आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
काउन्टडाउन टू वर्ल्डकप

६० ओभरमा खेलाइएको पहिलो विश्वकप

आइतबार, १४ असोज २०८०, ११ : १७
आइतबार, १४ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो संस्करण सन् १९७५ मा इङ्ल्यान्डमा आयोजना भएको थियो । प्रतियोगिता जुन ७ देखि २१ तारिखसम्म सञ्चालन भएको थियो । पहिलो संस्करणमा आठवटा टोलीले सहभागिता जनाएका थिए । 

विश्वकपको पहिलो संस्करणलाई ‘प्रुडेन्सियल कप—७५’ नाम दिइएको थियो । विश्वकपको पहिलो संस्करणलाई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले प्रायोजन गरेका थियो । पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको इतिहासमा त्यतिबेला यो सबैभन्दा ठुलो प्रतियोगिता थियो । 

प्रतियोगिताको आयोजक इन्टरनेशनल क्रिकेट कन्फरेन्स (आईसीसी) थियो । ‘इन्टरनेशनल क्रिकेट कन्फरेन्स’ भनेको अहिलेको ‘इन्टरनेशनल क्रिकेट काउन्सिल’ कै प्रारम्भिक स्वरूप हो । सुरुमा हालको आईसीसीलाई इम्पेरियल क्रिकेट कन्फरेन्स भनिन्थ्यो । इम्पेरियल क्रिकेट कन्फरेन्स सन् १९०९ मा स्थापना भएको थियो । 

अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिकाइम्पेरियल क्रिकेट कन्फरेन्सका संस्थापक सदस्य हुन् । सन् १९२६ वेस्ट इन्डिज त्यसको चौथो सदस्य बन्न पुगेको थियो । सन् १९६५ मा इम्पेरियल क्रिकेट कन्फरेन्सको नाम परिवर्तन गरेर इन्टरनेशनल क्रिकेट कन्फरेन्स राखिएको थियो । त्यसपछि सन् १९८७ मा दोस्रो पटक नाम परिवर्तन गरेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल राखिएको हो । 

त्यसैले पहिलो पटक एकदिवसीय विश्वकप आयोजना हुँदा हालको आईसीसीको नाम इन्टरनेशनल क्रिकेट कन्फरेन्स थियो । विश्वकपको पहिलो संस्करणमा सहभागिता जनाउने आठमध्ये ६ वटा टेस्ट राष्ट्र थिए । ती टेस्ट राष्ट्र अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र वेस्ट इन्डिज थिए ।

Highest-total

श्रीलङ्का र पूर्वी अफ्रिकाले भने आईसीसीको एसोसिएट राष्ट्रको रूपमा पहिलो विश्वकपमा भाग लिएका थिए । प्रतियोगिताका खेलहरू ६ वटा रंगशालामा खेलाइएको थियो । पहिलो संस्करण आयोजना गर्ने रंगशालाहरुमा लर्डस, दी ओभल, एजबास्टन, ओल्ड ट्राफोर्ड, ट्रेन्ट ब्रिज र हेडिङ्ली रहेका थिए ।

प्रतियोगितामा सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा इङ्ल्यान्ड, न्युजिल्यान्ड, भारत र पूर्वी अफ्रिका रहेका थिए । समूह ‘बी’ मा भने वेस्ट इन्डिज, अस्ट्रेलिया, श्रीलङ्का र पाकिस्तान परेका थिए । 

प्रारम्भिक चरणमा दुवै समूहमा सहभागी टोलीले एकअर्कासँग एक—एक खेल खेलेका थिए । समूहगत चरणको खेलपछि दुवै समूहको शीर्ष स्थानमा रहने दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलका लागि छनोट भएका थिए । समूह ‘ए’ बाट इङ्ल्यान्ड र न्युजिल्यान्ड तथा समूह ‘बी’ बाट वेस्ट इन्डिज र अस्ट्रेलिया सेमिफाइनलमा पुगेका थिए । 

त्यसपछि सेमिफाइनलमा विजयी हुने दुई टोली फाइनलमा प्रवेश गरेका थिए । फाइनलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई १७ रनले हराउँदै पहिलो विश्वकपको उपाधि जितेको थियो । विश्वकपको पहिलो संस्करण ६०—६० ओभरको खेलाइएको थियो । 

विश्वकपको पहिलो संस्करणमा सबै टोलीका खेलाडी सेतो रङको पोसाक लगाएका थिए भने खेल पनि रातो रङको बलले खेलाइएको थियो । विश्वकपको पहिलो संस्करणका सबै खेलहरू दिवा—रात्रि रूपमा खेलाइएको थियो । पहिलो विश्वकपको कुल १५ खेल खेलिएको थियो । 

Glenn-Turner

पहिलो विश्वकपमा न्युजिल्यान्डका ग्लेन टर्नर सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले चार खेलमा दुई शतकको मद्दतले कुल तीन सय ३३ रन बनाएका थिए । उनले समूहगत चरणमा पूर्वी अफ्रिकाविरुद्ध एक सय ७१ रन बनाएका थिए । समूहगत चरणमै भारतविरुद्ध उनले एक सय अविजित एक सय १४ रन बनाएका थिए । 

सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा इङ्ल्यान्डका डेनिस एमिस (२४३ रन) दोस्रो, पाकिस्तानका मजिद खान (२०९ रन) तेस्रो, इङ्ल्यान्डका किथ फ्लेचर (२०७ रन) चौथो र अस्ट्रेलियाका एलन टर्नर (२०१ रन) पाँचौँ स्थानमा थिए । 

यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा भने अस्ट्रेलियाका गेरी गिलमोर पहिलो स्थानमा थिए । उनले दुई खेल खेल्दै ११ विकेट लिएका थिए । वेस्ट इन्डिजका बेनार्ड जुलियन (१० विकेट) दोस्रो, वेस्ट इन्डिजकै किथ बोयस (१० विकेट) तेस्रो, न्युजिल्यान्डका डायल हेड्ली (८ विकेट) चौथो र वेस्ट इन्डिजका एन्डी रोबर्टस् (८ विकेट) पाँचौँ स्थानमा रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप