मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ यात्रा

यात्राका दौरान निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या, यी हुन् बोक्नैपर्ने औषधि

मङ्गलबार, ३० असोज २०८०, १० : ५५
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । हिन्दुहरूको महान् पर्व विजयादशमी सुरु भएको छ । दसैँका लागि काठमाडौँ उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिनेको सङ्ख्या प्रत्येक दिन ५० हजारभन्दा बढी हुने गरेको छ । यसरी यात्राका क्रममा मानिसहरूलाई विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सक बताउँछन् ।

यात्राकै क्रममा सुगर, प्रेसर लगायतका दीर्घ रोगीहरूमा झन् बढी समस्या देखिन सक्ने फिजिसियन डा. रोशन कुमार झा सुनाउँछन् ।

दीर्घरोगीले थाहा पाउनुपर्ने कुरा

डा. झाका अनुसार लामो यात्रामा जाँदा दीर्घरोगीहरूले विशेष सावधानी अपनाउनुपर्छ । गाउँघरमा जाँदा आफू कति दिन बस्ने हो, सोही अनुसारको औषधि बोकेर जान उनको सुझाव छ ।

उनले भने, ‘पर्व मनाउन जानु अगाडि दीर्घरोगीले चिकित्सकसँग परामर्श लिएरमात्रै जानुपर्छ । जस्तैः कसैलाई सुगर, प्रेसर, दमको रोग छ भने एक पटक आफ्नो चिकित्सकलाई भेटेर आफूले सेवन गरिरहेको औषधि र अहिलेको अवस्था के छ भन्ने यकिन गरेर आफू बसुन्जेलसम्म पुग्ने गरी औषधि बोकेर जानुपर्छ ।’

कहिले काहीँ गाउँमा आफूले सेवन गरिरहेको औषधि नपाउन  सक्ने भएकाले पर्याप्त औषधि बोकेर जान उनको सुझाव छ ।

उनले भने, ‘कहिलेकाहीँ बिरामीले गाउँ गएर डाक्टर साब मैले नियमित रूपमा सेवन गर्ने गरेको औषधि यहाँ पाइनँ, यसको सट्टामा कुन औषधि खाऊँ भनेर फोन गर्नु हुन्छ । त्यस्तो अवस्थामा हामीलाई गाह्रो हुन्छ । किनभने हामीलाई त्यहाँ कुन औषधि पाइन्छ भन्ने यकिन हुँदैन, त्यसैले आफू बस्ने समयसम्म पुग्ने गरी औषधि बोकेर जानुपर्छ ।’

चाडपर्वमा स्वास्थ्य अवस्था बिग्रिन सक्छ

दसैँमा खानपानमै रमाउने गरिन्छ । सहरबाट गाउँघरमा जाँदा शारीरिक अभ्यास हुने खालका काम कम गर्ने र खानपानमा बढी ध्यान दिने गरिन्छ । सामान्य अवस्थामा बिरामीले आफ्नो रुटिन अनुसारको खानपान गर्ने तर पर्व मनाउन गाउँ गइसकेपछिको खानपान फरक हुने भएकाले पहिला काम गरिरहेको औषधिहरूको डोज नपुग्ने वा डोज बढी हुन पनि सक्ने डा. झा बताउँछन् । यस्ता कुरामा पनि बिरामीले ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘यता बस्दा खानपान मिलाएर सन्तुलित खाना खाने, यात्रा गर्दा वा गाउँ जाँदा खाना समयमा नहुने, औषधि समयमा नखाने गर्दा स्वास्थ्य अवस्था बिग्रिन सक्छ ।’

गाउँ गइसकेपछि सुताइ, बसाइ, खुवाइ पहिलाजस्तो नहुने भएकाले प्रेसर, सुगरका बिरामीलाई पहिलाको औषधिले काम नगर्ने अवस्था सिर्जना हुन सक्ने उनले बताए ।

लामो यात्रा गर्दा के गर्ने ?

डा. झाका अनुसार लामो यात्रा गर्दा भवितव्य आउन पनि सक्छ । जस्तै दुर्घटना हुने, मौसम परिवर्तन भई बान्ता हुने, बेहोस हुने, टाउको दुख्ने, गाडीमा धङधङी लाग्ने लगायतका समस्या देखिन सक्छन् ।

काठमाडौँमा लामो समयसम्म बसेको मानिस तराईमा जाँदा  लु लाग्ने, पसिना आउने लगायतका समस्या देखा पर्नसक्ने उनले बताए ।

यस्तै, यात्रा क्रममा होटेलहरू तथा फुटपाथमा खाना खाँदा बासी खानाका कारण फुड पोइजनिङ हुने सम्भावना पनि रहने उनको भनाइ छ ।

लामो यात्रा गर्दा साधारण किसिमका औषधि बोक्न पनि उनले सुझाव दिए । यात्रामा साना बच्चा भएमा झोल पारा सिटामोल, बान्ता रोक्ने औषधि, पेट दुखाइ कम गर्ने औषधि र ज्वरो कम गर्ने पारा सिटामोल बोक्ने र आवश्यकता अनुसार प्रयोग गर्नुपर्ने उनले बताए । ती औषधि खाएर सम्बन्धित ठाउँमा पुगेपछि पुनः चिकित्सकसँग परामर्श लिएर अगाडि बढ्न सकिने उनले बताए ।

बाटोमा जथाभाबी नखान उनको सुझाव छ । बाटोमा सञ्चालन हुने होटेलहरूको अनुगमन खाँचो पनि उनले औँल्याए ।

फुड्पोइजनिङ भएको खण्डमा प्रयोग गर्नुपर्ने औषधि बोकेर यात्रा गर्न उनको सुझाव छ । यात्रा गर्दा ज्वरो आएमा त्यसका लागि सिटामोल, बान्ता भयो भने बान्ता रोक्ने औषधि, पखाला रोक्ने औषधि र जीवनजल पनि बोक्न उनी सुझाव दिन्छन् ।

डा. झाका अनुसार यात्रा गर्दा जहाँ पायो त्यहाँ अस्पताल नहुन सक्ने र गाउँमा सहज रूपमा डाक्टरहरू उपलब्ध नहुन सक्ने भएकाले आफूसँग सामान्य स्वास्थ्य समस्याका लागि आवश्यक औषधि हुनुपर्ने उनले बताए । आफूसँग औषधि भएको खण्डमा चिकित्सकसँग फोन मार्फत परामर्श लिएर पनि औषधि सेवन गर्न सकिने उनले बताए ।

सार्वजनिक तथा निजी यातायातमा ‘फस्ट एट किट बक्स’को व्यवस्था गर्न पनि उनको सुझाव छ । व्यावसायिक गाडी, भ्यान, जीप सबैमा अनुगमन गरी अनिवार्य रूपमा ‘फस्ट एट किट बक्स’को व्यवस्था गर्नुपर्ने डा झाको भनाइ छ ।

निजी तथा सार्वजनिक यातायातमा प्रेसर नाप्ने, अक्सिजन नाप्ने, ज्वरो नाप्ने यन्त्रका साथै ब्यान्डेज लगायतका सामग्री र सामान्य औषधि ‘फस्ट एट किट बक्स’ मा राख्नुपर्ने उनले बताए ।

कतै दुर्घटना भएमा ‘फस्ट एट किट बक्स’ हुँदा धेरै बिरामीको उद्धार गर्न सकिने उनको जिकिर छ ।

डेंगुको त्रास

सहरदेखि गाउँगाउँसम्म डेंगुको त्रास छ । त्यस्तो अवस्था टाउको दुख्ने, सामान्य ज्वरो आएमा बेवास्ता गरी पारासिटामोल सेवन गरी बसेमा त्यसले शरीरमा नराम्रो असर गरी ज्यान समेत जान सक्ने भएकाले सचेत हुन उनको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप