आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
काउन्टडाउन टू वर्ल्डकप

वेस्ट इन्डिजले लगातार दोस्रो पटक उपाधि चुमेको दोस्रो विश्वकप

आइतबार, १४ असोज २०८०, १५ : ४३
आइतबार, १४ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको दोस्रो संस्करण पनि इङ्ल्यान्डमै आयोजना भएको थियो । दोस्रो संस्करण सन् १९७९ को जुन ९ देखि २३ तारिखसम्म सञ्चालन भएको थियो । विश्वकपको दोस्रो संस्करणमा पनि आठवटा राष्ट्रले नै सहभागिता जनाएका थिए । 

यो विश्वकपलाई पनि प्रुडेन्सियल इन्सोरेन्स कम्पनीले नै मुख्य प्रायोजन गरेको थियो । त्यसैले प्रतियोगिताको नाम ‘प्रुडेन्सियल कप—७९’ राखिएको थियो । विश्वकपको दोस्रो संस्करण पनि इन्टरनेशनल क्रिकेट कन्फरेन्सले नै आयोजना गरेको थियो । 

प्रतियोगितामा अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, पाकिस्तान, वेस्ट इन्डिज र न्युजिल्यान्ड गरी ६ वटा टेस्ट खेल्ने राष्ट्रय सहभागी थिए । यसका अतिरिक्त एसोसिएट सदस्य राष्ट्रका रूपमा श्रीलङ्का र क्यानडा विश्वकपमा छनोट भएका थिए । पहिलो विश्वकप खेलेको पूर्वी अफ्रिका भने दोस्रो विश्वकपमा छनोट हुन सकेन । 

दोस्रो विश्वकपका खेलहरू पनि इङ्ल्यान्डको ६ वटा रंगशालामा खेलाइएको थियो । विश्वकप खेलाइएका रंगशाला लर्डस, दी ओभल, एजबास्टन, ओल्ड ट्राफोर्ड, ट्रेन्ट ब्रिज र हेडिङ्ली थिए । सबैभन्दा बढी दर्शक क्षमताको रंगशाला लर्डस क्रिकेट ग्राउन्ड थियो । उक्त रंगशालाको दर्शक क्षमता ३० हजार रहेको थियो । 

पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणमा पनि सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा इङ्ल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया र क्यानडा रहेका थिए । समूह ‘बी’ मा वेस्ट इन्डिज, न्युजिल्यान्ड, भारत र श्रीलङ्का रहेका थिए । 

समूह ‘ए’ बाट इङ्ल्यान्ड पहिलो र पाकिस्तान दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । समूह ‘बी’ बाट भने वेस्ट इन्डिज पहिलो र न्युजिल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनलमा वेस्ट इन्डिजले पाकिस्तानलाई ४३ रन र इङ्ल्यान्डले न्युजिल्यान्डलाई नौ रनले हराएर फाइनलमा स्थान पक्का गरेका थिए ।

GettyImages-514486150

प्रतियोगिताको फाइनलमा फेरि क्यारेबियन टोली वेस्ट इन्डिजले नै बाजी मारेको थियो । फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ९२ रनले हराएको थियो । त्यो जितसँगै वेस्ट इन्डिज लगातार दुई पटक एकदिवसीय विश्वकपको उपाधि जित्ने पहिलो टोली बनेको थियो । 

फाइनलमा वेस्ट इन्डिजले निर्धारित ६० ओभरमा नौ विकेट गुमाएर दुई सय ८६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली इङ्ल्यान्डले भने ५१ ओभरमा अलआउट हुनुअघि एक सय ९४ रनमात्र बनाउन सक्यो । 

विश्वकपको दोस्रो संस्करणमा विजेता टोली वेस्ट इन्डिजका गोर्डन ग्रिनिज सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले चार खेलमा ८४.३३ को औसतले कुल दुई सय ५३ रन बनाएका थिए । उनले एक शतक र दुई अर्धशतक पनि हिर्काएका थिए । उनले एउटा खेलमा अविजित एक सय ६ रन पनि बनाएका थिए । 

GettyImages-481748035

सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा वेस्ट इन्डिजकै भीभ रिचर्डस दोस्रो स्थानमा थिए । उनले चार खेलमा दुई सय १७ रन बनाएका थिए । उनले एउटा खेलमा अविजित एक सय ३८ रन पनि बनाएका थिए । तेस्रो स्थानमा रहेका इङ्ल्यान्डका ग्राहम गुचले पाँच खेलमा दुई सय १०, चौथो स्थानमा रहेका न्युजिल्यान्डका ग्लेन टर्नरले चार खेलमा एक सय ७६ र पाँचौँ स्थानमा रहेका न्युजिल्यान्डका जोन राइटले चार खेलमा एक सय ६६ रन बनाएका थिए । 

यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा इङ्ल्यान्डका माइकल हेनरिक पहिलो स्थानमा थिए । उनले पाँच खेल खेल्दै १० विकेट लिएका थिए । उनले एउटा खेलमा केवल १५ रन खर्चिएर चार विकेट पनि लिएका थिए । 

सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा न्युजिल्यान्डका ब्राइन म्याककेची नौ विकेटसहित दोस्रो स्थानमा रहेका थिए । यसका अतिरिक्त पाकिस्तानका आसिफ इक्बाल नौ विकेटसहित तेस्रो, इङ्ल्यान्डका क्रिस ओल्ड नौ विकेटसहित चौथो र वेस्ट इन्डिजका माइकल होल्डिङ आठ विकेटसहित पाँचौँ स्थानमा रहेका थिए । दोस्रो विश्वकपमा कुल १५ खेल खेलिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप