आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

पाँच प्रदेशमा धानको उत्पादन बढ्ने, मधेसमा घट्ने

अझै ४ लाख ८० हजार मेट्रिक टन बराबरको चामल अपुग
मङ्गलबार, २१ कात्तिक २०८०, ०९ : २१
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । चालु आर्थिक वर्षमा धानको उत्पादन बढ्न सक्ने अनुमान गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा धान उत्पादन बढ्ने अनुमान गरिएको हो भने मधेस प्रदेशमा उत्पादन घट्ने अनुमान छ । 

गत वर्षको तुलनामा मलको आपूर्ति पर्याप्त र बाढीको प्रकोप नभएकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा धानको उत्पादन बढ्ने देखिएको हो । यी प्रदेशमा ५ देखि १० प्रतिशत धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । 

‘गत वर्षको तुलनामा यो वर्ष बाढीले बाली नोक्सान गरेन,’ कृषि विकास निर्देशनालय सुदूरपश्चिम डोटीका सूचना अधिकारी केशव पाण्डेले भने, ‘रोग किराको पनि प्रकोप नदेखिएकाले धानको उत्पादन बढ्छ ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष (२०७९/०८०) मा सुदूरपश्चिम प्रदेशमा १ लाख ६१ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाई भएको थियो, जसमा ५ लाख ८३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष भदौ १ गतेसम्ममा १ लाख ७६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । 

कर्णाली प्रदेशमा ५० प्रतिशत धान काटिएको कर्णाली प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । यस प्रदेशमा रोपाई ढिलो भए पनि रोग र किराको प्रकोप नभएकाले उत्पादन बढ्न सक्ने उनले आकलन गरे । 

‘यो वर्ष मलको उपलब्धता भएको छ,’ उनले भने, ‘रोपाई हप्ता दिन ढिलो भए पनि पछिल्लो समय पानी परेकाले धानको उत्पादन बढ्न सक्छ ।’

गत वर्ष (२०७९/०८०) कर्णाली प्रदेश करिब साढे ३८ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाई भएको थियो, जसमा १ लाख २८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष ४४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । 

गण्डकी प्रदेशमा पनि यो वर्ष ढिलो रोपाई भएको थियो । तर, किरा र रोगको प्रकोप नभएकाले उत्पादन बढ्ने प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयकी सूचना अधिकारी ज्योति क्षेत्रीले बताइन् । 

‘रोपाई ढिलो भएको थियो,’ उनले भनिन्, ‘पछि पछि पर्याप्त वर्षा भयो, मल पनि किसानले पाए । रोग किराको प्रकोप पनि देखिएको छैन, यसले उत्पादन बढ्ने देखिन्छ ।’ 

गण्डकीमा गत वर्ष १ लाख हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । सोबाट ९२ हजार मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष ९२ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । 

उता, लुम्बिनी प्रदेशमा पनि धान उत्पादन बढ्ने अनुमान गरिएको छ । यो वर्षको रोपाइँका लागि मलको आपूर्ति सहज, धान रोपाइँपछि नियमित वर्षा भएकाले ५ देखि ६ प्रतिशत धानको उत्पादन बढ्ने लुम्बिनी प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सूचना अधिकारी तथा कृषि अर्थ विज्ञ युवराज ढकालले बताए । 

लुम्बिनी प्रदेशमा गत वर्ष २ लाख ९८ हजार हेक्टर क्षेत्रफलबाट १ लाख १३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष २ लाख ९५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । 

कोशी प्रदेशमा पनि मल र सिँचाइको उपलब्धता भएकाले यो वर्ष धानको उत्पादन बढ्ने कृषि विकास निर्देशनालय कोशी प्रदेश विराटनगर मोरङकी सूचना अधिकारी सरस्वती श्रेष्ठले बताइन् । 

‘हाल जिल्लागत रिपोर्टिङ नभइसकेकाले कति मात्रमा बढ्छ भन्न सकिँदैन,’ उनले भनिन्, ‘यो वर्ष ढिला मनसुन भए पनि पछिल्लो समय सामान्य अवस्था भएकाले उत्पादन बढ्न सक्छ ।’ 

कोशी प्रदेशमा गत वर्ष २ लाख ७४ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिएको थियो । यसबाट १ लाख ३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष ३ लाख हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । 

बागमती प्रदेशमा धान काट्ने कार्य जारी रहेकाले अनुमान गर्न नसकिने कृषि विकास निर्देशनालयले जनाएको छ । 

यसकारण मधेसमा धान उत्पादन घट्ने 

मधेस प्रदेशमा गत वर्षको तुलनामा रोपाइँको क्षेत्रफल घटेकाले उत्पादन घट्ने अनुमान गरिएको छ । धान रोपाइँका बेला पानी नपरेकाले रोपाई प्रभावित भएकाले त्यहाँ १० देखि १२ प्रतिशत धान उत्पादन घट्ने अनुमान गरिएको हो । 

गत वर्षको तुलनामा रोपाइँको क्षेत्र खुम्चिएकाले उत्पादन पनि कम हुने मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशन कुमार मेहताको अनुमान छ । 

‘धनुषा, सर्लाही र महोत्तरीमा ७० प्रतिशत मात्रै रोपाई भएको थियो,’ मेहता भन्छन्, ‘अरू जिल्लामा सामान्यतः ९० देखि ९५ प्रतिशत रोपाई भएता पनि तीन जिल्लामा कम रोपाई भएकाले उत्पादन घट्न सक्छ ।’ 

मधेस प्रदेशमा ४ लाख हेक्टर क्षेत्रफलमा रोपाई हुनुपर्नेमा ३ लाख ३१ हजार हेक्टरमा मात्रै रोपाई भएको छ । यस प्रदेशमा गत वर्ष ३ लाख ५३ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई भएको थियो, यसबाट १२ लाख ८१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । 

गत वर्ष १३ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिएको थियो । सोबाट ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष भदौ १ गतेसम्ममा १३ लाख ७५ हजार हेक्टरमा धान रोपाई भएको थियो । 

मुलुक भरमा गरी ४१ लाख २१ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको सरकारी तथ्याङ्क छ । त्यसमध्ये ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा परम्परागत रूपमा कृषि कर्म हुँदै आएको छ । जसमध्ये १४ लाख हेक्टर क्षेत्रफल जमिनबाट वार्षिक ५१ देखि ५४ लाख मेट्रिक टन हाराहारीमा धान उत्पादन हुँदै आएको छ । १० लाख ३० हजार हेक्टर जमिन भने अझै पनि बाँझो छ । 

आन्तरिक उत्पादनले कति धान्छ ? 

सरकारी तथ्याङ्कअनुसार मुलुकभर औसतमा प्रतिव्यक्ति प्रतिवर्ष १ सय ३७ केजी चामल उपभोग गर्छन् । सो अनुसार चामलको माग करिब ४० लाख मेट्रिक टन देखिन्छ । 

उत्पादनको हिसाबले करिब ५५ लाख मेट्रिक टन धान प्रशोधन गर्दा ३५ लाख २० हजार मेट्रिक टन चामल मात्रै उपलब्ध हुने सरकारी तथ्याङ्क छ । यसरी करिब ४ लाख ८० हजार मेट्रिक टन बराबरको चामल अपुग देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप