सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
डेंगु सङ्क्रमण

दसैँमा डेङ्गु सङ्क्रमणको त्रास

डेङ्गु सङ्क्रमणबाट अहिलेसम्म २० जनाको मृत्यु
बुधबार, ०१ कात्तिक २०८०, १५ : ३३
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ ।  हिन्दुहरूको महान् चाड विजया दशमी सुरु भएको छ । दसैँका लागि काठमाडौँ उपत्यकाबाट स्थलमार्ग र हवाइमार्ग हुँदै बाहिरिनेको सङ्ख्या बढे जसरी नै डेङ्गु सङ्क्रमणमा वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् । 

डेङ्गुका केस ७६ जिल्लामा पुष्टि भए पनि अहिले केही जिल्लामा सङ्क्रमण दर बढेको छ । दसैँमा काठमाडौँबाट गृहजिल्ला पुग्ने मानिस र सवारी साधनबाट नै सङ्क्रमण बढ्न सक्ने भएकाले सचेत हुन चिकित्सकहरूले सुझाव दिएका छन् । 

पछिल्लो समय काठमाडौँ र तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेको छ । सरुवारोग विशेषज्ञ शेरबहादुर पुन मानिस एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्दा पनि लामखुट्टेबाट सर्ने रोग पनि फैलिने बताउँछन् । 

यो समयमा बढी सङ्क्रमण भएका जिल्लाबाट मानिसहरू जाने र आउने क्रम बढ्दो भएकाले डेङ्गु सङ्क्रमणको जोखिम पनि उच्च हुने उनले सुनाए । पछिल्लो समय तनहुँमा सङ्क्रमण ह्वातै बढेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क केलाउँदा एक साताको अवधिमा मात्रै दुई हजार १३७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।  

गत असोज २० गते काठमाडौँमा दुई जना मात्रै सङ्क्रमित थिए । त्यसको भोलिपल्ट २१ गते ४ वटा केस पुष्टि भयो । तर असोज २२ गते भने सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर ५८९ जना पुगेको महाशाखाले जनाएको छ । यस्तै २३ गते त्यो सङ्ख्या बढेर ९४१ पुग्यो । 

तनहुँमा सङ्क्रमित सङ्ख्या बढेसँगै गोर्खा कास्कीलगायत जिल्लामा सङ्क्रमित बढेको आँकडामा उल्लेख छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा असोज २० गते २० जना मात्र सङ्क्रमित थिए । असोज २१ गते ३४ जनामा, २२ गते सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर  एक हजार पुगेको थियो । त्यसैगरी २३ गते १ हजार ६४ जनालाई केस पुष्टि भएको थियो भने २४ गते थप ६६५ केस पुष्टि भएको थियो । असोज २० देखि २८ गतेसम्मको अवधिमा गण्डकी प्रदेशमा थप ३ हजार ४५७ जनामा सङ्क्रमण भएको इडिसिडीले जनाएको छ ।

१० जिल्लाको अवस्था 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साढे ३९ हजारभन्दा धेरै जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । हालसम्म ३० हजार ७३९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ । 

सङ्क्रमण देखिएका जिल्लामध्ये सबैभन्दा धेरै सुनसरीमा छन् । तर पछिल्लो दुई सातायताको आँकडामा भने तनँहु जिल्लामा सङ्क्रमितको सङ्ख्या बढेको छ  । ७६ जिल्लामध्ये सङ्क्रमण बढी देखिएका १० जिल्लामा   सुनसरीमा १६ हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै दोस्रोमा तनहुँ जिल्लामा ५ हजार २४२ जना सङ्क्रमित छन् । तेस्रोमा झापामा ३ हजार ३११ हजार, धादिङमा ३ हजार १४५ जनामा डेङ्गु सङ्क्रमण भएको छ । मोरङ २ हजार २७८ जना सङ्क्रमित हुँदा कास्की १ हजार ५५५ जना सङ्क्रमित भएका छन् ।

काठमाडौँमा ८६२ जना सङ्क्रमित भएको इडिसिडीले जनाएको छ । यस्तै धनकुटामा ६०४, गोर्खा ५७८ जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा ५३४ जनामा सङ्क्रमण भएको छ ।  

कुन प्रदेशमा कति सङ्क्रमित ?

इडिसिडीका अनुसार सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा छन् । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ९९२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि  गण्डकी प्रदेशमा ८ हजार १५७ जना सङ्क्रमित भएका छन् भने बाग्मती प्रदेशमा ५ हजार १६ जना सङ्क्रमित छन् ।

 त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार १४४, लुम्बिनी प्रदेशमा ६९५, मधेश प्रदेशमा ५९२, कर्णाली प्रदेशमा १४२ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

दसैँमा डेङ्गु सङ्क्रमणको जोखिम  

राजधानीका अस्पतालमा पछिल्लो समय डेङ्गु सङ्क्रमित भर्ना हुन थालेका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा डेङ्गीका २२ जना बिरामीले उपचार गरिरहेको अस्पतालका निर्देशक डाक्टर विधाननिधि पौडेलले सुनाए । यो डेङ्गु सङ्क्रमणको समय भएकाले अझै दसैँका बेला बिरामी बढ्न सक्ने उनले बताए । 

कुनै स्थानमा सङ्क्रमित भई गृहजिल्ला पुगेको सात, दस दिनमा लक्षण देखिन सक्ने भएकाले सचेत हुन डा. पौडेलले सुझाव दिएका छन् । काठमाडौँमै पर्व मनाउँदा घर बाहिर खुल्ला स्थानमा खानपान तथा रमाइलो गर्दा, आवतजात गर्दा सावधानी नअपनाए सङ्क्रमित हुन सक्ने भएकाले चनाखो हुन सरुवा रोग विशेषज्ञ डा. पुन सुनाउँछन् ।

डेङ्गु सङ्क्रमणबाट जोगिन यात्रा गर्दा अनिवार्य रूपमा पूरा बाहुला भएको लुगा लगाउन, झुलभित्र मात्र सुत्न, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न, घर, सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन सबै सचेत हुन पुर्ने सुझाव पुनको छ । यस्तै खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा साताको एक पटक फेर्ने गर्नुपर्छ । साँझ, बिहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन चिकित्सकहरूको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप