शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

सीसीटीभीको दृश्य पछ्याउँदा जो फन्दामा परे : अपराध अनुसन्धानमा महत्त्वपूर्ण माध्यम

काठमाडौँ उपत्यकामा ३ हजार ८ सय सीसीटीभी
सोमबार, ०६ कात्तिक २०८०, २१ : ११
सोमबार, ०६ कात्तिक २०८०

काठमाडौँ । सहरका चोक र गल्लीमा गस्ती गर्ने प्रहरीको ध्यान सबैतिर पुग्दैन । त्यस्तोमा प्रविधिले पनि सुरक्षा व्यवस्था चुस्त राख्न काम गर्छ । 

काठमाडौँ उपत्यकामा जडान गरिएका ‘क्लोज सर्किट टेलिभिजन’ (सीसीटीभी)ले २४ सै घण्टा अवाञ्छित गतिविधि नियालिरहन्छन् । यस्तो निगरानीले दसैँको बेलामा  त सुरक्षाकर्मीका लागि थप सहयोगी हुन्छ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट डेरा वा घर छाड्नेहरु धेरै हुन्छन् । घर छाडेर हिँड्दा चोरी गर्नेहरूले फाइदा उठाउन सक्छन् तर, सीसीटीभीको निगरानीले गर्दा चोरी गर्नेहरू पनि ‘हच्किने’ प्रहरीको निष्कर्ष छ । अपराध अनुसन्धानमा सीसीटीभी महत्त्वपूर्ण सहयोगी हुने प्रहरीको भनाइ छ ।

cc camera (1)

अपराध हुनबाट रोक्न पनि सीसीटीभी सहयोगी हुने गरेको बताउँछन् जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाह । उनी भन्छन्, ‘अपराध नियन्त्रणको पाटोमा पनि सीसीटीभीले सहयोग गर्छ, सीसीटीभी भएपछि अपराधीहरू पनि हच्किन्छन् ।’

उपत्यकामा तुलनात्मक रूपमा ललितपुरमा धेरै चोरीका घटना हुन्छन् । चोरी नियन्त्रणमा अनुसन्धान अधिकृत भर पर्ने मुख्य माध्यम भएको छ सीसीटीभी । ललितपुरमा प्रहरीले मनिटर गर्ने ४ सय ९३ वटा सीसीटीभी छन् । त्यसबाहेक आवश्यकता अनुसार व्यक्तिगत र संघ–संस्थाले जडान गरेको सीसीटीभी पनि अपराध अनुसन्धानका लागि प्रयोग गर्ने गरिएको एसएसपी शाहले बताए ।

cc camera (2)

सीसीटीभीको दृश्य पछ्याउँदा...  

काठमाडौँको ‘गैरीगाउँ हत्याकाण्ड’ अनुसन्धानमा सीसीटीभी महत्त्वपूर्ण माध्यम बनेको थियो । गैरीगाउँ स्थित दिव्या सः मिलमा भदौ २९ मा राति ४ जनाको हत्यामा संलग्न आरोपितलाई प्रहरीले सीसीटीभी क्यामेराको सहयोगमा पक्राउ गर्न सफल भयो । सः मिलमा नविन राई, कुमार भुजेल, शुभद्रा भुजेल र अम्बिका भुजेलको हत्यामा संलग्न व्यक्ति झोलामा खुकुरी हालेर निस्के । झोला बेकेर दौडिरहेको युवकलाई सीसीटीभीको सहयोगमा पछ्याएर सञ्जय भण्डारीलाई पक्राउ गरिएको बताउँछन् जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेल ।

cc camera (3)

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर–९ घर भएका भण्डारी कोटेश्वर, जडीबुटी र पेप्सीकोला चोक हुँदै राति १ बजेतिर काँडाघारी पुगेका थिए । सुरुमा दौडिएका उनी पछि बिस्तारै हिँडेको सीसीटीभी फुटेजमा देखिएको थियो । अनुसन्धान अधिकृतहरू गैरीगाउँ हत्याकाण्डको अनुसन्धान सफल हुनुमा सीसीटीभीको मुख्य भूमिका रहेको बताउँछन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘सीसीटीभी नभएको भए गैरीगाउँ हत्याकाण्ड वर्षौंसम्म पनि पत्ता नलाग्ने सम्भावना थियो ।’

सवारी दुर्घटनाको अनुसन्धानमा पनि सीसीटीभी महत्त्वपूर्ण माध्यम बनेको छ । ‘हिट एण्ड रन’को घटना पत्ता लगाउन सीसीटीभी महत्त्वपूर्ण सारथि बनेको ललितपुरका एसएसपी शाहले बताए । उनी भन्छन्, ‘सातदोबाटोमा भएको हिट एण्ड रनको घटनामा संलग्नलाई सीसीटीभीको सहयोगमा एक महिनापछि पक्राउ गरेका थियौँ ।’

cc camera (4)

कोटेश्वर–कलंकी सडक खण्डमा सवारी–साधनको नम्बर प्लेट रिड गर्नेसक्ने सीसीटीभी राखेसँगै ‘हिट एण्ड रन’का घटना न्यूनीकरण भएको प्र्रहरीको निष्कर्ष छ । एसएसपी शाह भन्छन्, ‘दुर्घटना न्यूनीकरणमा पनि सीसीटीभी सहयोगी बन्ने गरेको छ ।’

उपत्यकामा ३८ सय सीसीटीभी

काठमाडौँ उपत्यकामा अहिले ३ हजार ८ सय सीसीटीभी छन् । ती सीसीटीभी उपत्यका प्रहरी कार्यालयबाट मनिटर गरिन्छ । तर, धेरै सीसीटीभी चालु अवस्थामा नहुँदा अपराध अनुसन्धान र दुर्घटनाका घटना पत्ता लगाउन असहज हुने गरेको छ ।

cc camera (5)

काठमाडौँ जिल्लामा जडित ५ सय ४५ सीसीटीभी चालु अवस्थामा छैनन् । चालु नभएका सीसीटीभी मर्मतका लागि सम्बन्धित संघ संस्थाहरुलाई अनुरोध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका एरियामा १ हजार ७७ सीसीटीभी जडान भए पनि ५ सय ३२ वटा मात्रै चालु अवस्थामा छन् । 

cc camera (6)

काठमाडौँ उपत्यकामा ३ सय ५५ वटा सीसीटीभी जडान गर्ने तयारी भइरहेको छ । सीसीटीभी जडान गर्न काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले उपत्यका प्रहरी कार्यालयलाई ११ करोड बजेट दिएका छन् । वैशाख ७ मा काठमाडौँ महानगर र उपत्यका प्रहरी कार्यालयको बिचमा महानगरपालिकाले सीसीटीभी क्यामेरा जडान गर्न ६ करोड उपलब्ध गराउने सम्झौता भएको थियो ।

महानगरले दिने बजेटबाट काठमाडौँमा १६० वटा सीसीटीभी जडान गर्न लागिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठले रातोपाटीलाई बताए । प्रहरीले ‘सीसीटीभी चेक प्वाइन्ट’ बनाउने तयारी गरिरहेको छ । अपराध गरेर भाग्ने आरोपित जताबाट पनि सीसीटीभीको चेक प्वाइन्टमा पुग्नेगरी सीसीटीभी जडान गर्ने महानगरको योजना छ । ‘काठमाडौँमा ५ वटा चेक प्वाइन्ट बनाउने हाम्रो योजना छ,’ एसएसपी श्रेष्ठले भने, ‘त्यस्ता चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामेरा जडान गर्दैछौँ ।’

cc camera (8)

काठमाडौँ उपत्यकाभर २ सय ४२ वटा ‘सीसीटीभी चेक प्वाइन्ट’ राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ । बुढानीलकण्ठ नगरपालिकाले पनि सो नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडान गर्न प्रहरीलाई ५ करोड उपलब्ध गराउने निर्णय गरेको छ । बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र १ सय ४५ वटा सीसीटीभी जडान गर्न लागिएको एसएसपी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘बुढानीलकण्ठ नगरपालिकाले दिएको रकमबाट १४५ वटा क्यामेरा जडान गर्नेगरी काम अघि बढेको छ ।’   

cc camera (7)

भक्तपुरको सूर्यविनायक हुँदै कमलविनायक–खरिपाटी क्षेत्रमा ५० वटा सीसीटीभी जडानको काम अघि बढेको छ । चाँगुनारायण नगरपालिकाको ४ नम्बर वडामा १५ वटा सीसीटीभी जडान भइसकेको छ । सीसीटीभी जडान गर्न चाँगुनारायण नगरपालिकाले वडाहरुलाई बजेट दिएको छ । सीसीटीभी जडानका लागि टेण्डर आह्वान गर्ने तयारी भइरहेको एसएसपी श्रेष्ठले जानकारी दिए ।

सीसीटीभी नहुँदा अनुसन्धान निकै जटिल हुन्छ । कपनमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डेको हत्यामा संलग्नलाई प्रहरीले सीसीटीभीकै सहयोगमा पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

अनुसन्धानमा सीसीटीभीको सहयोग महत्त्वपूर्ण हुने गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । उपत्यकामा हुने घटना अनुसन्धानमा लामो अनुभव भएका एक जना अधिकृत भन्छन्, ‘प्रहरी सबै ठाउँमा पुग्दैन, ६० प्रतिशत अपराध सीसीटीभीकै सहयोगमा पत्ता लाग्ने गरेको छ ।’

निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्न सुटरलाई पनि सीसीटीभीकै सहयोगमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् । अनुसन्धान अधिकृतहरूका अनुसार ‘हिट एण्ड रन’का घटना ९९ प्रतिशत सीसीटीभीको सहयोगमा अनुसन्धान हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप