ती दसैँका तीन अनुभूति
या देवी सर्वभूतेषु बुद्धिरुपेण संस्थिता
नमतस्यै नमतस्यै नमतस्यै नमो नमः...
आज घटस्थापना ! लोक भाषामा, नौरथाको पहिलो दिन ! दुर्गा भवानी माताको पूजापाठ गर्ने वा नगर्ने जो हुन्, दसैँको टीका थाप्ने, जमरा लगाउने कोही हुन् वा नहुन् तर अपवादबिना, प्रत्येक नेपाली एवं परिवारको घरआँगनमा खुसियाली ल्याउने दसैँ, मौसममा शरद ऋतुको बहार एवं सुवास ल्याई धानको बाला झुलेर देशलाई नै रमाइलो बनाउने दसैँ, गाउँघरमा लिङ्गेपिङ हालेर केटाकेटी, युवायुवती मात्र होइन बुढापाकाहरूलाई समेत रोमाञ्चित गर्नेगराउने दसैँको थालनी गर्ने घटस्थापनाको दिनको जयजयकार गर्दै समस्त नेपालीजनलाई अभिनन्दन तथा अभिवादन गर्न पाउँदा हामी हर्षविभोर नभइरहन सक्दैनौँ ।
वैदिक कालदेखि चलिआएको दसैँको महिमा अपरम्पार छ । त्यसैले त होला नेपालको हरेक शासन कालखण्डमा, अवश्य नै आइपरेको आर्थिक– व्यावहारिक कठिनता झेल्दाझेल्दै पनि दसैँ शब्द मात्रले हाम्रा पुर्खादेखि लिएर आजसम्म हामीमा यत्रो खुसियाली छाउने गरेको जुन संस्कार, परम्परा छ, त्यो भोलि पनि कायम रहने कुरामा हामी ढुक्क हुन सक्दछौँ । त्यसैले त होला दसैँले प्रेम, सद्भाव, समता, भ्रातृभाव एवं सबै मानवीय गुण, मूल्य, मान्यतालाई उजागर गर्नेगरेको । त्यसैले त होला, अहिलेकोे विशाल कान्तिपुरी नगरी पनि दसैँताका झन्डै एकतिहाई रित्तिएर शून्य जस्तो हुने गरेको । त्यसैले त होला पूरै अरब खाडी क्षेत्रमा कामकाजमा लागेका लाखौँ लाख नेपालीहरू ठूलै सङ्ख्यामा नेपालका आआफ्ना सहर, गाउँघरमा दसैँ मनाउन आउने गरेका ।
यस्ता जाने वा आउनेमा के ‘लोकतान्त्रिक–गणतान्त्रिक’ भनिटोपलिने संविधानले दरेका ‘अन्य जाति’ का नेपाली मात्रै जाँदा आउँदा होलान् त ? के दसैँ राणाकालीन हुकुमी शासन व्यवस्थासँग जोडिएर वा जोडाउन लगाइएर ‘मूल्याङ्कन’ गरिन योग्य चाडबाड मात्र हो त ? के नेपालका, तत्कालीन हुन् कि वर्तमान, शासकहरूले मुख्य मुख्य प्रतिपक्ष दलहरूसँगको मिलेमतोबाट नै विदेशी साम्राज्यवादी शक्ति केन्द्रको ठाडो आदेश मानेर ‘धर्म निरपेक्षता’ को गैरनेपाली ‘संवैधानिक’ प्रावधानद्वारा दसैँको अवमूल्यन तथा अन्तर्घात गर्दैमा हामीले दसैँको रमाइलो मान्न र मनाउन छाडौँला त ?
अधिष्ठान पक्षका अधिवक्ता एवं प्रवक्ताहरू ‘राज्यको कुनै धर्म हुँदैन’ भन्दै ‘धर्म निरपेक्षता’ को वकालत गर्ने गर्छन् । कसैलाई धर्म परिवर्तनको खुला छुट दिनु, कसैलाई कट्टरवादको प्रचार प्रसार गर्न दिनु अनि ‘अन्य’ भनिने अत्यधिक बहुसङ्ख्यक जनसमुदायका धार्मिक– आध्यात्मिक आस्थाका केन्द्र एवं प्रतीकमाथि बाह्य विस्थापनकारी शक्तिकेन्द्रको योजनामा सङ्गठित तरिकाले हमला हुँदा सरकारी निकाय चुप रहनु वा ‘सडक विस्तार’ आदिका नाममा आफैँ विध्वंसात्मक कर्तुतमा लाग्नुलाई पनि ‘धर्म निरपेक्षता’ कै कोटिमा राखेको मान्ने वा मान्नुपर्ने हामीले ? ‘अन्य’ को कोटिमा पर्नेले मात्र मान्ने नभई अरू जातीयताका सहृदयी एवं समभावी नेपालीले पनि सम्मान गर्ने भएकाले नै आज दसैँमाथि कुत्सित प्रहार भएको ठान्नु अनुचित वा अन्यथा हुँदैन ।
हाम्रो दसैँलाई लिएर यताका केही वर्षदेखि, खास गरेर ‘लोकतान्त्रिक गणतन्त्रवादी’ थिति थोपरिएदेखि हुँदै आएका अन्तर्राष्ट्रिय एवं राष्ट्रिय हमलामा पशुपन्छी वधको पनि कुरा उठाइन्छ । यसको पाखण्डपन पनि उदाङ्गो छ । यी शक्ति केन्द्रहरूले यो विषय उठाउँछन् वा उठाउन लगाउँछन् । तिनले आफ्नै बत्तीमुन्तिरको अँध्यारो देखेनन् । थ्याङ्क्स गिभिङ नामक इसाई चाडको बेला काटिने वा वध गरिने टर्की जातका करोडौँ चरा तथा इस्लाम धर्मावलम्बीका अनेक चाडपर्वमा वध गरिने करोडौँ करोडखसीबोका वधको कोटिमा पर्दैनन् । तर हाम्रो देशका चाडबाडबारे मिथ्या एवं भ्रामक प्रचार गरी देशमै विभाजन तथा विखण्डन गर्न लगाउँछन् । आफैँ नै इराक, लिबिया, यमन, सिरिया, अफगानिस्तान, प्यालेस्टाइनलगायतका देशमा सोझै मानव हत्या एवं वधमा लागेकाहरू दसैँमा पशु–पन्छीे वधको विरोध गर्न खटाइएका विभिन्न नामधारी सङ्घ संस्थाबाट तलब खानेहरूले कुन कोटिमा राख्लान् ?
दसैँ कोही मानुन् वा नमानुन्, यो व्यक्ति विशेषको निजी मामला हो । त्यसमा हाम्रो भन्नु केही छैन । तर कुअभिप्रायबाट वा निहित स्वार्थको वशमा परेर, कोही दसैँको विरोध योजनबद्ध किसिमले गर्दछ भने त्यसले समस्त नेपाली जनताप्रति जघन्य अपराध गरेको ठहर्छ । यस्तो कुबाटोमा लागेका वा लाग्न लगाइएकाहरूलाई पनि दुर्गा भवानी माताले सत्मार्गमा लाग्न सद्बुद्धि दिउन् ।
दोस्रो अनुभूति–
पहिले र अहिलेको दसैँ
पहिले र अहिलेको दसैँ देख्दा मनै रुन्छ । लोकसंस्कृतिका अध्येता धर्मराज थापाले गाएको ‘धानको बाला झुल्यो हजुर, देशै रमाइलो’ भनेजस्तै दसैँमा धान लहलहाउँथ्यो । पहेँलपुर धानभएको बेला दसैँ मनाउन हामी हिड्थ्यौँ । आफन्तजनसँगको भेटघाट र खानपानको महत्त्व त्यतिबेला बेग्लै हुन्थ्यो । तर अहिले त्यस्तो हुँदैन । अहिले अरुणा लामा एवं कालीप्रसाद रिजालका गीत सम्झना आउँछ । ‘यसपाला त मनै चुँड्यो केले सिउने, केले टाल्ने हो’ वा मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ’, वा ‘मुटुसित काँडा साट्ने धोको बाँकीँ छ जस्ता गीत गाउने अवस्थामा छौँ ।
पछिल्ला वर्षका दसैँ कोरोना महामारीले निकै गाँज्यो । विश्वका मानिसलाई पीडित बनाएको कोरोना भाइरस महामारी कहाँबाट सल्केको हो– उहानबाट कि ह्वाइट हाउसबाटैबाट ? भन्ने राजनीतिक– कूटनीतिक बहस वा बाझाबाझ विश्व राजनीतिमा चल्न छोडेको छैन । त्यसको टुङ्गो जसरी लागोस् तर हाम्रो सबभन्दा प्यारो चाड त्यसले बर्बाद पारेको थियो । त्यो महामारीमा जतिसुकै सुरक्षा अँगालिए पनि मन त थरर भएको थियो । त्यो बेला सीमित परिवारभित्रै दसैँ मनाए पनि डरत्रास कामयै थियो ।
त्यस्तै ८ वर्षअघि नेपालीमाथि भारतीय नाकाबन्दीको भयावह अवस्था नेपाली मुटुमा अझै आलै छ । दक्षिणी छिमेकी उनै शिवभक्त, जानकीभक्त वा मुक्तिनाथभक्त भए पनि त्यहाँको सरकारले आफ्नो विदेहमा हत्या, हिंसा, सत्ता विस्थापनकारी कर्तुत गरि नै रह्यो । त्यसबाट स्वाभिमानी नेपालीको मन क्षतविक्षत भयो । त्यो घाउको खाटा अझै बाँकी छ ।
तेस्रो अनुभूति
त साल (२०७९) को दसैँ यतिबेला नेपालमा डेङ्गु फैलिएर डरलाग्दो अवस्था सिर्जना भएको थियो । राजनीतिक– कूटनीतिक रूपले मात्र होइन स्वास्थ रक्षाको हिसाबबाट पनि डेङ्गुको महामारीबाट ग्रस्त भयो । राजनीतिक रुपमा कमजोर हुँदा । यसले गर्दा नेपाली जनतालाई देशको सार्वभौमिताको संरक्षणमा र स्व–स्वास्थ्यको रक्षामा दिनरात गर्नु परिरहेछ ।
आज राष्ट्रका अङ्गमा लागेको घाउचोटमा नुनखोर्सानी छरिए झैँ भएको छ । ठीक आठ वर्षअघि दिल्लीमार्फत लैनचौरको एजेन्सीले रातिराति जजसलाई ‘दसैँखर्च’ बाँड्ने गथ्र्याे तिनैले ‘नाकाबन्दी भएकै होइन, भएकै छैन’ भन्ने नारा लगाए । त्यसलाई उक्साउने राजनीतिक दलकै गठबन्धनको शासनतन्त्रको अहिले हालीमुहाली छ । आमनिर्वाचन गराउने मात्र हैसियत रहेको सत्ता गठबन्धनले राष्ट्रको सार्वभौम सत्ताको रक्षामा अडेकी राष्ट्रपतिमाथि युद्धको घोषणा गरेको थियो ।
अर्काेतिर विश्व जगत्मा केही शक्ति राष्ट्र यतिबेला युद्धबिना टिक्न नसक्ने, अरूलाई पनि शान्तिपूर्वक बाँच्न नदिने भएका छन् । सात समुद्रपारिको एक महाशक्तिराष्ट्र अर्काे महाशक्तिराष्ट्रको सभ्यता– जातिमाथि युद्ध गर्ने दुस्साहस गरी विनाशको सँघारमा उभिएको छ । अहिले त प्यालेस्टिनी जनताको राष्ट्र प्राप्तिको अधिकारलाई पश्चिमी जगतको सहायताबाट अमेरिकी सत्ताको नेतृत्वमा इजरायलको जनसंहारक गरिरहेका छ । यसलाई नेपालको गठबन्धन सत्ताले खुला समर्थन गरेको छ । एकताबद्ध नेपाली समाजलाई स्टालिनवादी उक्तिको ‘स्वराष्ट्रिय आत्मनिर्णयको अधिकार’ को दुष्प्रयोगद्वारा विभाजित गर्न लगाइरहेको छ ।
तर नेपालीहरू सद्भावनाका पुजारी हुन् । उनीहरूलाई नव दुर्गाले यस सङ्कटबाट हाम्रो मात्र होइन, जगतकै रक्षा गरून् । यही विश्वास गरेर समस्त नेपालीजनमा जनकवि धर्मराज थापाको ‘धानको बाला झुल्यो हजुर, देशै रमायो, रमाइलो को वाणी पछ्याउँदै २०८० सालको बडादसैँको हार्दिक शुभकामना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण