बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
आजदेखि सोह्र श्राद्ध सुरु, पशुपतिमा देखियो यस्तो दृश्य (तस्बिरहरू)
परम्परा

आजदेखि सोह्र श्राद्ध सुरु, पशुपतिमा देखियो यस्तो दृश्य (तस्बिरहरू)

शनिबार, १३ असोज २०८०

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ ।  प्रतिपदा र द्वितीया तिथिमा गर्नुपर्ने श्राद्धका लागि मानिसहरू बिहानैदेखि पशुपति पुगेका छन् । 

आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।

यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व, यज्ञ तथा ठुला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । 

सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्म शास्त्रीय मत छ । ठुला पर्व वा चाड मनाउनुअघि पितृ तृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया