सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विभेद

नेपाली राजमार्गमा भारतीय गाडीको हालीमुहाली

नेपाली यातायात व्यवसायी धराशायीमात्रै होइन, सिद्धिसकेका छन्  ः अध्यक्ष कार्की
मङ्गलबार, १४ कात्तिक २०८०, ०७ : ५१
मङ्गलबार, १४ कात्तिक २०८०

बारा । जीतपुर सिमरा वडा नं १ का नवराज थापा १० वटा ट्रकका साहु हुन् । उनी ट्रकको सहचालकबाट चालक हुँदै साहु भएका हुन् । ३० वर्षअघि थापा यातायात क्षेत्रमा प्रवेश गर्दा यो क्षेत्रमा धेरै आकर्षण थियो, कमाई पनि राम्रो थियो । तर अहिले भारतीय गाडीका कारण उनलाई व्यवसाय धान्नै मुस्किल भएको छ ।

‘अहिले केही बोल्ने अवस्था छैन, ट्राफिक प्रहरीले हाम्रो गाडीमा २ सय किलो बढी भयो भने जरिवाना गर्छ तर भारतीय गाडीको हकमा माथिको आदेश भन्दै २० टनभन्दा बढी बोक्दा पनि हेर्दैन,’ यातायात व्यवसायी थापाले भने, ‘अहिले राज्यलाई एकलौटी कर बुझाउने भनेको यातायात क्षेत्रमात्रै हो तर, यातायात क्षेत्रलाई नै राज्यले धेरै पीडा दिएको छ ।’

सरकारले भारतीय मालवाहक गाडीलाई ७२ घन्टासम्म निर्वाध रुपमा नेपालको राजमार्गमा गुड्न अनुमति दिएपछि भारतीय गाडीहरु देशको कुना कुनामा पुग्ने गरेका छन् । जसका कारण नेपाली यातायात व्यवसायी, यातायात चालक, सहचालक, मजदुर र त्यससँगै आश्रित परिवारहरु प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा मारमा परेका छन् ।  

२१ टन बोक्ने गाडीले २ टन बढी बोक्दा ट्राफिक प्रहरीले नेपाली गाडीलाई बाटोमा रोकेर दुःख दिने तर भारतीय गाडीले २० टनभन्दा बढी बोक्दा पनि चेकजाँच नगरी सेटिङ्गमा छोड्ने गरेको थापाको गुनासो छ । ‘रोड कर तिरेको छ, जाँचपास तिरेको छ, बिलबुक नवीकरण भन्छ, एउटै गाडीलाई कति ठाउँमा कर तिर्नुपरेको परेको छ, फेरि स्थानीय सरकारको पटके कर, हामी व्यवसायी राज्यलाई करमात्रै तिर्ने तर सुविधा भने केही नपाउने हो र ?’ थापाले भने ।

कवाडी करको नाममा मालवाहक सवारी साधनलाई वीरगञ्ज महानगरले ११३ र जीतपुर सिमरा उपमहानगरले २२६ रुपैयाँ कर लिँदै आएको छ । विगतमा वीरगञ्ज महानगरले राजमार्गमा कर लिँदैनथ्यो भने जीतपुर सिमराले प्रति मालवाहक गाडीको ४० रुपैयाँ कर लिने गर्दथ्यो ।

‘रुट परमिटका लागि १५ दिनको म्याद दिएको हुन्छ, कहिलेकाहीँ भ्याइँदैन, चालकहरु कोही पढेलेखेका हुँदैनन् तर, १५ दिनको ठाउँमा १६ औँ दिन कर बुझाउन गयो भने दोब्बर राजस्व बुझाउनुपर्छ,’ थापाले भने ।

y3

नेपालमा हाल ६२ हजार ट्रक व्यवसायी छन् । जसमा चालक, सहचालक र आश्रित परिवार गरेर झण्डै ४ लाख नागरिक प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा जोडिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्रक चालक कमिटीको अध्यक्ष नवराज कार्कीले भारतीय गाडीहरु देशको कुना कुनामा चल्न थालेपछि सम्पूर्ण असर यातायात स्वरोजगार मजदुरलाई परेको बताए । ‘नेपाली गाडीलाई वीरगञ्ज भन्सारमा सामान लोड गर्दा लेबरले ८ सयदेखि एक हजार माग गर्दै दादागिरी सुरु हुन्छ, त्यसपछि चलानी बनाउँदा ३ देखि ५ सय रुपैयाँ दिनुपर्छ, लोड गरेर हिँडेपछि सडकमा ट्राफिकको दादागिरी सुरु हुन्छ, भन्सारको मुखैको चेकपोइन्ट, परवानीपुर, नितनपुर, जीतपुर, सिमरा र पथलैयासम्म ६ चेकपोइन्टमा रोकेर दुःख दिन्छन्,’ कार्कीले भने ।

यसरी ठाउँ ठाउँमा रोकेर दुःख दिनुभन्दा एउटै नाकामा ट्राफिकको व्यवस्थापन गरेर राम्रोसँग चेकजाँच गरियो भने प्रहरीलाई बाटो–बाटोमा ५० रुपैयाँ, सय रुपैयाँ दिनुपर्दैनथ्यो भन्ने उनको भनाइ छ ।

राजमार्गमा भारतीय गाडीहरुले निर्वाध रुपमा सामान बोक्दा बारा–पर्सा औद्योगिक करिडोरको दायाँबायाँ नेपाली ट्रकहरु थन्किएका छन् । सरकारले सवारी साधनमा लगाएको २ सय प्रतिशत करका कारण अहिले गाडीको किनबेच ठप्प प्रायः छ भने ५ वर्ष पुराना गाडी कवाडीमा बेच्नुपरेको व्यवसायीहरुको गुनासो छ ।

कार्कीले भने, ‘राज्यलाई तिनुपर्ने सबै कर हामीले तिरेका छौँ तर सरकारले तोकेको भाडा पनि हामीले पाउन सकेका छैनौँ, नेपालमा ट्रक व्यवसायीहरुको २७ वटा समिति छ, त्यसको एउटा महासंघ छ तर यस विषयमा चुइँक्क कोही बोल्दैनन् ।’

नेपालमा १२ चक्के गाडीले २१ टन, १४ चक्के गाडीले २५ टनसम्म सामान बोक्न पाउने व्यवस्था छ तर, भारतीय गाडीले भने जति सामान बोके पनि कुनै कारबाही नभएको व्यवसायी नवराज थापा बताउँछन् ।

‘इण्डियन गाडी नेपालमा आउँदा ससुराली आएजस्तो गरी आउँछन्, कसैले छुने हिम्मत गर्दैन, तर नेपाली गाडीलाई अलिकति ओभरलोड बोक्यो भने २४ घन्टासम्म साइड लगाएर रोकिदिने, चालकलाई थुनिदिनेसम्म हुन्छ,’ नवराज थापाले भने, ‘वीरगञ्जबाट काठमाडौँ पुग्दा १० टन सामानको ५० हजार भाडा आउँछ तर, २ सय लिटर तेल, चालकलाई खुराकी, भत्ता, तलब, बाटोमा ट्राफिक, पुलिस र दलालीहरुलाई पैसा दिदा एक रुपैयाँ बच्दैन ।’

पछिल्लो समय देखिएको आर्थिक मन्दी, बैंकको व्याजदर र भारतीय गाडीको सहज आउजाउका कारण नेपाली यातायात व्यवसायी धराशायी हुने अवस्थामा पुगेका छन् । अहिले १० प्रतिशत गाडी पनि सडकमा गुड्न सक्ने अवस्था नरहेको व्यवसायीहरुको गुनासो छ । भारतीय गाडी भन्सारबाट डाइरेक्ट काठमाडौँ पु¥याउँदा राज्यलाई आउने भ्याटको रकम नोक्सान भएको छ ।

विगतमा भन्सारसम्म आएर पल्टी हुनसक्ने सामानहरु नेपाली गाडीले बोक्थे । अहिले भारतबाट  मार्बल, कोइला, चिनी, चामल बोकेर आएका मालवाहक सवारी साधनहरु सिधै काठमाडाैँसम्म पुग्ने गरेको बताउँछन् तराई यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्की ।

y6

‘यातायात व्यवसायी नेपालमा धराशायीमात्रै होइन सिद्धिसकेका छन्, अब केही बाँकी छैन, अहिले गाडीको स्थिति हेर्ने हो भने ५÷६ वर्ष पुराना गाडी धमाधम कवाडीमा गइरहेको छ,’ अध्यक्ष कार्कीले भने, ‘यो कुरा राज्यले बुझ्नुपर्ने हो, भोलि ६२ हजार गाडी मालिक डुब्दा, गाडी चालक मजदुरमात्रै होइन, बैंकहरु पनि डुब्ने हो ।’

पछिल्लो १ डेढ वर्षदेखि बढेको बैंकको व्याजका कारण पनि ८÷९ प्रतिशतमा लिएको ऋणको व्याजदर बढेर दोब्बर भएको व्यवसायीहरुको भनाइ छ । जसका कारण यातायात क्षेत्र झनै धराशायी हुनका साथै व्यवसायी तथा मजदुरहरु पलायन हुँदै गएका छन् ।

‘भारतीय गाडीसँग नेपाली यातायात व्यवसायीहरुले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन, नेपालमा ६७ लाख पर्ने मालवाहक गाडी भारतमा ४० लाखमा पाइन्छ, नेपालमा ४२ हजार पर्ने टायर भारतमा ३० हजारमा पाइन्छ, साथै अन्य पार्टपुर्जाहरु भारतमा धेरै सस्तो मूल्यमा पाइन्छ,’ कार्कीले भने, ‘कुनै पनि कारणले नेपाली गाडीहरुले भारतीय गाडीसँग प्रतिस्पर्धा गर्नसक्ने सम्भावना छैन, राज्यले नेपाली गाडीलाई बचाउने हो भने ७२ घन्टे सिस्टम हटाएर, पल्टी हुनसक्ने माललाई भन्सारमा पल्टी गरेर नेपाली गाडीले बोक्न सक्ने व्यवस्था मिलाइदिनुपर्छ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भारतीय गाडीहरुको चेकजाँचमा पनि कडाइ गरिएको बताएका छन् । भन्सारबाट छुटेका गाडीहरु ओभरलोड बोके÷नबोकेको विषयमा ठाउँठाउँका धर्मकाँटामा तौल लिने र बिलबिजक सही भए÷नभएको विषयमा चेकजाँचमा कडाई गरिएको उनले बताए ।y4‘गोप्य सूचनाका आधारमा शंकास्पद सवारी साधन र चालकका व्यवहारलाई हेरेर हामीले नेपाली होस् वा भारतीय, सबैखाले गाडीहरुको चेकजाँचमा कडाइ गरेका हौँ,’ प्रजिअ रेग्मीले भने ‘भारतीय गाडीहरुको हकमा पनि धर्मकाँटामा तौल गरेरमात्रै पठाउने गरिएको छ, नेपालभित्र गुड्ने सबै सवारी साधनले नेपालको कानुन मान्नुपर्छ । सोही बमोजिम हामीले चेकजाँचमा कडाइ गरेका छौँ ।’

मधेस प्रदेश ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक सन्तोष भट्टराईले ओभरलोड बोकेका भारतीय गाडीलाई कारबाहीस्वरुप वीरगञ्जबाटै यातायात कार्यालयमा पठाइने गरेको बताए । पछिल्लो समय प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले मधेस प्रदेशका ८ वटै जिल्लामा सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई बाटोमा नगद रकम लिन बन्द गरेर २४ घन्टे पुर्जीसहित सम्बन्धित बैंक खातामा राजस्व जम्मा गनुपर्ने व्यवस्था लागु गरेको छ ।

प्रहरी उपरीक्षक भट्टराई चालकले बाटोमा नगद रकम नै निकाल्नु नपर्ने बताउँछन् । ‘हामीकहाँ मधेस प्रदेशकै ८ वटै जिल्लामा अनलाइन सिस्टम लागु भएकाले कहीँ कतै बाटोमा एक रुपैयाँ कसैलाई बुझाउनु पर्दैन, यदि कसैले पैसा मागेको भेट्नुभयो भने सिधै मकहाँ आउनुहोला ।’

ट्राफिक प्रहरी प्रमुख भट्टराईका अनुसार ओभरलोड बोकेका भारतीय गाडीको हकमा पनि चेकजाँचमा कडाइ गरेर २-४ टनको हकमा आफैँले राजस्व लिएर र धेरै बोक्नेको हकमा वीरगञ्ज यातायात कार्यालयमा फिर्ता पठाएर कारबाही गरिएको छ ।

y1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप