शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
इजरायल घटना

इजरायलमा १० जना नेपाली मारिएको औपचारिक पुष्टि, १ जना अझै सम्पर्कविहीन

आइतबार, २१ असोज २०८०, २० : ५७
आइतबार, २१ असोज २०८०

काठमाडौँ । इजरायलमा शनिबार भएको आतंककारी हमलामा १० जना नेपाली मारिएको तेल अविवस्थित नेपाली दूतावासले औपचारिक रुपमा पुष्टि गरेको छ ।

राजदूत कान्ता रेग्मीले शनिबारको घटनामा गोली लागेका १० नेपालीको मृत्यु भएको पुष्टि गरिन् । उनले अझै १ जना नेपाली सम्पर्कमा नरहेको रातोपाटीलाई बताइन् ।

उनका अनुसार दुई जना खतरामुक्त रहेका छन् भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य दुई जना भने प्रहरीको सम्पर्कमा रहेका छन् । समयमा उपचार नपाएकै कारण गोली लागेका उनीहरुको मृत्यु हुन पुगेको आशंका गरिएको छ ।

रातोपाटीले आइतबार दिउँसो विभिन्न सम्पर्क सूत्रबाट ७ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । साँझ दूतावासले थप तीन जनाको मृत्यु भएको जानकारी गराएसँगै मृतकको संख्या १० पुगेको हो ।

इजरायलको दक्षिणी क्षेत्र किवुज  अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा नेपाली हताहती भएका हुन् ।  मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो । कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन् । 

नेपाली समय अनुसार शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो ।  हालसम्म सो आक्रमणबाट नेपालीबाहेक सयौँको संख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसहरुलाई हमास समूहले अपहरण तथा बन्धक बनाएको बताइएको छ । सो क्षेत्रमा हवाई, जल र स्थलमार्गबाट प्यालेस्टाइनमा अवस्थित हमास समुहका लडाकुहरु प्रवेश गरी आकस्मिक तवरले आक्रमण गर्ने एवं बन्धक बनाउने लगायतका गतिविधिहरु भएको जनाइएको छ । 

इजरायलमा भएको सो आक्रमण दशकौंपछिको ठूलो स्केलको रहेको हो । एनआरएनएका पूर्वअध्यक्ष दीपक ओलीले पनि आफू इजरायल बस्न थालेको १८ वर्ष भइसकेको तर यसखालको आक्रमण आफूले कहिल्यै थाहा नपाएको रातोपाटीलाई बताए । उनी निरन्तर दूतावास र सो क्षेत्रको वस्तुस्थितिबारे अपडेटमा रहँदै आएका छन् । 

इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न’ कार्यक्रम अन्र्तगत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

यी मध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरु नै आक्रमणमा परेका हुन् ।  मृत्यु भएकाहरुको विवरण औपचारिक रुपमा परराष्ट्र मन्त्रालयमार्फत उलब्ध गराइने दूतावासले जनाएको छ ।

यसैबीच सरकारले इजरायलमा अलपत्र तथा समस्यामा परेका नेपालीहरुलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक सूचनामार्फत प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको जानकारी दिएको हो । 

यस्तै नेपाली राजदूतावास इजरायलकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको मोबाइल नम्बर ९८५१३१०२२९ रहेको छ।  यस्तै मन्त्रालयकै सहसचिव शरदराज आरणको मोबाइल नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको मोबाइल नम्बर ९८४१४०३३६२ र र शाखा अधिकृत कृष्ण सिलवालको मोबाइल नम्बर ९८४९१७९५२० रहेको छ  । 

साथै  तेल अविवस्थित नेपाली राजदूतावास  कान्ता रिजालको नम्बर ‌+९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको नम्बर +९७२५२८२८९३०० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै मन्त्रालयले इमलेहरु [email protected][email protected] पनि उपलब्ध गराएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप