शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

तनहुँमा भजन संस्कृति संरक्षणको पहल

शुक्रबार, २९ जेठ २०८३, ०३ : २८
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • तनहुँमा आधुनिकताले ओझेलमा परेको भजन संरक्षणको पहल सुरु भएको छ ।
  • स्थानीय भजन समूह, युवा, आमा समूह सक्रिय छन् ।
  • नयाँ पुस्तालाई आकर्षित गर्न आधुनिक शैली र प्रशिक्षणमा जोड दिइएको छ ।

तनहुँ । पछिल्लो समय आधुनिकता र प्रविधिको तीव्र प्रभावका कारण गाउँघरमा परम्परागत भजन संस्कृतिमा कमी आउन थालेपछि यसको संरक्षणका लागि स्थानीयले पहल थालेका छन् । धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनको अभिन्न अङ्गका रूपमा रहेको भजनलाई जोगाउन स्थानीय भजन समूह, युवा पुस्ता, आमा समूह तथा सांस्कृतिक संस्थाहरू एकीकृत रूपमा सक्रिय देखिएका छन् ।

व्यास नगरपालिका–५ पतेनीस्थित जलेश्वर भजन समूहका अगुवा तेजप्रसाद लामिछानेका अनुसार पछिल्लो पुस्तामा भजनप्रतिको आकर्षण घट्दै गएको चिन्ताका बिच संरक्षणका प्रयासलाई तीव्र बनाइएको छ ।

उनले भने, “भजन हाम्रो पहिचान हो, यसले गाउँघरको आत्मा बोल्छ । तर पछिल्लो समय मनोरञ्जनका आधुनिक माध्यमहरू बढेसँगै भजन ओझेलमा पर्न थालेको छ । त्यसैले हामीले यसलाई निरन्तरता दिन विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।” उनले नियमित भजन अभ्यास, स्थानीय उत्सवहरूमा प्रस्तुति तथा नयाँ पुस्तालाई सिकाउने कार्यक्रममार्फत भजनलाई जीवित राख्ने प्रयास भइरहेको बताए ।

व्यास नगरपालिका–५ स्थित सिन्धु भजन समूहका रामबाबु रेग्मीले पछिल्ला केही वर्षयता युवापुस्तामा भजनप्रति सकारात्मक परिवर्तन देखिन थालेको बताए । “पहिले भजनमा ज्येष्ठ नागरिकको मात्र उपस्थिति देखिन्थ्यो”, उनले भने, “तर अहिले युवाहरू पनि सहभागी र सिक्न थालेका छन् । यो संरक्षणका लागि अत्यन्त उत्साहजनक पक्ष हो ।” उहाँका अनुसार युवाहरूलाई भजनसँग जोड्नका लागि आधुनिक शैलीमा प्रस्तुति, प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम प्रभावकारी साबित भइरहेका छन् ।

व्यास नगरपालिका–१ गल्वुवेसीस्थित नवआदर्श आमा समूहका सावित्री हड्खलेका अनुसार भजन संरक्षणमा आमा समूहहरूको योगदान उल्लेखनीय छ । “हामी भजन संरक्षण गर्नुपर्छ भनेर लागिपरेका छौँ । हाम्रो उद्देश्य केवल पूजा गर्नु मात्र होइन, नयाँ पुस्तालाई संस्कार सिकाउनु पनि हो ।” उनका अनुसार आमा समूहहरूले भजनमार्फत सामाजिक एकता, नैतिक शिक्षा र सांस्कृतिक चेतना फैलाउने कामसमेत गरिरहेका छन् ।

पराशर आश्रम संरक्षण समितिका सचिव महेन्द्र गिरीले भजन केवल धार्मिक अनुष्ठानमा सीमित विषय नभएको बताए । उनले भने, “भजन हाम्रो इतिहास, संस्कृति, जीवनशैली र सामुदायिक एकताको प्रतीक हो । यसले मानिसहरूलाई जोड्ने, सहकार्य र सहिष्णुता बढाउने काम गर्छ ।”

भजनले केवल आध्यात्मिक सन्तुष्टि मात्र होइन, सामाजिक एकता र मानसिक शान्ति प्रदान गर्ने माध्यमका रूपमा पनि काम गर्छ । युवा पुस्तामा बढ्दो विदेश मोह, व्यस्त जीवनशैली, आधुनिक सङ्गीतप्रतिको आकर्षण तथा परम्परागत सीप हस्तान्तरणको अभावजस्ता कारणले भजन संस्कृति सङ्कटमा परेको सरोकारवालाहरू बताउँछन् । यस्ता चुनौतीलाई सम्बोधन गर्न स्थानीय तह, विद्यालय, सांस्कृतिक सङ्घसंस्था तथा समुदायबिच सहकार्य आवश्यक रहेको व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप