बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

गोपालमानले किन लिए समानुपातिक सूचीबाट नाम फिर्ता ?

मङ्गलबार, ०९ असोज २०८०, १९ : ००
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रतिनिधिसभाको समानुपातिकतर्फ आदिवासी जनजातितर्फ एक नम्बरमा रहेको नाम फिर्ता लिएका छन् । 

बन्द सूचीमा एक नम्बरमा रहेको नाम फिर्ता लिन श्रेष्ठले दिएको निवेदनलाई सोमबार बसेको कांग्रेस बैठकले अनुमोदन गरेको हो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ आदिवासी जनजातितर्फ श्रेष्ठको बन्द सूचीको एक नम्बर नाम थियो । कांग्रेसबाट ३२ जना समानुपातिक सांसद मध्ये तीन जना पुरुषले मौका पाउँदा निर्वाचन परिचालन समितिमा संयोजक समेत रहेका श्रेष्ठ छुटेका थिए ।

खसआर्यको पहिलो नम्बरमा रहेका पार्टी प्रवक्ता प्रकाशशण महत, मेधसीतर्फ पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलिततर्फ पहिलो नम्बरमा रहेका सहमहामन्त्री जीवन परियार सांसद बनेका थिए ।

श्रेष्ठले एक महिनाअघि नै नाम फिर्ता लिएको छु भनेर पार्टीमा निवेदन दिएका थिए । नेता श्रेष्ठले रातोपाटीसँग भने,'आउनुपर्ने मान्छे आइनँ । त्यस सन्दर्भलाई भुल्नका लागि नाम फिर्ता लिएको हुँ । त्यसमा नाम किन झुड्याइराख्ने ?' 

समानुपातिक सूचीमा नाम हुँदा उम्मेदवार बन्न वा राजनीति नियुक्ति लिन घाडो हुने उनको भनाइ थियो । 'अब समानुपातिकतिर कहिलै जानुपनि छैन । एक नम्बरमा भएको मान्छे नआएपछि मौका आउला भनेर कुरेर बस्न मन लागेनँ, अन्याय गर्नेले अन्याय गरिहाल्यो,' उनले भने ।

राष्ट्रिय सभाको निर्वाचनका लागि अहिले नै नाम फिर्ता लिनु भएको हो भन्ने प्रश्नमा श्रेष्ठले भने, 'म एयाक्टिभ मान्छे कहीँ जानु पर्‍यो । केही गर्नुपर्‍यो । त्यो घाडो हुन्छ । त्यो घाडो पन्छाएको हो ।' 

आगामी माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्यको २१ जना सांसद आफ्नो ६ वर्षे कार्यकाल पुरा गरेर आगामी फागुन २० गते बिदा हुँदैछन् । त्यसको करिब ३५ दिन अगाडि राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुनेछ ।

श्रेष्ठले भने, 'राष्ट्रिय सभाका आउन समय छ । तर, राति सपनामा पनि समानुपातिकमा नाम छ भन्ने कुरा आउने । सांसद हुन्छु भनेरै नाम राखेको हो । खस्ला र खाउँला भनेर बसेर काम छैन ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप