शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

पत्नीलाई खाल्डोमा पुरेर खोजी माग्दै प्रहरीमा निवेदन !

नाङ्लेभारेमा पत्नी हत्या गरेको ५ महिनापछि आरोपी पक्राउ
मङ्गलबार, २१ कात्तिक २०८०, २१ : १३
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । ‘सर, मेरी पत्नी सम्पर्कविहीन भइन्, खोजतलास गरिपाऊँ ।’ काठमाडौँको नाङ्लेभारे स्थित प्रहरी चौकीमा २०८० जेठ २३ मा एकजना युवक पत्नी हराएको निवेदन लिएर पुगे । तिनै युवकले असार १० मा प्रहरी प्रभाग साँखुमा अर्को निवेदन दिँदै भने–‘मेरी पत्नी खोजी गरिपाऊँ ।’

काठमाडौँको शंखरापुर नगरापालिका वडा नम्बर–१ घर भएका ३३ वर्षीय लालु विकले दिएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान थालिसकेको थियो । लालुकी पत्नी २८ वर्षीया गोपी बिक बेपत्ता भएको सूचना झुटो थिएन । तर, पत्नी खोज्न निवेदन दिने लालु पाँच महिनापछि तिनै पत्नीको हत्या आरोपमा पक्राउ परेका छन् । पत्नीको हत्या गरेर प्रहरीमा खोजतलासको निवेदन दिएर लालु भारत भागेको र फर्केर आएको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।

जेठ १९ मा बिहान ६ बजे सामान्य घरायसी विवादमा लालुले पत्नीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि बोरा डबल बनाएर भोलिपल्ट उनले शव व्यवस्थापन गरेका हुन् । मोटरसाइकलमा शव बाँधेर घरभन्दा पर देउराली जंगलमा लगेर उनले शव गाडे । देउराली सामुदायिक बनमा उनी गोल पोल्थे । आफैँले गोल पोल्ने गरेको खाल्डोमा शव पुरेको बयान दिएपछि प्रहरी वृत्त बौद्धका डिएसपी राजु पाण्डे नेतृत्वको टिमले शव उत्खनन गरेको छ । सामुदायिक बनमा ५ फिट गहिरो ठाउँबाट बोरामा प्याक गरेको अवस्थामा सडेगलेको शव उत्खनन गरिएको एसपी ढुंगेलले जानकारी दिए । शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

जेठ १९ मा बिहान धानको ब्याड राख्न जाने विषयमा उनीहरूको बिचमा विवाद हुँदा लालुले पत्नीलाई टाउकोमा प्रहार गरेको अनुसन्धानबाट थाहा भएको छ । पत्नीलाई उनले ‘ब्याड राख्न जाऊँ’ भन्छन् । तर पत्नी मान्दिनन् ।  लालुले प्रहरीसँग भनेका छन्–‘धानको ब्याड राख्न म जान्नँ, भनेपछि रिसले हिर्काएको थिएँ, कन्चटमा लागेर उनी ढलिन् ।’

लालुकी तेस्री पत्नी हुन गोपी । वर्ष दिन अघि विवाह गरेका उनीहरूको बिचमा झगडा भइरहने गरेको स्थानीयहरूले बताएका छन् ।  

नोयडामा १ महिना बसेर फिर्ता

पत्नीको खोजी गर्न प्रहरीमा निवेदन दिएपछि लालु बिक २०८० साउन २९ बाट फरार भए । प्रहरीको सम्पर्कबाट एकाएक टाढा भएका उनी भारतको नोयडामा गए । नोयडाको होटलमा बसेर १ महिना काम गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नोयडामा एक महिना बसेपछि उनी नेपाल फर्केका हुन् ।

कार्तिक ५ मा उनलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीबाट पक्राउ गरेको एसपी ढुंगेलले जानकारी दिए । हत्यापछि शव व्यवस्थापनमा सचेतता अपनाएका लालुले जंगलको ओरालोमा कसैले थाहा नपाउनेगरी न्यूट्रलमा मोटरसाइकल गुडाएर गोल पोल्ने ठाउँसम्म शव लगेको प्रहरीलाई बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप