शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा पुनः समस्या

मङ्गलबार, १४ कात्तिक २०८०, १८ : ०६
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि आवश्यक पर्ने अनलाइन प्रणालीमा समस्या आएको छ । जसले गर्दा वैदेशिक रोजगारी जानको लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम प्रभावित बनेको छ । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा समस्या आएको हो ।

फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने गरेको श्रमिकको ओरेन्टेशन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएको विभागले जनाएको छ । उक्त समस्या आएपछि विभागले सेवाग्राहीलाई मध्यनजर गर्दै अर्को विकल्प अघि सारेको छ ।

नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक सेक्सनलाई स्किप गर्ने र ओरेन्टेशन सेक्सनको लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाहरूबाट जारी गरेको दुई दिने अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र फेमिस प्रणालीमा अपलोड गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

विभागको अनलाइन प्रणालीमा पटक पटक यस्तै खालको समस्या आउँदै गरेको छ । प्रयोगकर्ता बढी भएको र सर्भरको क्षमता कम भएकाले यस्तो समस्या आउने गरेको विभागले जनाएको छ । त्यसका लागि विभागले आफ्नो सर्भरलाई अपग्रेड गर्ने कार्य गर्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप