शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सोह्रश्राद्ध

सोह्रश्राद्ध कसरी गर्ने, कति प्रकारका छन् श्राद्ध ?

शनिबार, १३ असोज २०८०, १४ : १८
शनिबार, १३ असोज २०८०

शास्त्र एवं सतानन हिन्दु संस्कार र प्रचलन अनुसार दिवङ्गत पितृले पाऊन् भन्ने उद्देश्यले श्रद्धापूर्वक गरिने कर्मलाई श्राद्ध भनिन्छ, भनेको पाइन्छ । अर्थात् श्राद्ध भनेको पितृ यज्ञ हो । 

श्राद्धका विषयमा ऋग्वेद, शुक्ल यजुर्वेद (४०सौँ अध्याय), शतपथ ब्राह्मणको (१००औँ अध्याय) कात्यायन स्मृति, भविष्य पुराण, हेमाद्रिको श्राद्धखण्ड आदिमा माथि उल्लेख गरे अनुसारकै परिभाषा दिएको पाइन्छ । विष्णु पुराण, नृसिंह पुराण, गरुड पुराण आदिमा पनि यही कुरालाई समर्थन गरेको पाइन्छ । संस्कृतमा एउटा उक्ति रहेको छ — पितृकार्यं द्विजातीनां देवकार्याद्विशिष्यते । अर्थात् पितृकार्य अन्य देवकार्यको तुलनामा अतिश्रद्धा, सम्मान, विश्वासपूर्वक गरिने पवित्र कर्म हो भनिएको छ । श्राद्ध पद्धति कात्यायन पद्धतिलाई मान्नुपर्छ पनि भनिएको छ ।

अथर्ववेदमा त पितृहरू पृथ्वी, अन्तरिक्ष र द्युलोक निवास हुन्छ । त्यसो भएको हुनाले पितृको पहिलो पुस्ता (पिता–माता)लाई वसुस्वरूप भनेर सङ्कल्प गरिन्छ । त्यसैगरी दोस्रो पुस्ता (हजुरबा–हजुरआमा) लाई रूद्रस्वरूप र तेस्रो पुस्ता (बुढाहजुरबा–बुढीहजुरआमा) लाई आदित्यस्वरूप भनेर सङ्कल्प वा श्राद्धकर्म गरिन्छ । सन्ततिहरूले गरेको श्राद्धकर्मको फलबाट पितृहरूले दीर्घकालसम्म सुख पाउँछन् र आफ्ना सन्ततिहरूलाई इच्छित फल प्रदान गर्दछन् भनिएको छ ।

पितृकार्यमा शुद्धता र पवित्रतालाई लिएर धेरै नै चर्चा गरेको पाइन्छ । श्राद्धको अघिल्लो दिनलाई हविष्ये वा एकछाकी भन्ने चलन छ । यस दिन बिहान नित्यकर्ममा श्राद्धकर्ताले मुण्डन गर्ने, नुहाउने, जनै फेर्ने नङ काट्ने गरिन्छ । बुहारीहरूले पिनाले नुहाएर सरसफाइ गरेपछि श्राद्धको पूर्वाङ्ग सुरु भएको मानिन्छ । भनिन्छ, यसपछि सुनेको आसोच बार्नुपर्दैन तर व्यवहारमा सो हुन भने नसकेको पाइन्छ ।

पिण्ड तयार गर्नमा विवाहिता बुहारीको कार्यलाई बढी प्राथमिकता दिइएको पाइन्छ । श्राद्धकर्ताको शरीर, धन, पत्नी, भूमि, मन, मन्त्र र ब्राह्मण यति सात कुरा शुद्ध हुनैपर्र्छ भनिएको छ । श्राद्ध गर्दा सबै वैदिक मन्त्रहरू प्रयोग गरिन्छ र प्रायः अपसव्य भएर नै कार्य गरिन्छ ।

सोह्रश्राद्धका बारेमा यति धेरै नियम र विधान अनि दुविधा छन् कि कसैले सामान्यतया लेखोपाखो नै पाउन कठिन पर्छ, यसो हुनुमा हाम्रो अध्ययन र ज्ञानको कमी पनि हुन सक्छ । यसका बारेमा जति लेखे पनि सकिँदैन जस्तो लाग्छ । जस्तै कसैले मघा तिथिमा श्राद्ध गर्न हँुदै हँुदैन भनेको पाइन्छ भने कसैले गर्न हुन्छ भनेको पाइन्छ ।

मुण्डनका विषयमा श्लोक छ :

मुण्डन कर्मविना श्राद्ध यः करोति नराधम ।

जलं च रुधिरं प्रोक्ता अन्नं विष्ट समं विधु ।

बुहारीका विषयमा ‘छोरीको छोरो सालको पातझिनुवाको चामल, बुहारीको हात’ भनेको पाइन्छ ।

श्राद्धको किसिम

भनिन्छ, विभिन्न समयमा गरिने श्राद्धहरूको संख्या कुल ९६ वटा छन् । सामान्यतः व्यवहारमा परिरहने श्राद्ध निम्न छन् ।

एकोद्दिष्ट श्राद्ध : पितृको मृत्यु भएको तिथिमा गरिने श्राद्ध ।

एकपार्वण श्राद्ध : औँसीमा, पूर्णिमामा र पितृ पक्षमा मृत्यु भएका पितृको गरिने श्राद्ध ।

आभ्युदयिक श्राद्ध : विवाह वा व्रतबन्ध वा यस्तै मांगलिक कार्यभन्दा पहिला गरिने श्राद्ध ।

तीर्थ श्राद्ध : तीर्थ जानुभन्दा पहिला गरिने श्राद्ध ।

काम्य श्राद्ध : कुनै कार्य सिद्धि होस् भनेर गरिने श्राद्ध ।

प्रौष्टपदि श्राद्ध : शरीर स्वस्थ्य राख्न गरिने श्राद्ध ।

गुठी श्राद्ध : राजाहरू वा अन्य कसैले आफू वा आफ्ना पुर्खाहरूको श्राद्ध चलाउन गुठी राखेकामा गुठीयारले गरिने श्राद्ध ।

यात्रा श्राद्ध : तीर्थ जानुभन्दा पहिला घिउले आहुति दिएर गरिने श्राद्ध ।

पार्वण श्राद्ध वा सोह्र श्राद्ध, महालय श्राद्ध : आश्विन कृष्ण प्रतिपदादेखि सुरु गरी आश्विन शुक्ल प्रतिपदा सम्मका १६ दिनसम्म गरिने श्राद्ध ।

यो लेखको उद्देश्य नै पितृ पक्ष या सोह्र श्राद्ध को जानकारी दिने भएकाले यसमा त्यसैको मात्र चर्चा गरिएको छ ।

सोह्रश्राद्धलाई पार्वण श्राद्ध या महालय श्राद्ध पनि भनिन्छ । यथार्थमा यही आश्विन कृष्ण औँसीका तिथिमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ । पछि पछि पितृपक्षका सबै तिथिमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिन थालियो ।

के हो सोह्र श्राद्ध ?

सोह्रश्राद्धलाई पार्वण श्राद्ध या महालय श्राद्ध पनि भनिन्छ । यथार्थमा यही आश्विन कृष्ण औँसीका तिथिमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ । पछि पछि पितृपक्षका सबै तिथिमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिन थालियो । चन्द्रमान अनुसार आश्विन कृष्ण प्रतिपदादेखि सुरु गरी आश्विन शुक्ल प्रतिपदा सम्मका १६ दिनसम्म गरिने हुनाले यसलाई सोह्र श्राद्ध भनिएको हो । औँसीपछिको आश्विन शुक्ल प्रतिपदा वा घटस्थापनाका दिन पनि मातामहहरूको श्राद्ध गरिन्छ । यसै भएर १६ दिन पुगेको हो । यो पक्षमा श्राद्ध गर्नाले वर्ष दिनसम्म पितृ तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता रहँदै आएको छ । पार्वणश्राद्ध चार प्रकारका हुन्छन् भनिएको छ । एक पार्वण, द्विपार्वण, त्रिपार्वण र चतुश्पार्वण ।

सोह्रश्राद्धभरि काठमाडौँको पशुपति, कोशीको बराहक्षेत्र, रिडी, देवघाट, त्रिवेणी, जनकपुर, मुत्तिनाथ, दामोदर कुण्ड, कागवेणी, बेत्रावती लगायत अन्य धार्मिक तीर्थस्थलमा तर्पण तथा पिण्डदानका साथै सिदादान गर्ने गरिन्छ । तर्पण, पिण्ड र सिदादान गर्दा तिल, कुश र जलको धेरै प्रयोग गरिन्छ । पितृपक्षमा शुद्ध शाकहारी भोजनमा रहेर पितृलाई फलफूल, दूध, बारा, नैवेद्य आदिले वसन्त पूजा गर्ने प्रचलन रहेको छ । 

यस वर्ष अर्थात् २०८० सालको सोह्रश्राद्ध आश्विन १३ गते शनिबार (सेप्टेम्बर ३०) बाट सुरु हुन गइरहेको छ । वास्तवमा सूर्य सिंह राशिमा गएपछि नै पितृपक्षको सुरुआत भएको मानिन्छ । आश्विन कृष्ण पक्षमा सूर्य र अर्यमा (पितृका देवता) को मिलन हुने समय हो । अनि सूर्यको सुषुम्ना नामक किरणको आश्रय लिई पितृलोकमा रहेका हाम्रा मृत पूर्वजले सोह्रश्राद्धमा पृथ्वीमा भ्रमण गर्ने गर्दछन् भनिन्छ । त्यसो हुँदा आफ्ना पितृहरू पृथ्वी वा आफ्नै गाउँठाउँमा आउने हुँदा उक्त अवधिमा श्रद्धापूर्वक प्रदान गरिएको तर्पण, श्राद्धादि कर्म पितृले सहज ढङ्गले प्राप्त गर्ने विश्वास गरिन्छ । 

सोह्रश्राद्ध गर्ने तिथि

मघा तिथि परेबाहेक सबै तिथिमा सोह्रश्राद्ध गरिन्छ तर कुनै दिन त्यो तिथिको भोग १६ घडीभन्दा कम भएमा अघिल्लै दिन वा पछिल्लो दिन गर्नु भन्ने विधान पाइन्छ ।

पञ्चमी श्राद्ध : यस तिथिमा सामान्यतया जसको मृत्यु अविवाहित स्थितिमा भएको छ त्यस्ता मानिसको श्राद्ध गरिन्छ । त्यसैले यसलाई कुमार पञ्चमी पनि भन्दछन् ।

नवमी श्राद्ध : यो तिथिमा श्रीमान छँदै मृत्यु भएका माताहरूको श्राद्ध गरिन्छ । त्यसैले यसलाई मातृनवमी भन्छन् । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ । यसलाई अविदवा नवमी श्राद्ध पनि भनिन्छ ।

एकादशी एवं द्वादशी श्राद्ध : यस तिथिमा संन्यासीहरूको श्राद्ध गरिन्छ । संन्यासीको तिथिश्राद्ध गरिँदैन ।

चतुर्दशी श्राद्ध : यो तिथिमा अकाल मृत्यु भएका (जस्तै : लडेर, दुर्घटना, हत्या, आत्महत्या, युद्ध वा शस्त्रद्वारा मृत्यु भएका । सुत्केरी व्यथा, विष सेवन, सर्पदंश, पानीमा डुबेको वा बगाएको, आगोले पोलेको आदि) मानिसको श्राद्ध गरिन्छ । 

औँसी श्राद्ध– यो सोह्रश्राद्धको अन्तिम दिन हो । यो दिन कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध सम्पादन गर्न सकिएन वा पितृको तिथि थाहा भएन भने त्यस्ता मानिसको यस तिथिमा श्राद्ध गर्न सकिन्छ । साथै पितृपक्षमा, आँैसी र पूर्णिमामा मृत्यु भएका मानिसको पनि यही तिथिमा एकपार्वणश्राद्ध गरिन्छ । यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता छ । औँशीलाई सर्वपितृ मोक्षऔँसी समेत भन्ने गरिन्छ ।

आश्विन शुक्लपक्ष प्रतिपदा श्राद्ध : यो तिथिमा मामाघर बाजेबज्यैको श्राद्ध गर्ने कोही भएन भने र तिनको तिथि पनि थाहा भएन भने भाञ्जा वा कसैलाई लगाएर मातामह श्राद्ध गरिन्छ । 

यो सोह्र श्राद्धमा दुईवटा विश्वेदेवा ऋषि (घर र मामाघरका) र दुईवटा पितृ ऋषि (घर र मामाघरका) स्थापना गरिन्छ । यसमा पाँचवटा सिदा (दुईवटा सिदा दुई विश्वेदेवा ऋषिलाई, दुईवटा सिदा दुई पितृ ऋषिलाई र एकवटा सिदा भूस्वामीलाई) दान गरिन्छ । 

पितृ दोष : कोही मानिस वा महिनाको कुण्डलीको नवौँ भावमा राहु वा केतु रहेमा वा तिनको दृष्टि परेमा पितृ दोष रहेको भनिन्छ । 

सोह्रश्राद्धमा तर्पण दिने क्रम यस प्रकार उल्लेख गरेको पाइन्छ ।

आब्रह्मस्तम्बपर्यन्तं देवर्षिपितृमानवाः,

तृप्यन्तु पितरः सर्वे मातृमातामहादयः ।

पितृवंशे मृता ये च मातृवंशे तथैव च,

गुरुश्वशुरबन्धूनां ये चान्ये बान्धवाःमृताः ।

तेतृप्तिमखिलायान्तुयेचास्मत्तायेकाङ्क्षिणः,

येबान्धवाकबान्धवावायेकन्यजन्मनिबान्धवाः

ते सर्वे तृप्तिमायान्तु मद्दत्तेनाम्बुनाखिलाः

देवासुरास्तथा यक्षा नागाः गन्धर्वराक्षसाः ।

पिशाचाःगुह्यकाःसिद्धाःकूष्माण्डास्तरवःखगाः

जलेचराभूमिचरा वाय्वाहारश्चजन्तवः ।

तेतृप्तिमखिलायान्तु मद्दत्तेनाम्बुनाखिलाः ।

नरकेषु समस्तेषु यातनासु च ये स्थिताः

तेषामाप्यायनायैतद्दीयते सलिलं मया ।

अतीतकुलकोटीनाम् सप्तद्वीपनिवासिनाम्, 

आब्रह्मभुवनाँल्लोकानिदमस्तुतिलोदकम् ।।

यसको सामान्य भावार्थ अर्थ हुन्छ — सामान्यतया घरतर्फका, मामाघर तर्फका, विवाहिता दिदीबहिनी, फुपू, सासू ससुरा, मित मित्र, सौताने आमा, राजारानी आदि र यक्ष, नरकमा परेका आदिलाई क्रमशः तर्पण दिनु भनेको पाइन्छ ।

सोह्रश्रद्धका पिण्ड 

सोह्रश्राद्धमा कतिवटा पिण्ड दिने भन्नेमा एकमत पाइँदैन । हाल सोह्रश्राद्धमा ६ वटा पिण्ड दिने चलन छ । यो वास्तवमा द्विपार्वण श्राद्धमा पिण्ड दिने सख्या हो । घरतिरका पितृलाई तीन र मामाघरतिरकालाई तीन । यो सोह्रश्राद्ध द्विपार्वण हो । पार्वण श्राद्धमा कसैले ६ पिण्ड दिने भनेका छन् भने कसैले तीर्थश्राद्धमा जस्तै जतिजनालाई तर्पण दिइन्छ त्यतिवटा पिण्ड दिनुपर्छ भनेका छन् । एकपार्वणमा तीन, द्विपार्वणमा ६, त्रिपार्वणमा नौ र चतुश्पार्वणमा १२ पिण्ड दिइन्छ ।

पिण्डलाई खिर पकाउन्छ । पिण्ड बटार्दैमा भित्र तुलसीको पात वा तुलसीको मञ्जरी राखिन्छ । वरिपरि तिल, घिउ, मह, दुध, दही, सख्खर आदि पनि राखिन्छ ।

श्राद्ध सकिएपछि पानीमा पिण्ड सेलाउने चलन छ । पिण्ड पानीमा सेलाउन नपाएमा गोरुलाई वा बोकालाई वा अग्निलाई वा ब्राह्मणलाई ख्वाउने भनेको पाइन्छ । 

पार्वण श्राद्धको काम गर्दै जाँदा अन्नदान (सिदादान) मा पुगेपछि जतिजना बाह्मण छन् ती सबैलाई टीका लगाउने र ती ब्राह्मणबाट पितृसूक्त, रामगीता, पुरुषसूक्त आदि पाठ गराइन्छ ।

पार्वण श्राद्ध कुनै पनि कारणले रोकिएमा फुकेको भोलिपल्ट वा आश्विन शुक्ल पञ्चमी वा गाईतिहारे औँसी वा एकादशीमा गर्न सकिन्छ भन्ने पाइन्छ ।

यो महालय श्राद्ध सामान्य तरिकाले मरेका तीनपुस्ता भित्रका कुनै पनि पितृको तिथिमा गरिन्छ । हाल प्रायः गरेर बुवाको तिथिमा गर्ने गरिन्छ । त्यस्तो तिथिमा चतुर्दशी वा मघा परेमा त्यसको सट्टा द्वादशी, अष्टमी वा आँैसीमा गर्नु भनेको पाइन्छ । 

महालय श्राद्ध अपराह्नबाट सुरु गर्नु भनेको पाइन्छ । यो समय हालको चलन चल्तीको समय अनुसार १२ बजेपछि हुन आउँछ तर व्यवहारमा यो हुन सकेको पाइँदैन । 

यो महालय श्राद्ध घरको भूमिमा गर्नु भन्ने पाइन्छ । श्राद्धकर्ता डेरामा वा कुनै कारणले आफ्नो घरबाहेक अन्यत्र बसेको भए नजिकको तीर्थमा गर्न सुझाएको पाइन्छ । 

महालय श्राद्धका लागिमा तीन कुराको बढी महत्त्व दर्शाइएको छ — छोरीको छोरा, कालो तिल, अपराह्नको समय ।

श्राद्धको पितृप्रसाद लगाउँदा आशीर्वादका रूपमा तलको मन्त्रले आशीर्वाद दिने गरिन्छ ।

आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । 

प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः।। 

सोह्रश्राद्धका बारेमा यति धेरै नियम र विधान अनि दुविधा छन् कि कसैले सामान्यतया लेखोपाखो नै पाउन कठिन पर्छ, यसो हुनुमा हाम्रो अध्ययन र ज्ञानको कमी पनि हुन सक्छ । यसका बारेमा जति लेखे पनि सकिँदैन जस्तो लाग्छ । जस्तै कसैले मघा तिथिमा श्राद्ध गर्न हँुदै हँुदैन भनेको पाइन्छ भने कसैले गर्न हुन्छ भनेको पाइन्छ । यसैले सोह्रश्राद्धका बारेमा यति नै ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप