आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
इजरायल घटना

'आतंकवादी हमलामा इजरायलमा ७ जना नेपालीको मृत्यु'

१२ जना नेपाली हाम्रो सम्पर्कमा छैनन् : राजदूत
आइतबार, २१ असोज २०८०, १४ : ३६
आइतबार, २१ असोज २०८०

काठमाडौँ । इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज  अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरलाई उदृद्ध गर्दै रातोपाटीलाई बताए । ‘७ जना घाइते नेपालीको मृत्यु भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ । अरु थप विवरण आएको छैन । हामी अहिले घटनास्थलमा जाने प्रयासमा रहेका छौँ’, आइतबार दिउँसो रातोपाटीसँग ओलीले भने । 

उनका अनुसार घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएपनि अहिलेसम्म पुष्टि हुन सकेको छैन । मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो । कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन् । 

नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ । यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको बताइन् । शनिबार घाइते भएका उनीहरुमध्ये केही आफूहरुको सम्पर्कमा आएर गोली लागेको बताएपनि अहिले भने कुनै सम्पर्क नभएकाले यसै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ । त्यहाँ धेरै मानिस हताहत रहेकाले अवस्था भयावह रहेको भन्दै उनले अहिलेसम्म उद्दार हुन नसकेको बताइन् । 

उनका अनुसार घाइते ३ जना अस्तालमा भर्ना भएकामा एक जना चाहिँ डिस्चार्ज भएका छन् । यस्तै दुई जना अहिलेसम्म बंकरभित्रै सकुसल रहेका छन् । उनीहरुलाई आइतबार कार्यरत कम्पनीले खानेकुरा लगेर दिएको जानकारी आएको रिजालको भनाइ छ । 

नेपाली समय अनुसार शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो ।  हालसम्म सो आक्रमणबाट नेपालीबाहेक सयौंको संख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसहरुलाई हमास समूहले अपहरण तथा बन्धक बनाएको बताइएको छ । सो क्षेत्रमा हवाई, जल र स्थलमार्गबाट प्यालेस्टाइनमा अवस्थित हमास समुहका लडाकुहरु प्रवेश गरी आकस्मिक तवरले आक्रमण गर्ने एवं बन्धक बनाउने लगायतका गतिविधिहरु भएको जनाइएको छ । 

इजरायलमा भएको सो आक्रमण दशकौंपछिको ठूलो स्केलको रहेको हो । एनआरएनएका पूर्वअध्यक्ष ओलीले पनि आफू इजरायल बस्न थालेको १८ वर्ष भइसकेको तर यसखालको आक्रमण आफूले कहिल्यै थाहा नपाएको बताए । 

 इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको  लर्न एण्ड अर्न’ कार्यक्रम अर्न्तगत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए।

यी मध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरु नै आक्रमणमा परेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । मन्त्री साउदले आजै १२ जना नेपाली सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने संसदलाई जानकारी गराएका थिए । इजरायलमा भएको यस दुखद घटनालाई नेपाल सरकारले गम्भीरताकासाथ लिएको साउदको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप