बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितहरुलाई राहत, उद्धार र उपचारको तत्काल व्यवस्था गर्न विप्लवको माग

शनिबार, १८ कात्तिक २०८०, १६ : ०७
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प पीडितहरूलाई राहत, उद्धार र उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।  शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टीका महासचिव विप्लवले भूकम्प पीडितका लागि राहत, उद्धार र उपचारको व्यवस्था मिलाउन ढिलाइ नगर्न सरकारसँग माग गरेका हुन् । 

उनले तत्काल मन्त्रिपरिषद्को बैठक बोलाई पीडितलाई राहत दिनका लागि आवश्यक निर्णय लिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लैको सक्रियताभन्दा पनि पीडितलाई राहत दिनका लागि राज्यको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक बोलाउने काममा ढिलाइ गर्न नहुने तर्क गरे । उनले विपद्ग्रस्त क्षेत्रमा स्वयंसेवकको रूपमा छिटोभन्दा छिटो सेना र प्रहरीको व्यापक परिचालन गर्न, पीडितका लागि खाद्यान्न, लत्ताकपडा र टेन्टहरूको व्यवस्था गर्न र घाइतेहरूको उपचारका लागि स्थलगतरुपमै स्वास्थ्यकर्मीहरूको परिचालन गर्न पनि सरकारसँग माग गरे । 

‘राज्यले यथाशीघ्र उपचार, राहत र उद्धारको व्यवस्था गर्नुपर्छ भनेर पनि हामीले माग राखेका छौँ । यसो त हामीले बिहानै यहाँ उपलब्ध सिसीका साथीहरूसँग बसेर त्यो कुरा सार्वजनिक गरिसकेका छौँ । किनकि अहिले चाहिँ सरकारलाई पनि हामीले धन्यवाद दिनुपर्छ । किनकि तदारुकताका साथ नै कामहरूलाई अगाडि बढाएको छ सरकारले । त्यो चाहिँ राम्रो कुरा हो’ महासचिव विप्लवले भने, तर, मन्त्रीपरिषद्बाट छिटो निर्णय गर्नुपर्ने कुराहरू चाहिँ ढिलो भएको छ । त्यो प्रधानमन्त्रीको एकल सक्रियता जस्तोले हुँदैन । राज्यको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ छिटो भन्ने हाम्रो माग छ । सायद अहिले मन्त्रीपरिषद् पनि बस्दैछ ।’ 

उनले भूकम्प पीडितको बिचल्ली भएको बताउँदै तत्काल राहत पुर्याउन सरकारसँग माग गरे ।  

‘दोस्रो कुरा, यो चिसोको मौसममा घरहरू भत्किएका छन् र त्यहाँ चाहिँ जनतालाई सास्ती भएको छ । अहिले भर्खरै प्रत्यक्ष रूपमै पार्टीका कमरेडहरूले गाउँ तहबाटै फोन गरिराख्नुभएको छ । अहिले बिचल्ली छ । त्यसैले त्यहाँ चाहिँ खाद्यान्न, लत्ताकपडा र टेन्टहरूको व्यवस्था छिटो गर्नुपर्छ भन्ने राज्यसँग हाम्रो माग छ’ उनले भने, ‘त्यसपछि सिरियस घाइतेहरूको त हेलिकप्टरले उद्धार गरिराखेको छ । अरू घाइतेहरूका लागि स्वास्थ्यकर्मीहरूको टोली बनाएर राज्यले छिटो परिचालन गर्नुपर्छ भन्ने हाम्रो कुरा छ । यी राज्यसँगका कुराहरू भयो । त्यसपछि हामीले सबै सङ्घ, संस्थाहरूलाई पनि आफ्नो क्षमता अनुसार परिचालित हुनुस् भनेर हामीले आग्रह गरेका छौँ ।’

सो पार्टीले भूकम्प पीडितका लागि सरकारको राहत कोषमा एक लाख जम्मा गरिदिने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यसैगरी २५ क्वीन्टल चामल पीडितलाई उपलब्ध गराउने निर्णय गरिएको पनि महासचिव विप्लवले बताए । उनकाअनुसार पार्टीले विपद्ग्रस्त क्षेत्रमा आजैबाट स्वयंसेवकको रूपमा पार्टीका नेता, कार्यकर्ता परिचालन गरिसकेको छ ।

त्यसैगरी स्वास्थ्यकर्मीको एउटा टोलीलाई पनि विपद्ग्रस्त क्षेत्रतर्फ पठाइको महासचिव विप्लवले बताए । भोलि (आइतबार) स्वास्थ्यकर्मीहरूको अर्को टोली पनि पठाउने सो पार्टीले जनाएको छ । रुकुम पश्चिम र जाजरकोटलाई केन्द्र बनाएर गएराति गएको भूकम्पले ठुलो क्षति गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप