सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

काठमाडौँको मारिया हस्पिटलमा मेडिकल काउन्सिलको एक्सन: ३ विदेशी चिकित्सक निलम्बन

बिहीबार, २८ जेठ २०८३, १० : ०६
बिहीबार, २८ जेठ २०८३

सारांश

  • नेपाल मेडिकल काउन्सिलले काठमाडौँको बालुवाटारस्थित मारिया हस्पिटललाई अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी गैरकानूनी रूपमा सञ्चालन भएको भन्दै सिलबन्दी गर्न पत्राचार गरेको छ ।
  • अनुगमनका क्रममा विदेशी चिकित्सकहरू मार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण गराइरहेको भेटिएपछि तीन जना चिनियाँ चिकित्सकहरूको अस्थायी दर्ता निलम्बन गरिएको छ ।
  • अस्पताललाई भौतिक रूपमा बन्द गर्न र सञ्चालकहरूमाथि कारबाही बढाउन जिल्ला प्रशासन र प्रहरीमा पत्राचार गरिएको छ भने विदेशी चिकित्सकहरूको भिसा र श्रम इजाजत खारेजीका लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पठाइएको छ ।

काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित 'मारिया हस्पिटल' (मारिया हेल्थ सेन्टर प्रालि) लाई नेपाल मेडिकल काउन्सिलले सिलबन्दी गर्न पत्राचार गरेको छ । काउन्सिलको स्थलगत अनुगमनले उक्त अस्पताल अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी गैरकानूनी रूपमा सञ्चालन भइरहेको पाएको थियो । 

अनुगमनका क्रममा अस्पतालले विदेशी चिकित्सकहरू मार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण गराइरहेको भेटिएपछि काउन्सिलले कारबाही बढाएको हो । बिहीबार एक सूचना जारी गराउँदै काउन्सिलले यस विषयमा जानकारी गराएको हो । 

घटना सार्वजनिक भएसँगै काउन्सिलले चिकित्सा अभ्यासमा संलग्न तीन जना चिनियाँ चिकित्सकहरूको अस्थायी दर्ता पनि तत्कालका लागि निलम्बन गरेको छ । साथै, सो अवैध संस्थाको बोर्डमा नाम राखी आचारसंहिता उल्लङ्घन गर्ने नेपाली चिकित्सकहरूलाई समेत तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । 

उक्त अस्पताललाई भौतिक रूपमा बन्द गर्न र सञ्चालकहरूमाथि कारबाही बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँमा पत्राचार गरिसकिएको छ भने भिसा सर्तविपरीत कार्य गर्ने विदेशी नागरिकहरूको गैर-पर्यटकीय भिसा र श्रम इजाजत खारेजीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विस्तृत प्रतिवेदन पठाइएको छ ।

नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार जनस्वास्थ्यमा खेलबाड गर्ने र काउन्सिलको आचारसंहिता विपरीत कार्य गर्ने जो कोहीलाई पनि कानुनबमोजिम कडा दायरामा ल्याउन काउन्सिल प्रतिबद्ध छ। 

काउन्सिलले बिनाअनुमति सञ्चालित स्वास्थ्य संस्थाहरू वा दर्ता नभई लुकिछिपी बिरामी जाँच्ने चिकित्सकहरूको बारेमा जानकारी वा शङ्का लागेमा तत्काल काउन्सिल वा स्थानीय प्रशासनमा प्रमाणसहित उजुरी दिन सर्वसाधारणमा अपिल समेत गरेको छ । उजुरीकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने आश्वासन समेत काउन्सिलले दिएको छ ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप