शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

खुम्चियो पेट्रोलियम पदार्थको आयात

आइतबार, १४ असोज २०८०, १५ : १४
आइतबार, १४ असोज २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा नेपालमा खपत नै प्रभावित बनेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षका २ महिनामा पेट्रोलियम पदार्थको आयात ह्वात्तै घटेको देखिएको छ । यस अवधिमा गत वर्षको सोही अवधिको तुलनामा ६ अर्ब २५ करोड रुपैयाँले आयात घटेको हो ।

आर्थिक वर्ष २०७८/७९ को साउन र भदौ महिनामा ४७ अर्ब ४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, एलपीजी, हवाई इन्धन, मट्टितेल र कोइला) आयात भएको थियो । चालु आर्थिक वर्ष (२०८०/८१) को सोही अवधिमा ४० अर्ब ७९ करोड रुपैयाँको मात्र पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६ अर्ब २५ करोड रुपैयाँले न्यून आयात हो ।

तथ्याङ्कअनुसार यस अवधिमा कोइलाबाहेक अन्य सबै खनिज इन्धनको आयात घटेको छ । कोइलाको आयात भने गत वर्षको सोही अवधिको तुलनामा ३२ करोड रुपैयाँले बढेको छ । गत वर्ष ३ अर्ब २१ करोड रुपैयाँको कोइला आयात भएकामा चालु वर्ष ३ अर्ब ५३ करोडको भित्रिएको छ । यसबाहेक, पेट्रोलको आयात ८८ करोडले खुम्चिएको छ भने डिजेलको आयात २ अर्ब ६८ करोडले खुम्चिएको छ ।

हवाई इन्धनको आयात ५ करोडले घट्दा मट्टितेलको आयात ३ करोडले घटेको छ । यस्तै, खाना पकाउने एलपी ग्यासको आयात ३ अर्ब १० करोडले घटेको छ । यसले गत वर्षको दुई महिनाको अवधिमा सबैजसो पेट्रोलियम पदार्थको आयात खुम्चिएको देखाउँछ ।

चालु आर्थिक र गत आर्थिक वर्षको २ महिनाको आयात

p

किन घट्यो आयात ?

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । कोभिड–१९ महामारीका कारण विश्वभर लकडाउन हुँदा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल २० अमेरिकी डलरसम्म आइपुगेको थियो । महामारीको प्रभाव न्यून भएसँगै विश्वभर आर्थिक गतिविधि चलायमान बन्दा एकाएक पेट्रोलियम पदार्थको माग बढ्यो ।

सोही समयमा तेल उत्पादक राष्ट्रहरुले उत्पादन कटौती गरे । फलस्वरुपः कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० अमेरिकी डलरभन्दा माथिसम्म पुग्यो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको स्वाभाविक असर नेपाली बजारमा समेत पर्‍यो । र, निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढ्यो । मूल्य बढेपछि पेट्रोलियम पदार्थको विकल्प खोज्दै उपभोक्ताले खपत समेत घटाए । यहीकारण, यतिबेला नेपाली बजारमा पेट्रोलियम पदार्थको खपत घटेको अर्थविद् डिल्लीराज खनाल बताउँछन् ।

यसबाहेक, कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपालमा समेत देखिएको छ । अर्थतन्त्रमा मन्दी आएसँगै आम्दानीको स्रोत खुम्चिएको छ भने खर्च गर्ने तौरतरिका समेत खस्किएको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर भदौ महिनामा पेट्रोलियम पदार्थको खपत घटेको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनी भन्छन्, ‘साउन महिनामा बढेको थियो । तर, भदौ महिनामा भने खुम्चिएको छ । यद्यपि, यसबाट नेपालको पेट्रोलियम खपत घटेको पुष्टि भने हुँदैन ।’

विद्युतीय प्रयोगले खपत वृद्धिमा ‘ब्रेक’

अन्तर्राष्ट्रिय बजारसँगै आन्तरिक बजारमा समेत निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा बिजुलीको उत्पादन पर्याप्त बढिसकेको थियो । माथिल्लो तामाकोसीले आफ्नो उत्पादन सुरु गरेपछि वर्षायाममा बिजुलीको मागभन्दा आपूर्ति बढी भयो । जसकारण, नेपाल सरकारसहित विद्युत् प्राधिकरण भारतमा बिजुलीको बजार खोज्दै भौतारिन थाल्यो । भारतमा बिजुलीको बजार खोज्दै प्रधानमन्त्रीदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसमेत बिजुलीको आन्तरिक खपत बढाउन लागिपरे ।

प्रधानमन्त्री, ऊर्जा मन्त्री र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भाषणैपिच्छे बिजुली खेर गइरहेकाले आन्तरिक खपत बढाउन भनेपछि उपभोक्ता यसप्रति आकर्षित बने । यससँगै, खाना पकाउने इन्डक्सन चुलो, माइक्रोओभन, हिटर, राइस कुकर र विद्युतीय सवारी लगायत विद्युतीय सामग्रीको माग र आयात बढ्न थाल्यो । गत आर्थिक वर्षमा मात्रै ३६ करोडको माइक्रोओभन, १४ करोडको इन्फ्रारेड चुलो र २८ करोडको इन्डक्सन चुलो आयात भएको छ । यस्तै, ३५ करोडको राइस कुकर र ११ करोडको पानी तताउने हिटर आयात भएको छ । यसबाहेक, ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी भित्रिएको तथ्याङ्क छ ।

यी विद्युतीय सामाग्री र विद्युतीय सवारीले पेट्रोलियम पदार्थको खपत घटाउन प्रत्यक्ष भूमिका खेले भने पेट्रोलियम पदार्थको खपत वृद्धि ‘ब्रेक’मा सहयोग गरे । जसकारण, गत आर्थिक वर्षमा समेत निगमको प्रक्षेपण विपरीत पहिलोपटक पेट्रोलियम पदार्थको खपत घटेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप