोज २०८०, २३ : ३०
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ ।  इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको आरोपमा कृष्ण बहादुर महराका छोरा राहुल थुनामा छन् । दुबईबाट चिनियाँ नागरिकले सुन ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडेपछि राहुलले सुन छुटाउन भूमिका खेलेको आरोप छ ।

सुन ल्याउने समूहसँग राहुल महराको ‘कनेक्सन’ देखिएको छ । २०७९ पुस १० मा काठमाडौँ ल्याएको सुन चिनियाँ नागरिकले दुबईबाट ल्याएको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले गरेको अनुसन्धानबाट थाहा भएको छ । सुन लुकाएको ७३० वटा भेप चिनियाँ नागरिक लि हासोङ्गले त्रिभुवन विमानस्थलसम्म ल्याएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । उनले भने–‘दुबईबाट चिनियाँ नागरिक हासोङ्गले सुन ल्याएर विमानस्थल भन्सारमा छाडेको देखिन्छ ।’

त्यसपछि सुन छुटाउन चिनियाँ तस्कर दाओजिन वाङले पूर्व सभामुख कृष्ण बहादुर महरालाई गुहारेका हुन् । दुबईबाट तस्करी गरेर सुन ‘ल्याउने समूह’मा राहुल संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएको छ ।

भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन् । सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ र लि हासोङ्ग तिनैजना फरार छन् । फरार चिनियाँको खोजीका लागी ब्युरोले चिनियाँ राजदुतावास सँग सहयोग मागेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन भन्सार प्रमुख अरुण पोखरेलले शंका नगरेको भए सो भेप हात्तिगौंडा स्थित गोदाममा जान्थ्यो । सह–सचिव पोखरेलले शंका लागेपछि त्यसबारे अनुसन्धान गर्न सिआईबीलाई पत्र लेखेका थिए ।  हात्तिगौंडाको गोदाम दाओजिनले संचालन गरेका हुन् । हात्तिगौंडा स्थित तस्करको गोदाममा सिआईबीले छापा मारेको छ ।

राहुलले लुकाए प्रमाण

भदौ १३ मा पक्राउ पर्दा राहुलको साथमा पुरानो मोबाइल थिएन । राहुलले पहिलेदेखी बोकेको आइफोन लुकाएका छन् । पक्राउ पर्दा उनको साथमा हुवावेको मोबाइल भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘प्रमाण लुकाउन मोबाइल परिवर्तन गरेको भेटिएको छ ।’ राहुलको मोबाइल प्रहरीले डिजीटल फरेन्सिक ल्याबमा परीक्षण गर्न पठाएको छ ।

भेप प्रकरणमा बिहिबार सिआईबीले जिवन कुमार गुरुङसँग बयान लिएको छ । सुन तस्करी गर्ने समूहसँग सम्पर्क देखिएपछि उनलाई सोधपुछ गरिएको अनुसन्धान संलग्न एकजना अधिकृतले जानकारी दिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप