सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भट्ट र प्रधानलाई षडानन्द पुरस्कार

बिहीबार, १६ कात्तिक २०८०, ११ : २७
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार प्राध्यापक विद्यानाथ भट्टलाई प्रदान गरिने भएको छ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको ११५ औँ बैठकले २०८० सालको सो पुरस्कार भट्टलाई प्रदान गर्ने निर्णय गरेको हो । 

नव्यन्याय विषयमा आचार्य उपाधि प्राप्त प्राध्यापक विद्यानाथ भट्टले तत्कालीन नेपाल राजकीय संस्कृत महाविद्यालयबाट शिक्षक जीवन सुरु गरेका हुन् । सो महाविद्यालय त्रिभुवन विश्वविद्यालयमा समाहित भएपछि त्रिवि अन्तर्गतकै संस्कृत अध्ययन संस्थान डिन तथा महेन्द्र संस्कृत विश्वविद्यालय गठनपछि त्यसको शिक्षाध्यक्षसमेत भए । उनी पूर्वीय दर्शन, तन्त्रशास्त्र तथा योगका ज्ञाता, व्याख्याता मानिन्छन् । 

शिक्षा र संस्कृतिको क्षेत्रमा समर्पित भट्टले गरेको सेवाको उच्च मूल्याङ्कन गरी षडानन्द राष्ट्रिय पुरस्कारले सम्मानित गरिएको प्रतिष्ठानका सचिव प्राडा बद्री विशाल भट्टराईद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।  भोजपुरको दिङ्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा अतुलनीय योगदान पु¥याउने आबाल ब्रह्मचारी षडानन्द अधिकारी (विसं १८९२–१९७३) को स्मृतिमा स्थापना गरिएको यो पुरस्कारको राशि १,००,००० रुपियाँ र सम्मान पत्र रहेको छ ।

प्रधानलाई षडानन्द क्षेत्रीय पुरस्कार 

यसैगरी कात्तिक १६ गते बसेको प्रतिष्ठानको उक्त बैठकले षडानन्द क्षेत्रीय पुरस्कार (२०८०) साहित्यकार परशु प्रधानलाई प्रदान गर्ने निर्णय भएको छ । पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै प्रधानलाई सो पुरस्कार प्रदान गरिएको विज्ञप्तीमा जनाइएको छ । 

पुरस्कृत साहित्यकार प्रधान पूर्वाञ्चलको भोजपुर बजारमा जन्मिएर करिब ६ दशकदेखि नेपाली साहित्यमा समर्पित छन् । उनका करिब १० वटा कथा सङ्ग्रह, दुई उपन्यास, एउटा कविता सङ्ग्रहका साथै बाल साहित्यसँग सम्बन्धित पुस्तकहरु प्रकाशित छन् । 

यो पुरस्कार दिङ्लाका निरञ्जन चापागाईं र गायत्रीकुमार चापागाईंले आफ्ना मातापिता डण्डपाणि तथा युवाकुमारी चापागाईंको स्मृतिमा स्थापना गरेको अक्षय कोषको ब्याजबाट प्रदान गरिन्छ । यो पुरस्कारको राशि ५१००० रुपियाँ र सम्मानपत्र रहेको छ ।  यी पुरस्कार ब्रह्मचारी षडानन्दको १८८ औँ जन्म जयन्तीको अवसरमा आगामी पुस १ गते प्रदान गरिने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप