सीसीटीभीको दृश्य पछ्याउँदा जो फन्दामा परे : अपराध अनुसन्धानमा महत्त्वपूर्ण माध्यम
काठमाडौँ । सहरका चोक र गल्लीमा गस्ती गर्ने प्रहरीको ध्यान सबैतिर पुग्दैन । त्यस्तोमा प्रविधिले पनि सुरक्षा व्यवस्था चुस्त राख्न काम गर्छ ।
काठमाडौँ उपत्यकामा जडान गरिएका ‘क्लोज सर्किट टेलिभिजन’ (सीसीटीभी)ले २४ सै घण्टा अवाञ्छित गतिविधि नियालिरहन्छन् । यस्तो निगरानीले दसैँको बेलामा त सुरक्षाकर्मीका लागि थप सहयोगी हुन्छ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट डेरा वा घर छाड्नेहरु धेरै हुन्छन् । घर छाडेर हिँड्दा चोरी गर्नेहरूले फाइदा उठाउन सक्छन् तर, सीसीटीभीको निगरानीले गर्दा चोरी गर्नेहरू पनि ‘हच्किने’ प्रहरीको निष्कर्ष छ । अपराध अनुसन्धानमा सीसीटीभी महत्त्वपूर्ण सहयोगी हुने प्रहरीको भनाइ छ ।
_xU9XLwfNP6.jpg)
अपराध हुनबाट रोक्न पनि सीसीटीभी सहयोगी हुने गरेको बताउँछन् जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाह । उनी भन्छन्, ‘अपराध नियन्त्रणको पाटोमा पनि सीसीटीभीले सहयोग गर्छ, सीसीटीभी भएपछि अपराधीहरू पनि हच्किन्छन् ।’
उपत्यकामा तुलनात्मक रूपमा ललितपुरमा धेरै चोरीका घटना हुन्छन् । चोरी नियन्त्रणमा अनुसन्धान अधिकृत भर पर्ने मुख्य माध्यम भएको छ सीसीटीभी । ललितपुरमा प्रहरीले मनिटर गर्ने ४ सय ९३ वटा सीसीटीभी छन् । त्यसबाहेक आवश्यकता अनुसार व्यक्तिगत र संघ–संस्थाले जडान गरेको सीसीटीभी पनि अपराध अनुसन्धानका लागि प्रयोग गर्ने गरिएको एसएसपी शाहले बताए ।
_RUEJZ6aqGb.jpg)
सीसीटीभीको दृश्य पछ्याउँदा...
काठमाडौँको ‘गैरीगाउँ हत्याकाण्ड’ अनुसन्धानमा सीसीटीभी महत्त्वपूर्ण माध्यम बनेको थियो । गैरीगाउँ स्थित दिव्या सः मिलमा भदौ २९ मा राति ४ जनाको हत्यामा संलग्न आरोपितलाई प्रहरीले सीसीटीभी क्यामेराको सहयोगमा पक्राउ गर्न सफल भयो । सः मिलमा नविन राई, कुमार भुजेल, शुभद्रा भुजेल र अम्बिका भुजेलको हत्यामा संलग्न व्यक्ति झोलामा खुकुरी हालेर निस्के । झोला बेकेर दौडिरहेको युवकलाई सीसीटीभीको सहयोगमा पछ्याएर सञ्जय भण्डारीलाई पक्राउ गरिएको बताउँछन् जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेल ।
_JczfW1VdSi.jpg)
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर–९ घर भएका भण्डारी कोटेश्वर, जडीबुटी र पेप्सीकोला चोक हुँदै राति १ बजेतिर काँडाघारी पुगेका थिए । सुरुमा दौडिएका उनी पछि बिस्तारै हिँडेको सीसीटीभी फुटेजमा देखिएको थियो । अनुसन्धान अधिकृतहरू गैरीगाउँ हत्याकाण्डको अनुसन्धान सफल हुनुमा सीसीटीभीको मुख्य भूमिका रहेको बताउँछन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘सीसीटीभी नभएको भए गैरीगाउँ हत्याकाण्ड वर्षौंसम्म पनि पत्ता नलाग्ने सम्भावना थियो ।’
सवारी दुर्घटनाको अनुसन्धानमा पनि सीसीटीभी महत्त्वपूर्ण माध्यम बनेको छ । ‘हिट एण्ड रन’को घटना पत्ता लगाउन सीसीटीभी महत्त्वपूर्ण सारथि बनेको ललितपुरका एसएसपी शाहले बताए । उनी भन्छन्, ‘सातदोबाटोमा भएको हिट एण्ड रनको घटनामा संलग्नलाई सीसीटीभीको सहयोगमा एक महिनापछि पक्राउ गरेका थियौँ ।’
_Wn2t4Py8Pa.jpg)
कोटेश्वर–कलंकी सडक खण्डमा सवारी–साधनको नम्बर प्लेट रिड गर्नेसक्ने सीसीटीभी राखेसँगै ‘हिट एण्ड रन’का घटना न्यूनीकरण भएको प्र्रहरीको निष्कर्ष छ । एसएसपी शाह भन्छन्, ‘दुर्घटना न्यूनीकरणमा पनि सीसीटीभी सहयोगी बन्ने गरेको छ ।’
उपत्यकामा ३८ सय सीसीटीभी
काठमाडौँ उपत्यकामा अहिले ३ हजार ८ सय सीसीटीभी छन् । ती सीसीटीभी उपत्यका प्रहरी कार्यालयबाट मनिटर गरिन्छ । तर, धेरै सीसीटीभी चालु अवस्थामा नहुँदा अपराध अनुसन्धान र दुर्घटनाका घटना पत्ता लगाउन असहज हुने गरेको छ ।
_BGgg3P9G9I.jpg)
काठमाडौँ जिल्लामा जडित ५ सय ४५ सीसीटीभी चालु अवस्थामा छैनन् । चालु नभएका सीसीटीभी मर्मतका लागि सम्बन्धित संघ संस्थाहरुलाई अनुरोध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका एरियामा १ हजार ७७ सीसीटीभी जडान भए पनि ५ सय ३२ वटा मात्रै चालु अवस्थामा छन् ।
_R44WjiL2M7.jpg)
काठमाडौँ उपत्यकामा ३ सय ५५ वटा सीसीटीभी जडान गर्ने तयारी भइरहेको छ । सीसीटीभी जडान गर्न काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले उपत्यका प्रहरी कार्यालयलाई ११ करोड बजेट दिएका छन् । वैशाख ७ मा काठमाडौँ महानगर र उपत्यका प्रहरी कार्यालयको बिचमा महानगरपालिकाले सीसीटीभी क्यामेरा जडान गर्न ६ करोड उपलब्ध गराउने सम्झौता भएको थियो ।
महानगरले दिने बजेटबाट काठमाडौँमा १६० वटा सीसीटीभी जडान गर्न लागिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठले रातोपाटीलाई बताए । प्रहरीले ‘सीसीटीभी चेक प्वाइन्ट’ बनाउने तयारी गरिरहेको छ । अपराध गरेर भाग्ने आरोपित जताबाट पनि सीसीटीभीको चेक प्वाइन्टमा पुग्नेगरी सीसीटीभी जडान गर्ने महानगरको योजना छ । ‘काठमाडौँमा ५ वटा चेक प्वाइन्ट बनाउने हाम्रो योजना छ,’ एसएसपी श्रेष्ठले भने, ‘त्यस्ता चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामेरा जडान गर्दैछौँ ।’
_nypjhj238f.jpg)
काठमाडौँ उपत्यकाभर २ सय ४२ वटा ‘सीसीटीभी चेक प्वाइन्ट’ राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ । बुढानीलकण्ठ नगरपालिकाले पनि सो नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडान गर्न प्रहरीलाई ५ करोड उपलब्ध गराउने निर्णय गरेको छ । बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र १ सय ४५ वटा सीसीटीभी जडान गर्न लागिएको एसएसपी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘बुढानीलकण्ठ नगरपालिकाले दिएको रकमबाट १४५ वटा क्यामेरा जडान गर्नेगरी काम अघि बढेको छ ।’
_UbKtX3wZnr.jpg)
भक्तपुरको सूर्यविनायक हुँदै कमलविनायक–खरिपाटी क्षेत्रमा ५० वटा सीसीटीभी जडानको काम अघि बढेको छ । चाँगुनारायण नगरपालिकाको ४ नम्बर वडामा १५ वटा सीसीटीभी जडान भइसकेको छ । सीसीटीभी जडान गर्न चाँगुनारायण नगरपालिकाले वडाहरुलाई बजेट दिएको छ । सीसीटीभी जडानका लागि टेण्डर आह्वान गर्ने तयारी भइरहेको एसएसपी श्रेष्ठले जानकारी दिए ।
सीसीटीभी नहुँदा अनुसन्धान निकै जटिल हुन्छ । कपनमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डेको हत्यामा संलग्नलाई प्रहरीले सीसीटीभीकै सहयोगमा पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
अनुसन्धानमा सीसीटीभीको सहयोग महत्त्वपूर्ण हुने गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । उपत्यकामा हुने घटना अनुसन्धानमा लामो अनुभव भएका एक जना अधिकृत भन्छन्, ‘प्रहरी सबै ठाउँमा पुग्दैन, ६० प्रतिशत अपराध सीसीटीभीकै सहयोगमा पत्ता लाग्ने गरेको छ ।’
निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्न सुटरलाई पनि सीसीटीभीकै सहयोगमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् । अनुसन्धान अधिकृतहरूका अनुसार ‘हिट एण्ड रन’का घटना ९९ प्रतिशत सीसीटीभीको सहयोगमा अनुसन्धान हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण