बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा

आइतबार, २८ वैशाख २०८२, १९ : ००
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । सडकमा राजावादीहरू सक्रिय हुन थालेपछि चैत १५ गते काठमाडौँको भृकुटीमण्डपमा विरोध सभा गरेको विपक्षी चार दलीय समाजवादी मोर्चा फेरि निष्क्रिय देखिएको छ । 

मोर्चाको विरोध सभालाई चुनौती दिँदै त्यसदिन तीनकुनेमा राजावादीले गरेको कार्यक्रम हिंसात्मक भएको थियो । सरकारले नियोजित रूपमा आफूहरूको कार्यक्रममा बल प्रयोग गरेको आरोप लगाउँदै उनीहरूले निजी तथा सरकारी सम्पत्तिमाथि आगजनी गर्दा दुई जनाको मृत्यु हुनुको साथै भौतिक पूर्वाधारमा करोडौँ क्षति पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । राजावादीले नेकपा एकीकृत समाजवादीको कार्यालयमा समेत आगजनी गरी क्षति पुर्‍याएको थियो ।

चैत १८ गते समाजवादीको पार्टी कार्यालयमा पुगेको क्षति अनुगमन पश्चात् बसेको मोर्चाको बैठकले घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकाल्यो । क्षतिपूर्ति ज्ञानेन्द्रबाट नै भराउने गरी सरकारको ध्यानाकर्षण गराउन डेलिगेसन गर्ने निर्णय गर्‍यो । 

त्यसयता मोर्चाले गति लिन सकेको छैन । केही दिन पहिले मोर्चाका संयोजक तथा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक दुई दिनमै बैठक बसेर आगामी योजना र कार्यक्रम तय गर्ने बताएका थिए । तर मोर्चा घटकका शीर्ष नेताहरू आन्तरिक काममै व्यस्त हुँदा बैठक बस्न नसकेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले रातोपाटीलाई बताए ।

‘बैठक बस्नका लागि तयारी गरेको हो । तर मोर्चाका अन्य दलका नेताहरू आ–आफ्ना पार्टी काममा व्यस्त हुँदा बैठक बस्न सकेको छैन । तत्काल बैठक बस्न सक्ने अवस्था देखिँदैन’, रातोपाटीसँग उनले भने ।

जेठ २ गतेदेखि नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सञ्चालनका लागि जेठ १ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरू डडेलधुरा जाँदैछन् । अभियान जेठ महिनाभर हुनेछ । 

नेकपा एकीकृत समाजवादी पनि आन्तरिक कार्यक्रममै व्यस्त छ । जेठ १५ गते संसदमा सरकारले बजेट पेस गर्ने भएकाले बजेट अधिवेशनमा ध्यान दिनुपर्ने भएकाले मोर्चाको बैठक बस्ने सम्भावना नभएको विश्वकर्माले बताए । उनका अनुसार केन्द्रमा बैठक बस्न नसकिए पनि जिल्ला स्तरमा संगठन विस्तार भइरहेको छ । अहिलेसम्म ७७ जिल्लामध्ये ७३ जिल्लामा मोर्चाले जिल्लास्तरीय समिति गठन गरिसकेको जिकिर गरे । पालिकामा पनि आ–आफ्ना ढंगले संगठन विस्तार भइरहेको विश्वकर्माको भनाइ छ ।

अगाडि बढेन पार्टी एकता

नेपाली विशेषताको समाजवादी क्रान्तिको आधार तयार पानै मोर्चा गठन गरिएको दाबी नेताहरूले गरेका थिए । यद्यपि मोर्चा गठन भएको २ वर्ष पुरा हुन लाग्दा समेत प्रभावकारी काम गर्न सकेको छैन । २०७९ सालको आम निर्वाचन अगाडि वामपन्थी समाजवादी शक्तिहरूबिच एकता, रूपान्तरण र ध्रुवीकरणको अभियान चलाएको थियो ।

 पछिल्लो समय आएर एकता प्रक्रिया नै रोकिएको छ । मोर्चामा आबद्ध दल एकीकृत समाजवादी बाहेक विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेसपाबिच तत्काल एकता गर्ने सहमति समेत आन्तरिक किचलोको कारण घर्किँदै गएको छ । नेकपा र नेसपाले १४ महिनाअघि नै माओवादीसँग एकता गर्ने निर्णय गरिसकेको छ । पार्टीको नाम परिवर्तन र नेताहरूको व्यवस्थापनलाई लिएर माओवादीभित्रै किचलो बढ्ने देखिएपछि प्रचण्डले एकता प्रक्रियालाई अगाडि बढाएका छैनन् ।  प्रवक्ता विश्वकर्माले माओवादी लगायत वामपन्थी शक्तिबिच पार्टी एकता समेत तत्काल सम्भव नदेखिएको बताएका छन् ।

‘तत्काल वामपन्थीबिच पार्टी एकताको कुनै सम्भावना छैन । आन्तरिक रूपमा पार्टीलाई बलियो बनाउने गरी संगठन विस्तार तथा भावी योजना बनाउने गरी अगाडि बढेका छौँ । मोर्चामै रहेका दलहरूबिच एकताका विषयमा छलफल भएको छैन’, उनले भने ।

यता माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पहिला पार्टीलाई एकताबद्ध बनाएर लगेपछि मात्र त्यसपछि अन्य वामपन्थी पार्टीसँग एकता प्रक्रिया अगाडि बढाउने स्पष्ट पारे । यद्यपि उनले २०८४ को निर्वाचनसम्म वामपन्थी शक्तिबिच एकता हुने दाबी गरे ।

‘२०८४ मा चुनाव जित्ने गरी वामपन्थी एकता पनि हुन्छ । यी सबैमा सफल हुन पहिला पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरा मुख्य हो । त्यो एकताबद्ध भएपछि सबै कुरा ठिक भएर जान्छ । अहिले हामी वर्ग समुदायमै केन्द्रित रहेर अभियानमा सहभागी हुन्छौँ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप