बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ

छैन दसैँ–तिहारको रौनक : उपभोग्य बजारको मनोबल घट्दा आयात न्यून

आइतबार, १४ असोज २०८०, १० : ५१
आइतबार, १४ असोज २०८०

काठमाडौँ । आर्थिक मन्दीको प्रभाव यस वर्षको दसैँ–तिहारको उपभोग्य बजारमा नराम्रैसँग पर्ने देखिएको छ । दसैँ–तिहारको मुखमै उपभोग्य बजारमा माग र सप्लाई (वितरण) नहुँदा बजार प्रायः सुनसानकै अवस्थामा पुगेको हो ।

आर्थिक मन्दीको प्रभावस्वरुप उपभोग्य बजारको शिथिलता हालसम्म कायमै छ । उपभोक्ताको हातमा भरसक पैसा नहुने र भएकाले पनि ‘के हो, को हो’ भन्दै खर्च गर्नभन्दा बचत गर्नतर्फ लाग्दा बजारको कारोबार प्रायः शून्यको अवस्थामा झरेको राजधानीको व्यावसायिक हब न्यूरोड, असनका व्यवसायी बताउँछन् ।

यो वर्ष दसैँ–तिहारकै लागि भनेर भित्रिने लत्ताकपडा, रेडिमेट गार्मेन्ट सामग्री, टिभी, मोबाइल, घडी, फ्रिज लगायतका घरायसी प्रयोगका विद्युतीय सामग्रीहरूको आयात घट्न पुगेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्षको तुलनामा यो वर्ष दसैँअघि साउन र भदौमा ५ प्रतिशतभन्दा बढीले आयात घटेको छ ।

भन्सार विभागका अनुसार यो वर्ष भदौ मसान्तसम्ममा २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको विदेशी तयारी तथा केही कच्चा मालवस्तु आयात भएको छ । अघिल्लो वर्षको यसै अवधिमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

जबकि दसैँ–तिहारकै लागि भनेर बढी मालवस्तु आयात हुने यसै समयमा आयात घट्नुले बजारमा आर्थिक मन्दीको प्रभाव अझै कायम रहेको प्रस्ट हुने व्यवसायीको भनाइ छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्षसमेत रहेका व्यवसायी नरेश कटुवाल आर्थिक शिथिलताका बिच मुख्य चाडवाडकै समयमा बजारमा सन्नाटा छाएको बताउँछन् ।

‘उपभोग्य बजारको स्थिति भयावहकै अवस्था छ । अत्यावश्यक बाहेक अतिरिक्त कुनै पनि सामान वस्तुको खरिद बिक्री छैन । मुख्यतः उपभोक्ताहरूको हातमा पैसा छैन, पैसा भए पनि आर्थिक मन्दीको भयले खर्च गर्न चाहिरहेका छैनन् । यस कारण बजारको व्यापार प्रायः ठप्पको स्थितिमा छ,’ उनले रातोपाटीसँग भने ।

दसैँ–तिहारको उत्साह यतिबेला बजारको भिड थामी नसक्नु हुनुपर्ने बेला व्यवसायीहरू तनावमा बस्नु परेको उनको भनाइ छ ।

‘सन् २०१९ र २०२० कोभिड–१९ का कारण बजार पूर्ण रूपमा प्रभावित भयो । २०२१ र २०२२ पनि यस्तैयस्तै भयो । सोचेअनुरूप व्यापार हुन सकेन । यसपालि भने राम्रै व्यापार हुने अपेक्षा थियो, आर्थिक मन्दीका कारण सबै ध्वस्त भयो’ उनले भने, ‘मुख्य चाडबाड दसैँ–तिहारमा पनि व्यवसाय हुँदैन भन्ने लक्षण त तिजको व्यापारले नै देखाइसक्यो ।’

उसो त व्यवसाय बजारमा कारोबार सोचेअनुरूप नहुने भएपछि होलसेल आयातकर्ता व्यवसायीहरूले दसैँ–तिहारका लागि मालवस्तु समेत आयात गर्न छाडेका छन् । जसका कारण आयात तथ्याङ्कमा समेत देखिन पुगेको छ ।

dt

तथापि, उपभोग्य बजारको शिथिलता, उच्च बजार महँगीसँगै पछिल्लो समय पेट्रोलियम पदार्थ आयातमा आएको कमीका कारणले पनि आयातदर केही घट्न पुगेको भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले रातोपाटीलाई बताए ।

‘आर्थिक मन्दीका कारण केही आयात घटेको पक्कै हो । समग्रमा हेर्दा पछिल्लो समय पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र ग्यास) को आयातमा आएको कमीले परिणाम घटेको छ । तर, यसको रिप्लेसमेन्ट अन्य वस्तुहरूको आयातमा देखिएको छ,’ निर्देशक खड्काले भने, ‘पछिल्लो समय विद्युतीय गाडीको आयात बढेको छ ।’

विभागकै तथ्याङ्कका अनुसार भदौ मसान्तसम्म २ अर्ब ४३ करोड १५ लाख रुपैयाँ बराबरको ८९८ वटा विद्युतीय (कार, भ्यान, जिप) भित्रिएका छन् । यस्तो विद्युतीय गाडी दक्षिण भारततिरबाट भन्दा बढी चीनबाट आयात भइरहेको छ ।

जसका कारण दक्षिणतर्फका प्रायः सबै भन्सार कार्यालयहरूको राजस्व घट्दै गर्दा उत्तरतर्फको मुख्य दुई नाका रसुवागढी केरुङ भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयको राजस्वमा १५० प्रतिशत भन्दा बढीको वृद्धि भएको छ ।

रसुवागढी भन्सार कार्यालयले भदौ मसान्तसम्म ८ अर्ब २३ करोड ३४ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको छ । यो अघिल्लो वर्षको तुलनामा १६४.६७ प्रतिशतले वृद्धि हो । आर्थिक वर्ष २०७९÷८० मा रसुवागढी भन्सारले जम्मा ३ अर्ब ११ करोड ९ लाख ५१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

यस्तै तातोपानी भन्सार कार्यालयले समेत अघिल्लो वर्ष वर्षको तुलनामा १६८.२२ प्रतिशतले राजस्व वृद्धि गर्दै भदौ मसान्तसम्म ३ अर्ब ९२ करोड ६३ लाख ८४ करोड राजस्व सङ्कलन गरेको छ । यी दुई भन्सारको राजस्वमा उल्लेखनीय वृद्धि हुनुमा चीनतर्फबाट विद्युतीय गाडीको आयात बढ्नु हो ।

तर दक्षिणतर्फको प्रायः सबै भन्सार कार्यालयहरूमार्फत हुने आयात घटेसँगै राजस्व समेत घट्न पुगेको छ । समीक्षा अवधिमा प्रमुख भन्सार कार्यालय वीरगन्जको राजस्व अघिल्लो वर्षको भन्दा १३.३९ प्रतिशतले घटेको छ भने विराटनगर भन्सार कार्यालयको १३.५२ प्रतिशतले घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप