शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
११ किलो सुन प्रकरण

फलेक बोर्डरबाट डोरीमार्फत् फालेर खोला तारिएको थियो ११ किलो सुन !

आलुको बोरा हराएपछि खुल्यो रहस्य
मङ्गलबार, १६ असोज २०८०, २० : १८
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुन भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुन प्रकरणमा एकजना चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ गरेर प्रहरीले संगठित सुन तस्करी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

असोज ११ मा पहिलो पटक सिंगटीमा ४ किलो सुन भेटिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको थियो ।

तस्कर समूहले दोलखा र तिब्बत आउजाउ गर्ने ‘फलेक बोर्डर’ स्थित खोलाबाट तारेर सुन ल्याउने गरेको अनुसन्धानबाट थाहा भएको छ । चीनतर्फबाट डोरीले बाँधेर सुन खोलावारी फाल्ने र नेपाल तर्फका प्रतिनिधिले त्यहाँबाट काठमाडौँ पठाउने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दिपक खड्काले रातोपाटीलाई बताए । 

डिएसपी खड्का भन्छन्–‘खोलावारी ल्याएपछि उनीहरुले आलुको बोरामा लुकाएर लामाबगरतर्फ ल्याएको भेटिएको छ ।’

११ किलो सुन आलुको बोराभित्र थियो । बोरा बोकेर आउँदै थिए, बिगु गाउँपालिका–१ घर भएका १९ वर्षीय पेम्बा तामाङ । पेम्बालाई आलुको बोरामा सुन छ भन्ने थाहा थिएन् । तस्कर समूहले उनलाई भनेको थियो–‘बोरा लामाबगरसम्म लगिदिनु, त्यसबापत ज्याला आउँछ ।’

बोरा बोक्ने भरियाको जिम्मा आलुको बोरा गाडी चल्ने ठाउँसम्म लगिदिने मात्रै थियो । गाडी चल्ने ठाउँबाट चरिकोटसम्म सुन लैजाने जिम्मा चसमान तामाङ ‘च्याङबा’ले लिएका थिए । चसमान दोलखाकै स्थानीय हुन् ।

जब लुटियो आलुको बोरा

पेम्बाले बोकेको आलुको बोराबीच बाटोमै हरायो । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार बोरा बिसाएर पेम्बा खाजा खान लाग्दा बोरा गायब भएको थियो । बोरा हराएको कुरा च्याङ्बाले सुइँको पाए । आलुको बोरा गायब भएको सूचना सुन ल्याउने समूहमा फैलियो ।

तस्कर समूह बोरा लुटेराको खोजीमा लागे । आलुको बोरा खोज्दा खोज्दै सुन तस्करीको सूचना प्रहरीसम्म पुग्यो । त्यसपछि इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाले त्यसबारे अनुसन्धान थालेका हुन् ।

बिगु गाउँपालिका–१ घर भएका २८ वर्षीय केशर तामाङ समेतले आलुको बोरा लुटेर सुन निकालेको अनुसन्धानबाट थाहा भएको छ  । असोज १२ मा केशरको डेराबाट प्रहरीले ३ किलो सुन बरामद गरेको थियो । केशरलाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।

असोज १४ मा लामाबगरबाट सशस्त्र प्रहरी सहितको टोलीले थप ४ किलो सुन बरामद गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सघाएको छ । सिआईबीका एसपी होविन्द्र बोगटीले सुन तस्करीको समूहबारे अनुसन्धानको नेतृत्व गरेका छन् ।

सुन तस्करीमा संलग्न आरोपमा प्रहरीले एकजना चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लाल बहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ र चसमान तामाङ उर्फ च्याङ्बा छन् ।

बौद्ध र ठमेलमा ल्याउने योजना

तस्कर समूहले ११ किलो सुन काठमाडौंंको ठमेल र बौद्धमा पठाउने योजना बनाएका थिए । चिनियाँ नागरिक गेङ रोउ सुन रिसिभ गर्न काठमाडौँमा बसेका थिए ।

दोलखाको चरिकोटबाट ५५ वर्षीय नुर्बु छिरिङ र उनकी पत्नी ३० वर्षीया सुनमालाले सुन काठमाडौंसम्म ल्याउने जिम्मा लिएका थिए । तर, उनीहरुको हात नपर्दै सुन लुटियो ।

चिनियाँ नागरिक गेङ रोउबाट सनत प्रधान र लाल बहादुर तामाङले सुन रिसिभ गरेर बजारमा पठाउने योजना बनाएका थिए । तर, उनीहरुको योजना पुरा हुन पाएन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप