बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

राहत घोषणा धमाधम, सहयोग कुर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

सोमबार, २० कात्तिक २०८०, १५ : २९
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सरकारको उपस्थिति घटनास्थलमा देखिएपनि आश्वस्त हुने गरी पीडितले राहत पाएका छैनन् । 

विभिन्न संघसंस्थाहरु राहत लिएर पुगेका छन् । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत राहत पठाउने काम भइरहेको छ । तर, भूकम्प गएको दुई दिन बितिसक्दा पनि धेरै पीडितहरु खुला आकाशमुनि रात बिताउन बाध्य देखिन्छन् । 

विपद्मा तत्काल खर्च गर्न मिल्ने गरी कोष खडा गरिएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सरकारले पीडितको उद्धार, राहत र पुनस्र्थापनाको काम गर्छ । २०७२ वैशाखको भूकम्पमा पनि यसै कोषमार्फत सरकारले २२ अर्बभन्दा बढी खर्च गरेको थियो । अहिले यो कोषमा जम्मा तीन अर्ब रुपैयाँ छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आइतबार सूचना जारी गर्दै देश विदेशमा रहेका सहयोग गर्न इच्छुकलाई दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अनुरोध गरेको थियो । सात वटा बैंकहरु राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैक लिमिटेड, नेपाल बैंक लिमिटेड, स्टान्डर्ड चार्टड बैक नेपाल लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडमा खोलिएको खातामा रकम जम्मा गर्न प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको हो । 

भाटभटेनी सुपरमार्केटका धनी मिनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिसके । त्यस्तै ठूला राजनीतिक दलहरु क्रमशः नेपाली कांग्रेस, एमाले र माओवादीले पनि भूकम्प पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै विभिन्न वैदेशिक राष्ट्रबाट पनि सहयोगको आश्वासन आएको छ । चितवनको भरतपुर महानगरपालिका लगायत स्थानीय तहले पनि सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । 

यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको दैवी प्रकोप उद्धार कोष भने सहयोग कुर्दै बसेको छ । कार्यालयको आर्थिक प्रशासन शाखाले प्रधानमन्त्री राहत कोष, प्रधानमन्त्री सहायता कोष र राष्ट्रिय विपद् व्यवस्थापन कोषको सञ्चालन तथा लेखा व्यवस्थापन गर्दै आएको छ । आर्थिक प्रशासन शाखाका उपसचिव सूर्य भण्डारीले कोषमा जम्मा हुन आएको रकम गृह मन्त्रालयमातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत खर्च हुने गर्दछ । ‘ अहिलेसम्म कोषमा कति रकम जम्मा भयो भनेर यकिन जानकारी छैन,’ भण्डारीले रातोपाटीसँग भने,‘ हामीले खाता खोलिएका बैंकसँग समन्वय गरिरहेका छौँ, चार बजेसम्म के कति जम्मा भयो भन्ने जानकारी आउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप